लाखौं अमेरिकी बेरोजगार

कोभिडका कारण रोजगारीमा फर्कन हिच्किचाहट 
बुधबार, वैशाख ८, २०७८
मयुर प्लाई
Global Ime Bank

वासिङ्टन । कोरोनाभाइरस महामारीबाट एक वर्षदेखि सङ्कट व्यहोरिरहेको संयुक्त राज्य अमेरिकामा लाखौँ अमेरिकी बेरोजगार छन् ।  अर्थतन्त्र पुनःखुला भएपनि कतिपय रोजगारदातामाथि नयाँ मानिसलाई रोजगारी दिनेतर्फ अनपेक्षित चुनौती देखिएको छ ।  कोरोनाभाइरसबाट सङ्क्रमित हुने डरदेखि बालबच्चाको हेरचाह बापत प्राप्त हुने सरकारी बेरोजगार भत्ताको लोभमा कतिपय बेरोजगार अमेरिकी काममा पुनःफर्कन चाहिरहेका छैनन् ।
‘यो कोभिड सङ्कटका लागि विरोधाभास हो’ अक्सफोर्डका प्रमुख अमेरिकी अर्थशास्त्री ग्रेगरी डाकोले भने, ‘हामीसँग नयाँ रोजगारी र मागका बीचमा असन्तुलन छ र आउँदा महिनामा जोखिम बढ्नेछ ।’ कोभिड–१९ का खोपले व्यवसायलाई सामान्यतर्फ उन्मुख गराइरहेकाले अमेरिकी अर्थव्यवस्थामा सुधार आउन थालेको छ भने कम्पनीले पनि बढ्दो माग पूरा गर्न भर्ती गर्न थालेका छन् । विश्लेषकको भनाइमा, सबै बेरोजगार व्यक्ति आफ्नो जागिरमा फिर्ता हुन तयार देखिएका छैनन् ।  ‘मुख्य मुद्दा नै हामीबीच अझै पनि महामारी छ, र कामको खोजी गर्नेमा कार्यस्थलको स्वास्थ्य र सुरक्षाका बारेमा ठूलो चिन्ता छ’, जिपरिक्रुटरकी अर्थशास्त्री जुलिया पोलकले भनिन् ।  अमेरिकी जनसंख्याका एक चौथाइले पूर्णखोप लगाइसकेका छन् । यो संख्या युरोपको भन्दा बढी छ भने धेरै प्रमुख अर्थतन्त्र भएका मुलुकभन्दा निकै ज्यादा छ । तर यसको बाबजूद देशको तीन चौथाइ भाग कोभिड–१९ को सङ्क्रमण हुने जोखिममा छ ।  जर्जटाउन विश्वविद्यालयको फ्युचरएडका अनुसार कोभिड महामारीका कारण बन्द भएका देशभरका आधाभन्दा बढी विद्यालय पूर्णकालीक कक्षामा फर्किसकेकाले बच्चाको हेरचाहको काम गर्ने अभिभावकका लागि यो अर्को चुनौती हो ।  विश्वकै सबैभन्दा ठूलो अर्थव्यवस्था भएको संयुक्तराज्य अमेरिकामा कोभिड–१९ को महामारीले झण्डै २२ करोड रोजगारी समाप्त पारिदिएको थियो जसमध्ये आधाभन्दा बढी अर्थात् एक करोड ४० लाख रोजगारी पुनःस्थापना भइसकेको छ ।  तैपनि, स्व–रोजगारमा रहेकासमेत झण्डै एक करोड ७० लाख मानिसले अझै पनि सरकारी बेरोजगारी सहायता प्राप्त गरिरहेका छन्, र धेरैले आंशिक समय काम गरिरहेका छन् किनभने उनीहरु पूर्ण समय काम गर्न पाउँदैनन् ।
अर्थशास्त्री डाकोले मजदूरको अभाव धेरै क्षेत्रमा देखिएको बताइन् । खुल्ला, खाद्य सेवा, आतिथ्य र मनोरञ्जन जस्ता कामदार कटौती भएका क्षेत्रमा श्रमजीवीको माग बढेको उनको भनाई छ ।  गत फेब्रुअरीको आखिरी र अप्रिलको शुरुको बीचको अवधिमा गरिएको अमेरिकी व्यवसायको सर्वेक्षणमा केन्द्रीय बैंकले भनेको छ, ‘कर्मचारी भर्तीमा चुनौती व्यापक देखिएको छ, खासगरी यो समस्या न्यून–ज्याला वा घण्टे कामदारका लागि बढी देखिएको छ ।’ भर्जिनियाको रिचमन्डमा केन्द्रीय बैंकले गरेको सर्वेक्षणमा सहभागी एक होटल व्यवसायीले आफूले फ्रन्ट डेस्कका कामदार भर्ती गर्न सकेको तर सरसफाईका मजदूर भेट्टाउन नसकेको प्रतिक्रिया दिएका छन् । उनले सरसफाईमा काम गर्न धेरैले अरुचि देखाएको बताए । बैंकको शिकागो शाखाले गरेको सर्वेक्षणमा बेरोजगार मजदूरलाई घरमै राख्ने थुप्रै कारक रहेको जनाएको छ जसमा सरकारले उपलब्ध गराउने वित्तीय सहयोग पनि एउटा प्रमुख रहेको छ, जस्तै आगामी अगस्टसम्म उनीहरुले सरकारबाट साप्ताहिक थप ३०० डलर बेरोजगार भत्ता पाउने छन् ।  सिकागो शाखाले मानिस रोजगारीमा फर्कन कठिनाई हुनुमा बालबच्चाको स्याहार अर्को समस्या रहेको जनाएको छ ।  भाइरसको चिन्ता, सार्वजनिक यातायात प्राप्त गर्न कठिनाई र जागिर खोज्ने थकान जस्ता प्रक्रियाले पनि जटिलता थपेको छ ।  अमेजन, कस्टको, टार्गेट र वाल्मार्टजस्ता कतिपय ठूला कम्पनीले कर्मचारीको तलब वृद्धि गर्ने घोषणा गरेका छन् ।–एएफपी
 

प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  १९:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार