सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । करिब एक महिनाको अवधिमा काठमाडौँ महानगरपालिकाले ३९ स्थानका अवैध संरचना हटाएको छ । यही भदौ ६ गतेदेखि सुरु गरेको अभियानअन्तर्गत कामपाले १९ स्थानका बेसमेन्ट तथा जमिन तलाको व्यावसायिक प्रयोजन हटाएर पार्किङका लागि खाली गराएको छ । बीस ठाउँका मापदण्डविपरीत निर्माण गरिएका अनधिकृत संरचना हटाएको छ । नक्सा पास नभई निर्माण भएका र नक्साअनुसार निर्माण भए पनि सोहीअनुसार प्रयोग नगरिएका र सार्वजनिक जग्गा मिचेर नर्माण गरिएको सबै संरचना अवैध ठहर गर्दै कामपाले उक्त संरचनामा डोजर लगाएर भत्काउन थालेको हो । त्यसका लागि कामपाले गत साउन १ गते ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो । उक्त सूचनाको व्यवस्था गरेको भन्दै कामपाले यही भदौ ६ गतेदेखि अवैध संरचना भत्काउन सुरु गरेको हो । बेसमेन्ट तथा जमिन तलालाई पार्किङरुपमा खाली गराइएका ठाउँमध्ये वडा नं १ दरबारमार्ग दुई वटा भवन छन् । यिनीहरु नेपाल ट्रस्ट र दरबार मलको भूमिगत तला हुन् । वडा नं १४ कलङ्कीमा रहेको स्मार्ट तारा हाउसको भूमिगत तलामा रहेको कपडा पसल र एभरेष्ट गेष्ट हाउसको भूमिगत तलामा रहेको खाजा घर पनि हटाउने काम गरिएको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । वडा २६ सामाखुसीमा रहेको पुरानो अल नेपाल अस्पताल र खड्का भवन तथा रानीबारीमा रहेको सेञ्चुरी बैंक परिसरभित्र रहेका अनधिकृत पसल हटाइएका छन् । वडा नं १० बानेश्वरमा पर्ने पाँच जनाको स्वामित्व रहेको बानेश्वर प्लाजाको ई ब्लकमा भएको संरचना हटाएर पाँचवटै घरको पार्किङ बनाउने काम भएको छ । वडा नं २२ सुन्धारास्थित काठमाडौँ मलको भुइँ तलामा रहेको सटर हटाएर पार्किङका लागि खाली गरिएको छ । यही वडामा रहेको आरबी कम्प्लेक्स परिसरमा रहेका अनधिकृत टहरा हटाइएको छ । वडा नं २४ मा पर्ने सुरज आर्केट र कासा भवनको भुइँतला खाली गराइएको छ ।
कहाँकहाँ भत्काइए अनधिकृत संरचना
वडा ५ क्षेत्रका सार्वजनिक ठाउँमा बनाइएका संरचना हटाइएको छ । वडा नं ८ पाशुपत क्षेत्र सडक पेटीमा रहेको अनधिकृत संरचना, ओभरल्यापिङ र विज्ञापनमूलक सामग्री हटाइएको छ । त्यस्तै वडा १० को देउराली क्लब वरिपरि सडक पेटीमा राखिएका निर्माण सामग्री हटाइएको छ । वडा १६ को ढुङ्गेधारा, वडा १७ को धोबीचौर, वडा २४ को सुरज आर्केड अगाडिको सिँढी हटाइएको छ । वडा १६ कै माछापोखरी नापतौल कार्यालय अगाडि र महादेव खोला किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका स्थायी र अस्थायी गरेर ४३ वटा संरचना हटाइएको छ । वडा २४, २५ र २७ सँग जोडिएका असन, इन्द्रचोक, वडा २४ को मखनदेखि विशालबजारतर्फ आउने गल्लीका, वडा २५ मा रहेका शन्तानेश्वर भवानी शङ्कर मन्दिर, उमाशङ्कर मन्दिर र सडक पेटीमा अतिक्रमण गरेर राखिएका संरचना संरचना हटाइएको छ । वडा नं २९ हनुमान स्थान चिकेन क्युन रेष्टुरेन्टको घर खाली गराइएको छ । वडा नं ३२ कोटेश्वर, अरनिको राजमार्ग दायाँबायाँ क्षेत्रमा भएका अनधिकृत संरचना, स्वीकृति नलिइ राखिएका विज्ञापन बोर्ड हटाइएको छ । नरेफाँट क्षेत्रमा माइकिङ गरेर सचेत गराइएको छ । यस्तैगरी भाटभटेनी सुपर मार्केटको भूमिगत तलालाई पार्किङका पनि खाली गराइएको छ ।
दसैँसम्म व्यवसाय गर्न दिन फुटपाथ व्यवसायीको माग
काठमाडौँ महानगरपालिकाभित्र फुटपाथमा व्यापार गर्ने व्यवसायीले दशैँसम्म आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न दिन माग गरेका छन् । काठमाडौँ महानगरपालिकाको प्रमुखका रुपमा बालेन्द्र शाह निर्वाचित भएसँगै अनधिकृतरुपमा निर्माण गरिएका संरचना र फुटपाथ व्यवसाय हटाउन सुरु गरेसँगै फुटपाथ व्यवसायी भने दसैँ मुखमा आएको भन्दै दसैँसम्म व्यवसाय गर्न दिन नगरपालिकालाई आग्रह गरेका हुन् । काठमाडौँको माछापोखरी सडकको किनारामा विगत ३० वर्षदेखि कपडा बेच्दै आएका नुवाकोटका बलराम भेटवालले दसैँको समयमा काम गर्न दिन आग्रह गरे । “हामी महानगरपालिकालाई सहयोग गर्न तयार छौँ, हामीले किनेर ल्याएको कपडा दसैँ अगाडिसम्म बिक्री गर्न दिइयोस्”, उनी भन्छन् । भक्तपुरका भरत बस्नेत विगत ३३ वर्षदेखि माछापोखरीमा लत्ताकपडा बिक्री गर्दै आएका छन् । “हामी बिहान दुई घण्टा र बेलुका दुई घण्टा कपडा बेच्दै आएका छौँ, दसैँ मुखमा आएको छ, दसैँको मुखमा हाम्रो रोजिरोटी नखोसियोस्”, बस्नेत भन्छन् । धादिङकी यशोधा सुवेदी पनि लामो समयदेखि सोही स्थानमा व्यवसाय गर्दै आएकी छन् । “प्रयोगमा नआएको जग्गामा बिहान बेलुका व्यापार गर्दै आए पनि नगरपालिकाले हटाउन खोजेर हामीलाई समस्या पारिदियो”, उनी भन्छन् । भेटवाल, बस्नेत र सुवेदी प्रतिनिधि पात्र मात्र हुन् । अहिले काठमाडौँ महानगरपालिकाले माछापोखरी क्षेत्रमा फुटपाथ व्यवसाय हटाउँदा ६० व्यवसायी मारमा परेका छन् । बिहान र बेलुकाको समयमा व्यापार गर्दै आएका उनीहरुसँग हालै रु ४० लाख मूल्य बराबरको सामान छ । दसैँको समयमा सामान बिक्री गर्न नदिँदा उक्त मूल्य बराबरको सामान थन्किने डर व्यवसायीमा रहेको छ ।
माछापोखरी क्षेत्र मात्र नभएर काठमाडौँको मुख्य क्षेत्र न्यूरोड, कोटेश्वर, कलङ्की, चाबहिल, नयाँ बसपार्क क्षेत्रमा रातका समयमा फुटपाथमा सामान राखेर बिक्री वितरण हुँदै आएको छ । उनीहरुले भने व्यापार व्यवसाय गरेबापत हाल कसैलाई पनि कर तथा भाडा तिर्दैनन् । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे अनाधिकृत संरचना र फुटपाथ व्यवसाय हटाउने नीति महानगरपालिकाले लिएको बताउनुहुन्छ । “महानगरपालिकाले लिएको नीति पालना गर्ने दायित्व नगर प्रहरीको हो, जनप्रतिनिधिको आदेशअनुसार नगर प्रहरीले अनधिकृतरुपमा बनाएका संरचना र फुटपाथ व्यापार हटाउन लागेको हो”, उनी भन्छन् ।
उनले महानगरले लिएको नीतिलाई सहयोग गर्न सबैलाई आग्रहसमेत गरेका छन् । पछिल्लो समय काठमाडौँ महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना र नक्सा पास नगरी बनाएका भवन तथा फुटपाथ व्यवसायीमाथि निगरानी बढाएको छ । काठमाडौँ महानगरपालिकाले हालसम्म न्यूरोड, नयाँ बानेश्वर, कोटेश्वर, चाबहिल, नयाँ बसपार्क, वनस्थलीलगायत काठमाडौँभित्रका विभिन्न क्षेत्रमा नक्साविपरीत अनाधिकृतरुपमा बनाइएका संरचना हटाइसकेको छ ।