सांसद अभिषेक शाहको प्रस्ताव, 'कृष्णनगर बन्दरगाहबाट गुजरातको मुन्द्रा पोर्ट हुँदै तेस्रो मुलुक व्यापार' आयात निर्यातमा सहज सुलभ हुने विश्वास

बिहीबार, भदौ २३, २०७९

काठमाडौं । कपिलवस्तु क्षेत्र नम्बर ३ बाट कांग्रेसका सांसद अभिषेकप्रताप शाहले भारतको मुन्द्रा बन्दरगाहसँग कृष्णनगर नाकालाई जोडेर तेस्रो मुलुकसँगको व्यापार शुरु गर्न प्रस्ताव गरेका छन् ।
कपिलवस्तुको कृष्णनगर नाका भारत गुजरातको मुन्द्रा बन्दरगाहबाट सबैभन्दा छोटो दूरीमा पर्छ । मुन्द्रा बन्दरगाहबाट तेस्रो मुलुकसँगको व्यापार गर्न भारतले नेपाललाई सन् २०१८ मै सहमति दिइसकेको हो । सन् २०२३ देखि नेपाललाई मुन्द्रा बन्दरगाह उपलब्ध गराउने तयारीमा भारतीय पक्ष छ ।

Krishnanagar-border1662640837.jpg
नेपालले अहिले भारतका कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट तेस्रो मुलुकसँग व्यापार गर्दै आएको छ। मुन्द्रासँगसँगै उडिसाको धाम्रा बन्दरगाह पनि उपलब्ध गराउन भारतीय पक्ष सहमत भइसकेको छ । यी दुवै नाका सन् २०२३ देखि नेपालले प्रयोग गर्न पाउने लगभग तय भइसकेको छ ।
त्यसमध्ये मुन्द्रा बन्दरगाह नेपालका अन्य नाकाभन्दा कृष्णनगरबाट छोटो दूरीमा पर्छ । कृष्णनगरबाट मुन्द्रा बन्दरगाहको दूरी एक हजार ६८६ किलोमिटर छ । कपिलवस्तुको कृष्णनगर नाकासम्म यसअघि नै भारतको ब्रोडगेज रेलमार्ग जोडिइसकेको छ। उक्त रेलमार्ग अन्य नेपाल(भारत सीमा नाकामध्ये सबैभन्दा नजिकको दूरीमा पनि छ ।
उक्त रेलमार्ग पुस ०६९ देखि नै सञ्चालनमा छ । तर, नेपालले त्यसबाट ठूलो लाभ हासिल गर्न सकेको छैन । जब कि, यो रेलमार्ग भारतका सबै ठूला शहरसँग जोडिएको छ । नेपालको लुम्बिनी र कर्णाली प्रदेशका बासिन्दा भारतका शहरहरूमा आवतजावत गर्ने प्रमुख विन्दुका रूपमा मात्र यसको उपयोग भइरहेको छ, अहिले।

congress1662640882.jpg
‘कृष्णनगर भन्सारबाट भारत गुजरातको मुन्द्रा पोर्ट सबैभन्दा नजिक पर्ने भएकाले सोही स्थानबाट सामान ढुवानी गर्न आवश्यक सहयोग गर्न आग्रह गर्दछु,’ सांसद शाहले अर्थसचिवलाई सम्बोधन गर्दै लेखेको पत्रमा भनिएको छ, ‘भारतको उक्त नाकाबाट नेपालमा सामान आयात गर्दा सहज, सुलभ र सस्तो हुने भएको कारणले कृष्णनगर भन्सारलाई आगामी दिनमा ड्राइपोर्ट तथा नेपालका विभिन्‍न कलकारखानामा लाग्ने कच्चा पदार्थका लागि तेस्रो मुलुक आयात(निर्यातको सुविधा यस नाकालाई प्रदान गर्न आग्रह गर्दछु।’

Mundra-port1662640928.jpg

उनका अनुसार उक्त नाका हरेक हिसाबले उपयुक्त हुने र नेपालका लागि फाइदाजनक रहेको उद्योग मन्त्रालयको प्रारम्भिक सर्वेक्षणमा उल्लेख छ। उक्त नाकामा सांसद शाह र भारतका सांसदको संयुक्त प्रयासमा ब्रोडगेज रेलमार्ग निर्माण भएको हो । र, उक्त रेलमार्ग हुँदै नेपाल सीधा मुन्द्रा पोर्टसँग जोडिएको छ। त्यसैले तत्काल कृष्णनगर र मुन्द्रा बन्दरगाहलाई जोडेर तेस्रो मुलुकसँग व्यापार थाल्नुपर्ने सांसद शाह बताउँछन् ।

प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  १८:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार