डेङ्गु नियन्त्रण गर्न सांसदको ध्यानाकर्षण

शुक्रबार, भदौ ३१, २०७९

काठमाडौँ । प्रतिनिधिसभाका सांसदले निर्धारित अवधिमा सडक ठेक्का सम्पन्न नहुँदा नागरिकले खेपेको हैरानी र निरन्तर फैलिरहेको डेङ्गु नियन्त्रण सरकारको ध्यान दिनुपर्ने बताएका छन् । 
प्रतिनिधिसभाको आज बसेको बैठकमा उनीहरुले निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीलाई कारबाही गर्नुपर्ने र डेङ्गु रोकथाममा लाग्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद विद्या भट्टराई निर्माणाधीन राजमार्ग जोखिम राजमार्ग बनेको भन्दै तीनलाई चाँडो सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याए । 
सांसद सीताराम महतोले सुनसरीको इनरुवाको बाटो ठेक्का लागेको आठ महिना भए पनि काम अघि नबढेकाले मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । सांसद डा सूर्यप्रसाद पाठकले बागलुङको १० किमी सडक गत वर्ष सम्पन्न हुनुपर्नेमा ५४ प्रतिशत प्रगति रहेको भन्दै ठेक्का लिएर काम नगर्ने कम्पनीलाई कारबाही गर्नुपर्ने धारणा राखे । 
सांसद लक्ष्मी परियारले डेङ्गु फैलिएकाले रोकथामका लागि सरकारले ध्यान दिनुपर्ने बताउँदै यो संसद्ले पूरा गर्न नसकेका काम आगामी संसद्ले पूरा गर्ने अपेक्षा गर्नुभयो । सांसद वीनादेवी बुढाथोकीले डेङ्गुले भयावह रुप लिएको र समयमा नियन्त्रण नहुँदा ठूलो धनजनको क्षति हुने भएकाले सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । 
सांसद लक्ष्मीकुमारी चौधरीले गत वर्ष वर्षाका कारण धानबालीमा क्षति नपाएकाले सो रकम बढाएर स्थानीय तहमा पठाउनुपर्ने बताए । सांसद लालप्रसाद साँवा लिम्बूले नदी नियन्त्रण प्रभावकारी बनाउन सुरु गरिएको जनताको तटबन्ध कार्यक्रम सुरु गरिए पनि कतिपय स्थानमा अहिले निरन्तर नभएकाले निरन्तरताको माग गरे । 

सांसद बीनाकुमारी श्रेष्ठले नेपालीको प्रमुख चाड आउँदै गर्दा महँगी बढेको र निम्न वर्गका नागरिकले फुटपाथका पसलबाट कम मूल्यमा सामान पाउने भएकाले क्षेत्र निर्धारण गरेर तीनलाई व्यवस्थापन गर्नुपर्ने बताए । सांसद विमला विश्वकर्माले चाडपर्व आउँदा सानो व्यापारी विचल्लीमा परेकाले भए पनि श्रमिकलाई चाडपर्वमा भोकभोकै गर्नु ठीक नभएको बताए । 
सांसद बृन्दा पाण्डेले अब बन्ने संसद्ले प्राप्त उपलब्धिको रक्षा, सम्बोधन गर्दै र अपुग कुराको सम्बोधन गर्नुपर्ने र आवश्यक कानुनको निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइन् । 
सांसद विशाल भट्टराई अघिल्लो सरकारले दूधकोसी नदीमा एशियाली विकास बैंकको सहयोगमा विद्युत् आयोजना अध्ययन गरेर निर्माणका लागि प्रक्रिया थालेको भए पनि अहिले रोकिएको भन्दै सस्तो र वातावरण अनुकूल सो आयोजना अघि बढाउनुपर्ने भनाइ राखे । 
सांसद विष्णु शर्मा योजना नै नबनाई कमैया, कमलरी, हलियामुक्त गरेकाले अहिले उनीहरु पुनः साहुकोमा जान बाध्य भएको बताए । सांसद शान्ता चौधरीले कमैया, कमलरीको अवस्था परिवर्तन नभएको र सुकुम्बासीलाई आश मात्रै देखाइँदै आएकाले यो समुदायले विद्रोह गर्नुपर्ने भनाइ राखिन् । 
सांसद सत्यनारायण शर्मा खनाल नेपालले असंलग्न परराष्ट्र नीति अवलम्बन गरेको भन्दै सबैसँग मित्रता गरी जनताको भलो गर्नुपर्नेमा जोड दिए । सांसद समिना हुसेनले अवधि पूरा नहुँदै संसद् अन्त्य गर्दा संविधानलाई मिच्ने काम भएको तर्क गरे । 
सांसद सरिताकुमारी गिरीले विद्यालयमा लेखापाल र कार्यालय सहयोगीले थोरै पारिश्रमिक पाएकाले उनीहरुको आन्दोलनको जायज माग पूरा गर्नुपर्नेमा जोड दिए । सांसद सर्वत आरा खानमले साढे लाख युवाले नागरिकता नपाएको भन्दै राष्ट्रपतिले चाँडो प्रमाणीकरण गर्नुपर्ने बताए । 
सांसद सञ्जयकुमार गौतमले बर्दिया जिल्लामा विसं २०७१ मा आएको बाढीपीडितलाई सरकारले भूकम्पपीडितलाई उपलब्ध गराएको बराबरको क्षतिपूर्ति भने पनि अझैसम्म नपाएको स्मरण गराए । सांसद हीरा गुरुङले निर्वाचन आयोगले संसद्को आयु तोक्न नमिल्ने धारणा राखिन् । 

डेङ्गु नियन्त्रण गर्न ‘खोज र नष्ट गर’ अभियान
डेङ्गु सङ्क्रमणको जोखिम बढेपछि तनहुँका स्थानीय तहले ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरेका छन् । डेङ्गु नियन्त्रणका लागि गण्डकी प्रदेशको प्रवेशद्वारमा अवस्थित आँबुखैरेनी गाउँपालिकाले ‘खोज र नष्ट गर’ अभियान सुरु गरेको हो । 
नेपालका विभिन्न ठाउँमा डेङ्गुको सङ्क्रमण बढ्दै गएकाले सतर्कताका लागि गाउँपालिकाले यो अभियान सुरु गरेको स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए । 
डेङ्गुको व्यवस्थापन र नियन्त्रण गर्ने विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रतिकार्य योजना बनाई विभिन्न गतिविधि सञ्चालन गर्न निर्देशन दिएसँगै गाउँपालिकाले प्रदेश र जिल्लासँगको समन्वयमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको हो । 
डेङ्गुका बारेमा सन्देशमूलक सूचना सामग्रीको प्रकाशन र प्रसारण भइरहेको र विभिन्नस्तरमा डेङ्गु नियन्त्रणका उपायका बारेमा विशेषज्ञसँग नियमित बैठक गरिएको उपाध्यायले बताए। 
“डेङ्गु लाग्न नदिनु सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो, प्राय दिनको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट यो रोग लाग्छ”, उपाध्यायले भने, “यसबाट जोगिनका लागि कार्यालय समयमा पूरा बाहुला भएको पोशाक अनिवार्य गरिएको छ ।”
यस्तै प्रत्येक शनिबार बिहान १० बजे १० मिनेट घरभित्र र बाहिर लामखुट्टेले फूल पार्ने ठाउँ खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । 
यस अभियान कार्यान्वयका लागि स्थानीय जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, शिक्षक, पत्रकार, सङ्घसंस्था, टोलविकास समितिलाई परिचालन गरिनेछ । 
आँबुखैरेनी गाउँपालिकामा हालसम्म डेङ्गुबाट कोही पनि सङ्क्रमित नभए पनि बच्नका लागि पूर्वतयारी अपनाउन आवश्यक रहेको स्वास्थ्य शाखा प्रमुख उपाध्यायले बताए । “गाउँपालिकाभित्र डेङ्गु सङ्क्रमित भएको आधिकारिक तथ्याङ्क छैन, जोखिम बढ्दै गएकाले सचेतना अपनाउन आवश्यक छ”, उनले भने । 

७८ जनामा डेङ्गु सङ्क्रमण
देशभर फैलिरहेको डेङ्गुको सङ्क्रमण तनहुँमा पनि बढेको छ । लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको जोखिम यहाँ पनि पनि बढेको हो । डेङ्गुको सङ्क्रमणपश्चात् जिल्लास्थित अस्पतालमा भर्ना भएर उपचार गराउनेको सङ्ख्या बढ्दो छ । 
शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा परीक्षण गरिएकामध्ये ७८ जनामा डेङ्गु पुष्टि भएको छ । भदौमा दुई सय १८ जनाको डेङ्गु परीक्षण गरिएकामा एक सय ४० जनामा भने सङ्क्रमण पुष्टि भएन । 
डेङ्गु पुष्टि भएकामध्ये २७ बिरामी अस्पतालमा भर्ना भएर उपचार गराएको केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सबै बिरामी उपचारपश्चात् घर फर्किएका छन् ।
“डेङ्गुसँग सङ्क्रमण मिल्दोजुल्दो बिरामी दैनिकरुपमा आउने गरेका छन्”, उनले भने, “परीक्षण गर्दा पुष्टि भएका र जोखिम भएकालाई भर्ना गरेर उपचार गर्छौ ।” उनका अनुसार हाल अस्पतालमा डेङ्गुका बिरामी भर्ना भएर उपचाररत छैनन् ।
अस्पतालले किटमार्फत डेङ्गुको परीक्षण गरेको र किट पर्याप्तमात्रामा रहेको डा श्रेष्ठले बताए । “डेङ्गुको परीक्षण गर्दा बीमा गरेकाको हकमा निःशुल्क परीक्षणको व्यवस्था मिलाएका छौँ”, डा श्रेष्ठले भने । 
सदरमुकामस्थित दमौली अस्पतालमा भने डेङ्गुको बिरामी नरहेको जनाइएको छ । अस्पतालका डा राजु रानाले डेङ्गु पुष्टि भएर अस्पतालमै भर्ना गरेर बसेका बिरामी नरहेको बताए । “डेङ्गुसँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामी दैनिकरुपमा आउने गरे पनि डेङ्गु नै पुष्टि भएको छैन”, उनले भने । 
स्वास्थ्य कार्यालय तनहुँले डेङ्गुको जिल्लाभरको यकीन तथ्याङ्क नरहेको जनाएको छ । कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले जिल्लास्थित अस्पताल तथा स्वास्थ्य संस्थासँग डेङ्गुका बिरामी भएको भए तथ्याङ्क पठाउन अनुरोध गरिएको जानकारी दिए । 
लामखुट्टेको टोकाइबाट डेङ्गु हुने भएकाले लामखुट्टेको टोकाइबाट जोगिन आवश्यक रहेको अधिकारीले बताए । डेङ्गुको भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले यो रोग सर्दछ । आजकल डेङ्गु ज्वरो नेपालको विभिन्न भागमा देखा परिरहेको छ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ र वर्षात्को मौसम सुरु भएपछि डेङ्गु ज्वरोको सङ्क्रमण बढ्न थाल्दछ ।
एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुची हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण हुन् ।
चिकित्सकका अनुसार डेङ्गुबाट जोगिनका लागि मुख्यतयाः लामखुट्टेको टोकाइबाट जोगिनुपर्दछ । पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सधैँ राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पु¥याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् । 

बागलुङमा ‘डेङ्गु नष्ट, आफ्नै घरबाट’ अभियान 
पछिल्लो समय महामारीको रुपमा फैलन थालेको डेङ्गु रोग रोकथामा लागि जिल्ला स्वास्थ्य कार्यालयले सचेतनासहित ‘डेङ्गु नष्ट, आफ्नै घरबाट’ अभियान थालेको छ । 
डेङ्गुको सङ्क्रमणबाट बच्न सुरुमा आफ्नै घर वरपर रहेको पानी जम्ने खाल्टाखुल्टी पुर्ने, गमलामा जम्मा भएको पानी फाल्ने र रामखुट्टेको लार्भा फाल्नका लागि सेचतनामूलक कार्यक्रम वडा वडामा पु¥याउन थालिएको उक्त कार्यालयले जनाएको छ । कार्यालयका निमित्त प्रमुख तथा जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माका अनुसार जिल्लामा उच्च गतिमा फैलिएको डेङ्गु सङ्क्रमणबाट बच्नका लागि बिहीबारदेखि विभिन्न सचेतनामूलक अभियान र डेङ्गुको लार्भा नष्ट अभियान थालिएको हो । 
“बागलुङमा डेङ्गु सङ्क्रमण बढ्दो क्रममा छ, पछिल्लो १० दिनमा २० जनामा सङ्क्रमण भइसकेको छ, रोकथामका लागि हामीले बिहीबारदेखि नै काम सुरु गरेका छौँ, सरोकारवाला निकायलाई डेङ्गुबारे सचेतना गराएका छौँ भने पत्रकारमार्फत पनि नागरिकलाई सचेत गराएका छौँ”, उनले भने, “नागरिकको घरबाटै डेङ्गु सङ्क्रमण रोक्न अभियान थालेको छौँ, यसलाई वडा तहमै पु¥याइने छ, घरमा जमेको पानी र पानीमा रहेका लार्भालाई खोजौँ र नष्ट गरौँ भन्दै घरघरमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सरोकारवाला निकायलाई पठाइनेछ ।”
कार्यालयका अनुसार शुक्रबारदेखि जिल्लाका सबै पालिकामा सचेतनामूलक कार्यक्रम गर्ने, स्वास्थ्य सूचना प्रसारण गर्ने, विद्यालयमा स्वास्थ्य शिक्षा दिनेलगायतका कार्यक्रम तय गरिएको छ । बागलुङस्थित धौलागिरि अस्पतालकाका डा रायना श्रेष्ठका अनुसार एडिज नामको लामखुट्टेको टोकाइबाट सर्ने उक्त रोगबाट बच्नुको पहिलो उपायनै लामखुट्टेको टोकाइबाट बच्ने हो, त्यसको अलवा झुलको प्रयोग गर्ने र घर वरपर पानी जम्न नदिनु हो । 
डेङ्गु एक भाइरसद्वारा लाग्ने सङ्क्रमण हो, जुन एडिज नामको लामखुट्टेको टोकाइबाट हुने गर्दछ । विभिन्न प्रकारका एडिजमध्ये एडिज एलवोपिक्टस र एडिज एजेप्टी मुख्य हुन् । डेङ्गु भाइरस चार प्रकारका हुने प्रमाणित भइसकेको र  यी सबै नेपालमा पाइने गरेका छन् । एडिज लामखुट्टेको शरीर र खुट्टामा सेता–काला धब्बा हुन्छन्, त्यसैले गर्दा यसलाई टाइगर लामखुट्टे पनि भनिन्छ यो रामखुट्टेबाट मात्रै डेङ्गुको रोग सङ्क्रमण हुने गरेको छ । 
यसले दिउँसो टोक्दछ भने सफा र स्थिर पानीमा यसले अण्डा पार्ने गर्दछ । पोथी लामखुट्टेले आफ्नो अण्डाको विकासका लागि रगत चुस्ने गर्दछ । आफ्नो १४ देखि २१ दिनको जीवनचक्रमा यसले करिब तीन सयवटा अण्डा पार्दछ । डेङ्गु रोग लागेपछि अचानक ज्वरो आउने, वाकवाकी लाग्ने र अचेत हुनेलगायतका लक्षण देखा पर्दछन् । 

चितवनमा डेङ्गुको सङ्क्रमण बढ्दो 

जिल्लामा साउनयता तीन सय ४३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । दुई हजार पाँच सय २८ जनाको परीक्षण गर्दा उनीहरुमा डेङ्गुको सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार डेङ्गुको सङ्क्रमण जिल्लाका मुख्य सहरमा बढी देखिएको छ ।
कार्यालयका प्रमुख दुर्गादत्त चापागाईंका अनुसार गत आर्थिक वर्ष २०७८÷७९ मा जिल्लामा पाँच हजार चार सय ५४ जनाको परीक्षण गर्दा तीन सय तीन जनामा डेङ्गु देखिएको थियो । यस वर्ष देखिएका बिरामीमा भरतपुर महानगरका धेरै रहेका छन् भने खैरहनी र रत्ननगर नगरपालिकामा समेत सङ्क्रमण फैलिएको छ । निरन्तरको वर्षापश्चात् एक सातामा डेङ्गुका बिरामीको सङ्ख्या निकै बढेको उनले जानकारी दिए । 
वर्षा हुने र घाम लाग्ने हुँदा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेष गरी भदौ, असोजमा डेङ्गु रोग देखिने गर्दछ । उनले भने, “अहिले साउनदेखि नै डेङ्गुको सङ्क्रमण देखिन थालेको छ ।” यो रोग घर वरिपरि बस्ने एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्राय बिहान र बेलुकाको समयमा टोक्ने उनले जानकारी दिए । वर्षात्को महिनासँगै जताततै पानी जम्न थालेपछि यो रोगको प्रकोप हुने गरेको उनले बताए । यो रोग अघिल्ला वर्षको तुलनामा अप्रत्यासितरुपमा बढ्दै गएको कार्यालयले जनाएको छ ।
यो लामखुट्टेले प्लाष्टिक, टिनका डब्बा, ड्रम, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुला पानीको ट्याङ्की, आदिमा फुल पार्ने गर्दछ । यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको प्रकोप बढ्ने स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए । 
उनका अनुसार डेङ्गु रोगको ज्वरो पाँचदेखि सात दिनसम्म रहनसक्ने हुन्छ । यो रोग लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउने जस्ता लक्षण देखापर्छ । यस्तै वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने जस्ता लक्षण देखापर्ने उनले बताए । डेङ्गु ज्वरो विषाणुका कारण हुने भएकाले यसको खासै उपचार नहुने उहाँले जानकारी दिए ।  
डेङ्गु ज्वरोबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । यस्तै आफू बस्ने ठाउँ वरिपरि फालिएका खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, पुराना टायर आदिमा पानी जम्न नदिने रहेको केसीले बताए । पानी जमिरहेको भए एक हप्तामा एक पटक पानी वरिपरि मोबिल वा मट्टितेल छर्कने र खाने पानीको ट्याङ्कीलाई पनि लामखुट्टे छिर्न गर्न नमिल्ने गरी ढाकेर राख्नु पर्दछ ।
सन् २००४ मा डेङ्गु ज्वरो नेपालमा पहिलो पटक चितवनमा देखिएको थियो । चितवन घुम्न आएको एक जापानी पर्यटकमा यो रोग पुष्टि भएको थियो । उनलाई सामान्य ज्वरो आएका कारण उपचारपश्चात् जापान फर्किएर परीक्षणका क्रममा डेङ्गु पुष्टि भएको कार्यालयले जनाएको छ । 
यसपछि सन् २००६ मा तराई र भित्री मधेसका केही जिल्लामा डेङ्गुका बिरामी भेटिएका थिए । सन् २००९ मा चितवनमा नौ जनामा डेङ्गुको सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । योसँगै आपसका जिल्लाबाट पनि ज्वरोका बिरामी उपचारका लागि चितवन आउने गरेका थिए । सन् २०१० मा तीन हजार दुई सय ९८ जनाको परीक्षणका क्रममा सात सय ३९ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो ।
आर्थिक वर्ष २०७४÷७५ मा एक हजार दुई सय ९१ जनाको परीक्षणका क्रममा ५९ जनामा पुष्टि भएको थियो । सो समयमा एक जनाको मृत्यु भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आव २०७५÷७६ मा एक हजार नौ सय ५१ जनाको परीक्षणका क्रममा ३१ जनामा डेङ्गु भेटिएको थियो । आर्थिक वर्ष २०७६÷७७ मा १९ हजार दुई सय ३० जनाको परीक्षणका क्रममा चार हजार आठ सय तीन जनामा देखिएको थियो भने तीन जनाको मृत्यु भएको थियो । आव २०७७÷७८ मा एक हजार सात सय १७ जनाको परीक्षणका क्रममा दुई सय ४३ जनामा डेङ्गु रोग देखिएको कार्यालयका सूचना अधिकारी केसीले जानकारी दिए।
जिल्लामा डेङ्गु रोगको सङ्क्रमण बढ्न थालेपछि जिल्लामा उच्च सतर्कता अपनाएको छ । जिल्लाको मुख्य बजार क्षेत्रमा सङ्क्रमण बढ्दो क्रममा रहेको छ । यसलाई नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले जिल्लाका सातै पालिकाका स्वास्थ्यकर्मी, जनप्रतिनिधिसँग अन्तक्र्रिया र छलफललाई तीव्र बनाएको छ । जलवायु परिवर्तनसँगै लामखुट्टेको बानी बेहोरा र बासस्थानमा परिवर्तन आएका कारण यसको नियन्त्रणका लागि सातै पालिकामा लार्भा खोज र नष्ट गर अभियानलाई तीव्र पारिएको कार्यालयका प्रमुख चापागाईंले बताए ।  यसलाई अभियानका रुपमा अघि बढाइने उनले बताए । पानी जम्ने खाल्डाखुल्डी पुर्ने र लामखुट्टेको बासस्थान हुने ठाउँ सफा गर्न टोलटोलमा सचेतना बढाइएको उनले जानकारी दिए । अव्यवस्थित निर्माणका कार्य र बढि जनघनत्व भएको स्थानमा लामखुट्टेको बासस्थान बढी देखिएकाले मुख्य गरी सहरी क्षेत्र लक्षित गर्दै कार्यक्रम तयार गरिएको उनले बताए ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  १९:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार