सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शु नेपालको औपचारिक भ्रमणमा आज काठमाडौँ आइपुगेका छन् । उनी विशेष विमानबाट आज अपराह्न काठमाडौँ आइपुगेका हुन् । अध्यक्ष लीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख सापकोटाले स्वागत गरे । विमानस्थलमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरु उपस्थित थिए । सभामुख सापकोटा र अध्यक्ष लीले आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । आजै सभामुख सापकोटाले होटल सोल्टीमा अध्यक्ष ली र उनको प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा रात्रि भोजको आयोजना गर्ने छन् ।अध्यक्ष लीले यही भदौ ३० गतेसम्म गर्ने चार दिने भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने छन् । यसैगरी उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने छन् । नेता लीले यस भ्रमणका क्रममा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्ने कार्यक्रम छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि अध्यक्ष लीको भेटवार्ता हुनेछ । प्रतिनिधिमण्डलले नेपालको औपचारिक भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।अध्यक्ष लीको नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फकर्ने कार्यक्रम छ । रासस