कुश्मा–ज्ञादी झोलुङ्गे पुलले खोलेको ढोका

सोमबार, भदौ २०, २०७९

कुश्मा । अब सदरमुकाम कुश्मा आइपुग्न पहिले जस्तो घण्टौँ लाग्दैन । कुश्मा–ज्ञादी झोलुङ्गे पुल बनेपछि दक्षिण भेगका स्थानीय बासिन्दाका लागि कुश्मा सहज भएको छ । यस झोलुङ्ले पुलले स्थानीयका लागि सहजता मात्र थपेन, पर्यटनको ढोकासमेत उघारिदिएको छ । नेपालकै अग्लो तथा लामो झोलुङ्गे पुलको रुपमा देशभरी चर्चा बटुल्न पनि सफलसमेत भएको छ ।  
“दूध बेच्न कुश्मा बजार आउँदा बडगाउँबाट घाँस काटेर घर फर्कनु पथ्र्यो”, शङ्करपोखरकी ७२ वर्षीया उमाकुमारी तिवारीले भनिन्, “बिहान घरबाट हिँडेको फर्कँदा दिउँसो तीन÷चार बज्थ्यो, छोटो दिनमा त बाबु रातै हुन्थ्यो नि ।” अहिले उनका लागि कुश्मा र घर पानी पँधेरो जस्तै लाग्छ ।
गाउँमा यातायातको सहज पहुँच थिएन । सरकारी कामका लागि घण्टौँ हिँडेर कुश्मा धाउनुपर्ने हुन्थ्यो । त्यस्तै सामान्य घरयासी सामग्रीहरू खरिदका लागि पनि कुश्मा नै धाउनुपर्ने बाध्यता थियो । घरबाट हिँडेको समयबाहेक ज्ञादीको डाँडाबाट ओरोलो झरेर कुश्माको डाँडा उक्लँदै बजारसम्म आइपुग्दा हिँड्न सक्नेहरूका लागि पनि एक घण्टा लाग्थ्यो ।
“हामी स्कुलको ड्रेस सिलाउन, किताब किन्न, फिल्म हेर्न र घरमा चाहिने सामानहरू किन्न धेरै पटक कुश्मा आउने जाने गथ्र्यौँ”, पिपलटारी घर भई अहिले कुश्मा बजारमा व्यवसाय गर्दैै आउनुभएका राजु पौडेलले भने, “कुजे बिसौनी हुँदै मोदीमाथि बनाइएको झापरे बगरको पुल तरेर बाटोमा भएको चौताराहरूमा थकान मेट्दै कुश्मा पुग्थ्यौँ ।”
कुश्मा–ज्ञादी झोलुङ्गे पुल नेपाली इन्जिनीयरले बनाएको पहिलो अग्लो तथा लामो झोलुङ्गे पुल हो । एउटा डाँडाबाट तीन सय ४४ मिटरको दूरीमा पर्ने अर्को डाँडा त्यो पनि मोदी खोलादेखि एक सय ३५ मिटरमाथिको उचाइमा पुल बनाउने कुरा धेरैका लागि कल्पनाभन्दा बाहिरको कुरा थियो । तर, दुई डाँडालाई जोड्न सकिन्छ र जोडेरै देखाउँछु भन्दै दिनरात लागि परेका इन्जिनीयर सूर्य प्रकाश पौडेलको अठोट र विश्वासका कारण नै पुल निर्माण सम्भव भएको थियो ।
“सूर्य प्रकाशको घर ठूलीपोखरी भन्ने ठाउँमा थियो, उनी धेरै पटक सदरमुकाम आउने जाने गर्नुपथ्र्यो, त्यतिबेला नै उनले दुई डाँडालाई जोड्छु भन्ने सपना देखेका रहेछन्”, पौडेलसँगै पुल निर्माणमा जोडिएका पत्रकार भवानीप्रसाद शर्माले भने, “उनलाई स्थानीयवासीले त पागल नै भन्थे । तत्कालीन जिल्ला विकास समितिले पनि उहाँको कुरालाई हाँसोका रुपमा लियो ।”
अन्ततः धेरैका लागि असम्भव लाग्ने कुश्मा–ज्ञादी झोलुङ्गे पुल २०६७ सालमा निर्माण सम्पन्न भयो । आजका दिनसम्म आइपुदा यस झोलुङ्गे पुल पर्वतका लागि एउटा कोसेढुङ्गाका रुपमा स्थापित हुन पुग्यो । पहिलो नेपालकै अग्लो र लामो झोलुङ्गे पुल भएका कारण पनि देशदेखि विदेशसम्मका पर्यटकहरू यहाँ आउन थाले । यसले पर्वत पर्यटनमा केही हदसम्म भए पनि राम्रै फाइदा पुग्यो ।
कुश्मा–ज्ञादी झोलुङ्गे पुल निर्माणपश्चात यसकै सिको गरेर अग्ला तथा लामा झोलुङ्गे पुलहरू एकपछि अर्को थपिँदै गएका छन् । बागलुङलाई  पर्वतसँग जोड्न कुश्मा–कैया झोलुङ्गे पुल निर्माण गरियो । लगत्तै त्यसको छेउमै कुश्मा–मुडिकुवा झोलुङ्गे पुल थपियो । फेरि, मुडिकुवा नै जोड्ने गरी अर्को मुडिकुवा–बलेवा झोलुङ्गे पुल बन्यो भने सदरमुकाम कुश्मालाई जोड्ने गरी खरेहामा कुश्मा–अधिकारी फाँट झोलुङ्गे पुलको निर्माण गरियो ।
कुश्मा–ज्ञादी झोलुङ्गे पुलले केबलकार मोडलको यान्त्रिक पुल सञ्चालनका लागि पनि सम्भावनाको बाटो देखाइदियो । कुश्माको व्यवसाय थप्प जस्तै भएको बेला पाँच सय बढी व्यवसायी तथा स्थानीयवासीले यान्त्रिक पुलको सुरुआत गरेका थिए । कालीगण्डकी खोँचले छुट्याएको बागलुङ र पर्वतलाई यान्त्रिक पुलले जोडने काम गरेको छ ।
दक्षिण बागलुङमा उत्पादन भएका कृषि उपज बिक्रीका लागि कुश्मामा आइपुग्छन् भने खाद्यान्नका सामग्रीहरू कुश्माबाट बागलुङतर्फ जाने गर्छन् । पुलले दुई जिल्लाकै व्यापार व्यवसायमा मद्दत पु¥याएको छ । त्यस्तै स्वास्थ्य, शिक्षा, रोजगारीलगायत पनि यसले सहजता प्रदान गरेको छ ।
पछिल्लो समय पर्वतको पहिचानका लागि कुश्मामा सञ्चालनमा रहेको साहसिक खेल बन्जीले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । हिजोसम्म पर्वत कहाँ पर्छ भन्नेका लागि आज बन्जीले नै जवाफ दिने  गरेको छ । विश्वकै अग्लो स्विङ र दोस्रो बन्जी पाँच सय २५ मिटर लामो झोलुङ्गे पुलको बीचमा कालीगण्डकी नदीको ठीक माथि दुई सय २८ मिटर उचाइमा बन्जी र स्विङ (पिङ) का लागि जम्प गर्ने प्लाटफर्मको निर्माण गरिएको छ ।
बागलुङ र पर्वतलाई जोडेर बन्जीका लागि झोलुङ्गे पुलको निर्माण गरिएको छ । बन्जीले पर्वतका व्यवसायलाई गति दिने काम गरेको छ । हिजो बाँदर लड्ने भिरपाखामा होटल तथा रेस्टुरेन्टहरू धमाधम निर्माण भइरहेका छन् ।
द क्लिफ प्रालिले सञ्चालन गरेको बन्जी, स्विङ (पिङ)लगायत साहसिक खेलहरू जे जति बनेका छन् ती सबै कुश्मा–ज्ञादी झोलुङ्गे पुलको नै देन भएको तत्कालीन पर्यटन प्रर्वद्धन केन्द«का अध्यक्ष शिव शर्मा पौडेलले बताए । पौडेलले केही साथीहरू मिलेर सबैभन्दा पहिले कुश्मा–ज्ञादी झोलुङ्गे पुलमा बन्जी गराउन सकिन्छ भनेर सम्भाव्यता अध्यनका लागि भोटेकोशी गएको बताए ।
“हामी पर्वतका सांसद, उद्योग वाणिज्य सङ्घ र पर्यटन व्यवसायी मिलेर भोटेकोशी गएर बन्जी ग¥यौँ”, उनले भने, “त्यहाँबाट प्राविधिक ल्याएर सम्भाव्यता अध्ययन पनि गरेका थियौँ, तर केहीले सार्वजनिक पुलमा बन्जी गराउन मिल्दैन भनेर विरोध गरेपछि रोकियौँ ।”
द क्लिफका मुख्य सञ्चालक राजु कार्कीसहितको समूहले सबैभन्दा पहिले कुश्मा–कैया झोलुङ्गे पुलमा बन्जी गराउन लागी परेको थियो । “कुश्मा–ज्ञादी झोलुङ्गे पुल बनेपछि अर्को ठाउँमा कुश्मा–कैया झोलुङ्गे पुल निर्माण गरेर पब्लिक प्राइभेट पार्टनरसीपमा बन्जी गराउन सकिन्छ भनेर लागेका थियौँ”, द क्लिफका अर्का सञ्चालक नेत्र पराजुलीले भने, “तीन वर्ष लागी पर्दासमेत पुलमा बन्जी गराउने कुरा नमिलेपछि जग्गा खोज्ने क्रममा चाकलेको डिलमा पुगेर आफ्नै निजी झोलुङ्गे पुल निर्माण गरी बन्जी सञ्चालन गरेका हौँ ।”
कुश्मामा पछिल्लो समय साहसिक पर्यटकलाई लक्षित गरेर जिपलाइन सञ्चालनमा आएको छ । कुश्मा आउने पर्यटकलाई यसले थप मनोरञ्जन दिन सफल भएको छ । कालीगण्डकी नदीको खोँचमा रहेको सुपरम्यान शैलीको यो जिपलाइनको लम्बाइ एक हजार चार सय मिटर छ । कालीगण्डकी नदीको सतहदेखि झन्डै दुई ५० मिटरको उचाइबाट सुरु हुने जिपलाइनको सुरुआती गति प्रतिघण्टा एक सय ३० किलोमिटर हुने र गन्तव्य नजिकिँदै जाँदा विस्तारै घट्दै जाने बताइएको छ ।
कुश्माको पर्यटनमा कुश्मा–ज्ञादी झोलुङ्गे पुल कोसेढुङ्गाको रुपमा रहेको कुरा कसैले नकार्न सक्दैनन् । “अहिले कुश्मामा बनेका अग्ला तथा लामा झोलुङ्गे पुल, यान्त्रिक पुल, बन्जी र हामीले सञ्चालन गरेको जिपलाइन पनि कुश्मा–ज्ञादी झोलुङ्गे पुलकै देखासिकी हो भन्दा फरक पर्दैन”, हार्नेस जिपलाइनका सञ्चालक नरेन्द्र केसीले भने, “त्यो पुल नबनेको भए अहिले यहाँ निर्माण भएका जति पनि संरचनाहरू छन् सायद ती बन्दैनन् थिए कि ?”–रासस

 

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  ०५:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार