मनास्लुमा हिमपहिरो, हेलिकप्टरबाट उद्धार गरिँदै

सोमबार, असोज १०, २०७९
मयुर प्लाई

काठमाडौँ । मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पको बीचमा सोमबार हिमपहिरो गएको छ । हिमपहिरोमा परी केही व्यक्ति घाइते भएको भनिए पनि यकिन विवरण प्राप्त भएको छैन । हिमपहिरोमा फसेका आरोहीको उद्धारका लागि काठमाडौंबाट हेलिकप्टर लगिएकाे छ ।

केही व्यक्तिको हताहती भएको खबर आए पनि पुष्टि नभएको बताइएकाे छ । मनास्लु आधार शिविरको मौसम सफा नभएकाले उद्धार कार्य प्रभावित भएकाे छ । हिमपहिरोमा फसेका व्यक्तिहरूको उद्धारका लागि काठमाडौंबाट सामागाउँमा कैलाश एयरको एउटा हेलिकप्टर अवतरण भइसकेको छ । 
पर्यटन विभागले हिमपहिरो गएको पुष्टि गरे पनि त्यहाँ रहेका व्यक्तिसँग सम्पर्क नभएको बताएकाे छ ।
यस पटक शरदयामका लागि ८ हजार मिटर भन्दा अग्ला तीनसहित १५ वटा हिमाल आरोहण गर्न शुक्रबारसम्म पर्यटन विभागले ५ सय ५ जना विदेशीलाई अनुमति दिएको छ । शुक्रबारसम्म १५ हिमाल आरोहणका लागि ५८ वटा आरोहण दलमा १ नेपालीसहित ५ सय ६ जनालाई अनुमति जारी गरिएको छ ।
विभागका अनुसार, यी आरोहण दलमा १ सय २३ महिला र ३ सय ८३ पुरुषसहित ५ सय ६ जना सदस्य रहेका छन् । यसपटक सबैभन्दा धेरै गोरखाको मनास्लु हिमाल आरोहण गर्न ३८ वटा अरोहण दललाई अनुमति दिइएको छ । यसमा ९७ महिला र ३ सय ७ पुरुषगरी ४ सय ४ सदस्य छन् ।
मनास्लुपछि धौलागिरि हिमालका लागि ३४ जना , हिमलुङ हिमालका लागि १२ जनालाई आरोहण अनुमति दिइएको छ । अरु १२ वटा हिमालमा न्यूनतम २ देखि १० जना सम्मलाई अनुमति दिइएको छ । शरदयाममा सर्वाधिक आरोहणका लागि मनास्लु र अमादब्बलम हिमाल विदेशीहरुमाझ लोकप्रिय मानिन्छ ।

प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  १३:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार