सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । मुलुकका अधिकांश जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सातै प्रदेशका ७५ जिल्लामा डेङ्गु फैलिएको छ । गत साउनदेखि हालसम्म १२ हजार दुई सय १७ जनामा डेङ्गु पुष्टि भएको तथ्याङ्क छ । डेङ्गुका कारण ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार प्रदेश १ मा चार सय दुई, मधेसमा दुई सय २३, बागमतीमा नौ हजार तीन सय चार, गण्डकीमा दुई सय ४५, लुम्बिनीमा एक हजार चार सय ७९, कर्णालीमा एक सय ८४ र सुदूरपश्चिम प्रदेशमा तीन सय ८० जनामा डेङ्गु देखिएको छ । महामारीकै रुपमा फैलिएको डेङ्गु तत्काल नियन्त्रणमा पहल गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद मायाप्रसाद शर्माले डेङ्गु सङ्क्रमण बढ्दोक्रममा रहेकाले तत्काल नियन्त्रण गर्न आवश्यक भएको बताए । सांसद शर्माले देशका धेरै स्थानमा बाढीपहिरो गएको जनाउँदै बाढीपहिरो प्रभावितको उद्धार र राहत वितरणमा सरकारको ध्यानाकर्षण गराए । सांसद डा विमला राई पौडेलले डेङ्गुले तहल्का मच्चाइरहेकाले यसको नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराइन् । “प्रत्येक घरमा बिरामी छन् । सरकार डेङ्गु नियन्त्रण गर्नेतर्फ ध्यान दिन सकेन । बजारमा सिटामोलको अभाव छ, जनतालाई ज्वरो आएको छ, सिटामोल पु¥याउनु पर्दैन रु”, उनले भनिन् । उनले डेङ्गु प्रतिकारात्मक काम कहाँ पुग्यो भनी स्वास्थ्य मन्त्रालयसँग प्रश्न गरिन् ।