सोसल मिडिया
Contact Us
युनिकोड
दमौली । तनहुँको व्यास नगरपालिका–११ को ऐतिहासिकस्थल तनहुँसुरमा ४३ औँ विश्व पर्यटन दिवस मनाइने भएको छ । तनहुँसुर सुन्दर, शान्त एवं सुरक्षित पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि ‘रिथिङकिङ टुरिज्म’ भन्ने नारासहित सेप्टेम्बर यही असोज ११ गते यहाँ दिवस मनाउन लागिएको हो । तनहुँसुर देवस्थल सामुदायिक घरवास (होमस्टे) र तनहुँसुर घरवास (होमस्टे) को व्यवस्थापनमा पर्यटन दिवस मनाउने तयारी भएको पर्यटनविद एवं सम्पदा नेपालका अध्यक्ष हरिसिंह गुरुङले जानकारी दिए । उनका अनुसार दिवसका अवसरमा होमस्टेको अवलोकन, होमस्टेको सामुदायिक भवनको अवलोकन, ‘रिथिङकिङ टुरिज्म’ को विषयमा अन्तरक्रिया गरिने, स्थानीय क्लब र होमस्टेको सांस्कृतिक कार्यक्रम गरिनेछ । तनहुँसुरमा आएका पर्यटकलाई यहाँका पर्यटकीय क्षेत्र घुमाउने प्रबन्ध मिलाइएको पर्यटनविद् गुरुङले बताए । तनहुँसुर मुलुककै महत्वपूर्ण ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्विकस्थल भएकाले ती सम्पदाको संरक्षण, विकास एवं प्रवद्र्धन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउन कार्यक्रमले सहयोग पुग्ने गरी यहाँ दिवस मनाउने प्रबन्ध मिलाइएको हो । तनहुँसुर प्राकृतिक सम्पदा एवं जैविक विविधताको समेत भण्डार रहेकाले उक्त सम्पदाको संरक्षण र विकास गर्नुका साथै स्थानीय जनसहभागिता वृद्धि गर्न, यस क्षेत्रमा विकास हुँदै गरेको तनहुँसुर इको ट्रेक, घरवास, कृषि तथा फलफूल खेतीलगायत ग्रामीण एवं पर्यटनका ११ विभिन्न गन्तव्य तथा उपजको प्रचारप्रसार गर्नका लागि कार्यक्रम तनहुँसुरमा राखिएको उनले बताए ।
जिपी कोइरालामा पत्थरीको सफल शल्यक्रिया
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा दुलेगौँडास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा पित्तथैलीमा भएको पत्थरीको सफल शल्यक्रिया गरिएको छ । बिहीबार शुक्लागण्डकी–७ निवासी ६१ वर्षीया कुमारीगाहा मगरको पित्तथैलीमा रहेको पत्थरीको मेजर अप्रेशन सफलतापूर्वक गरिएको उपचार केन्द्रका सर्जन डा परिवर्तन बरालले बताए । डा बरालको नेतृत्वमा एनेस्थेसियोलोजिष्ट डा रमेश घिमिरे, डा अभिषेक पौडेलको टोलीले सो शल्यक्रिया गरेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए । अस्पतालमा आज पहिलो पटक ‘मेजर अप्रेशन’ सफलता पूर्वक गर्न सफल भएको उनले बताए। “बिहीबारबाट मेजर अप्रेशन सफलता पूर्वक सम्पन्न भयो । अब दैनिक रुपमा शल्यक्रिया सेवा अस्पतालले प्रदान गर्नेछ”, डा श्रेष्ठले भने । जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र विसं २०७३ साउनदेखि जिल्लाका साथै छिमेकी जिल्लाका सेवाग्राहीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा गुणस्तरीय सेवा पाएपछि अस्पतालमा तनहुँ, लमजुङ, पाल्पा, स्याङ्जा, नवलपुर आदि जिल्लाबाट बिरामी आउने गरेको अस्पतालका लेखा अधिकृत वासुराज दाहालले बताए ।