बागमती गाउँपालिकामा एमालेबाट चुनाव जितेका जनप्रतिनिधि हानिए वैदेशिक रोजगारीमा

बुधबार, भदौ २९, २०७९

ललितपुर । बागमती गाउँपालिकामा एमालेबाट वडासदस्यमा निर्वाचित जनप्रतिनिधि वैदेशिक रोजगारमा गएका छन् । दक्षिण ललितपुरको बागमती गाउँपालिका वडा नं ६ मा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित  बाबुलाल लो वैदेशिक रोजगारका लागि मलेशिया गएका हुन् ।  
गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा उनी एमालेको टिकटबाट वडा सदस्यमा निर्वाचित भएका थिए । निर्वाचित भएको चार महिना पनि बित्न नपाउँदै निर्वाचित जनप्रतिनिधि वैदेशिक रोजगारीमा हानिए पछि राजनीतिमा गर्ने नेता–कार्यकर्ताको नैतिकतामाथि प्रश्न चिह्न खडा गरेको छ । 
गाउँको विकास गर्न नेतृत्व गर्लान भनेर जिताएका जनप्रतिनिधि नै चार महिना नबित्दै वैदेशिक रोजगारीमा हानिएपछि गाउँपालिका तथा गाउँले थप अन्योलमा परेका छन् । 
‘उहाँ विदेश जानु भयो हामीले हालेको भोट खेर गयो । पार्टीले टिकट दिँदा ब्यक्तिगत कुरा सबै बुझेर गाउँमै बसेर जनताको सेवा गर्ने मानिसलाई दिनु पथ्र्याे’, वडा नं ६ आश्राङका एकजना मतदाताले भने । 
आफ्नो वडाका निर्वाचित वडा सदस्य बाबुलाल वैदेशिक रोजगारीमा गएको वडा नं ६ का वडाअध्यक्ष नारायण भोम्जनले पुष्टि गरे ।
‘उहाँ वैदेशिक रोजगारीमा जानु भएको भन्ने आयो’, वडाअध्यक्ष भोम्जनले शब्दपाटीसँग भने, ‘जाने भएपछि निवेदन दिएर गएको भए राम्रो हुन्थ्यो ।’ ‘जनप्रतिनिधि भइसकेपछि वैदेशिक रोजगारीमा जान नमिल्ने हो’ भोम्जनले भने ।

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १८:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार