आज ऋषिपञ्चमी

बिहीबार, भदौ १६, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।
 
हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए । रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।
 
नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोविनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको उहाँले बताउनुभयो । यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो ।

ऋषिपञ्चमीको पृष्ठभूमि

महिलाको रजस्वलासित जोडिएको ऋषिपञ्चमीका विषयमा एउटा किंवदन्ती पनि प्रचलित छ । प्राचीन समयमा इन्द्रले विश्वरुपको शिरलाई तीन टुक्रा पारी हत्या गरेका कारण ब्रह्म हत्याको पाप भोग्नुप¥यो । यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाए । इन्द्रको ब्रह्म हत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराई बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फयाँकिदिए ।
यसैकारण उब्जनी नहुने उर्भरभूमि, वृक्षबाट निस्कने खोटो, पानीमा निस्कने बुदबुद फेन अर्थात् फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहेको आध्यात्मिक पुस्तक लेखनमा सक्रिय पण्डित मधुसुदन सुवेदीले जानकारी दिए । रजस्वला भएका बेलामा अरुलाई छोइछाई गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानीनजानी छोइछाई भएमा आजको दिनमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रहेको हो ।
रज भनेको फोहर हो जुन महिलामा मासिक धर्मका समयमा निस्कन्छ । यसबाट बच्नु स्वास्थ्यका लागि राम्रो हुने भएकाले अध्ययन अनुसन्धानबाट प्रमाणित भएपछि समाजमा लागू गरिएको विश्वास गरिन्छ । यसका विषयमा आधुनिक विज्ञान र स्वास्थ्यका दृष्टिकोणबाट समेत अध्ययन गरी सार्वजनिक गरिनुपर्नेमा पनि उनले जोड दिए । आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । यस अवसरमा आज काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्छ ।

सूर्यविनायक गणेश जात्रा सम्पन्न

गणेश जन्मोत्सवको अवसरमा सूर्यविनायक गणेश मन्दिरमा हिजो बिहानै सुरु भई दिनभर भव्य रुपमा टोलटोल परिक्रमा गरी मनाइएको सूर्यविनायक गणेश खट जात्रा साँझ सम्पन्न भएको छ ।
भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी) अर्थात् भगवान् गणेशको जन्मोत्सवको अवसरमा हिजो सूर्यविनायक नगरपालिका वडा नं ६ र ८ का बासिन्दाले बिहान सूर्यविनायक गणेश मन्दिरमा भव्य पूजा गरी मूल गणेशको मूर्तिलाई खटमा विराजमान गराई सुरु भएको रथ जात्रा विभिन्न टोलको परिक्रमा गरी पुनः मन्दिरमा ल्याएर पूजा एवं आरती गरी सम्पन्न गरिएको छ ।
सूर्यविनायक क्षेत्र संरक्षण समिति र सूर्यविनायक युवा क्लबको संयुक्त आयोजनामा भएको सूर्यविनायक गणेश अर्थात् ‘इनारे गणेद्यो’ खट जात्रा सम्पन्न भएको सूर्यविनायका नगरपालिका–८ का वडाध्यक्ष तथा सूर्यविनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए । उनले भने, “पुर्खाले मनाउँदै आएको गणेश रथ जात्रा आर्थिक स्रोत नहुँदा वर्षौदेखि रोकिएको थियो, गत वर्षबाट सुरु भएको यो जात्रा यसवर्ष हजारौँ स्थानीयको सहभागितामा सिन्दुर खेल्दै रथ टोलटोल पु¥याएर हर्षोल्लासका साथ सम्पन्न भएको छ, यो जात्रालाई अब हरेक वर्ष सञ्चालन गर्नेछौँ ।”
गतवर्ष जात्रा मनाउन वडा नं ६ र ८ कार्यालयले वडाको बजेटबाट रु दुई÷दुई लाख गरी रु चार लाखको बजेट व्यवस्थापन गरे पनि यसवर्ष भने दुई वटै वडाबाट रु तीन÷तीन लाख गरी कूल रु छ लाख सहयोग गरेको उनले बताए ।
गणेशको चाँदीको मूर्तिलाई खटमा राखेर रथारोहन गरी सिन्दुर जात्रा गर्दै मन्दिरको पश्चिमतर्फ राजथला टोलसम्म, पूर्वतर्फ चालिसे गाउँ गहनादेवी मन्दिरसम्म, उत्तरतर्फ सूर्यविनायक चोक अरनिको राजमार्गसम्मको टोलटोलमा घुमाएर पुनः मन्दिरमा ल्याएर जात्रा सम्पन्न गरिएको हो ।
खट जात्राका क्रममा बिहान मन्दिरमा विधिवत पूजा गरेपछि दर्शनार्थीका लागि मूल गेटमा राखेर त्यसपछि खट जात्रा गरी टोलटोलमा परिक्रमा गराएको स्थानीय बासिन्दा रामजी अवालले जानकारी दिए ।
गणेशलाई रथारोहन गराएपछि बाजागाजाका साथ रथ बोकेर परिक्रमा गराएको उनले बताए । जात्रामा यसवर्ष गत वर्षभन्दा तेब्बर मानिसको सहभागिता रहेको र जात्रामा महिला तथा पुरुषले अबिर खेल्दै मनाएको बताए । जात्रालाई यहाँको अन्य टोलमा पनि लैजानुपर्ने उनले बताए ।–रासस

 

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  ०५:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार