दाङ्का छ स्थानीय तहमा छैनन् दमकल

शुक्रबार, वैशाख १०, २०७८

 तुलसीपुर । दाङका छ स्थानीय तह  अझै दमकलविहीन छन् । जिल्लाका १० स्थानीय तहमध्ये चार तहमा मात्रै  दमकल रहेका छन् । दमकल नभएका स्थानीय तहमा आगलागी भएमा अन्य स्थानीय तहसँग मागेर काम चलाउनुपर्ने बाध्यता रहेको छ ।  घोराही तथा तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र गढवा गाउँपालिकामा मात्रै दमकल छन् । तीमध्ये घोरामा दुई, तुलसीपुरमा एक, लमहीमा दुई  र गढवामा एक दमकल छ । दङ्गीशरण, शान्तिनगर, राजपुर , बङ्गलाचुली, बबई र राप्ती गाउँपालिकासँग दमकल छैनन् । बबई गाउँपालिकाका उपाध्यक्ष सावित्रा विश्वकर्माले आगामी कार्यपालिका बैठकमा दमकल खरिदको प्रस्ताव राख्ने जानकारी दिए ।   बङ्गलाचुली गाउँपालिकामा पहाडी भूभाग भएकाले दमकल ल्याउन समस्या भएको बङ्गलाचुली गाउँपालिकाका उपाध्यक्ष यमुना घर्तीले बताइन् । उनका अनुसार गाउँपालिकाका सबैजसो भूभाग पहाडी छ, आगलागी भएको स्थानमा दमकल जान सक्ने अवस्था नै रहँदैन ।  यसैले दमकललाई प्राथमिकतामा नराखेको र खरिद प्रक्रियालाई अघि नसारिएको हो । त्यस्तै दङ्गीशरणका अध्यक्ष भागीराम चौधरीले दमकल खरिद गर्नसक्ने र यसका लागि कर्मचारीलाई तलब दिने समस्या भएको बताए ।  यस्तै शान्तिनगरले दमकल खरिद गर्ने विषयमा कुरा नउठेको  गाउँपालिका उपाध्यक्ष मिथिला शाहले जानकारी दिए ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  १९:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार