सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आफ्ना नगरवासीका लागि निःशुल्क डेंगी परीक्षण सुरु गरेको छ । नगरपालिकाले थानकोटस्थित प्राथमिक अस्पतालबाट डेंगीको निःशुल्क परीक्षणको व्यवस्था मिलाएका हो । वडा नं.४ स्थित अस्पतालबाट अहिले निःशुल्क परीक्षण र उपचार भइरहेको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए । उनले भने, ‘नगरवासीको स्वास्थ्यलाई उच्च प्राथमिकता दिएर डेंगी रोगको निःशुल्क परीक्षणको व्यवस्था मिलाएका हौं ।’ उनले नगरभित्र डेंगी संक्रमणको जोखिम उच्च रहेकाले स्वास्थ्य सतर्कता अपनाउन समेत अनुरोध गरेका छन् । नगरप्रमुख गिरीले घर र कार्यालय वरपर पानी जम्न नदिन अनुरोध गर्दै शरीर ढाक्ने गरी पुरा बाहुला लुगा लगाउन समेत नगरवासीलाई आग्रह गरेका छन् ।
अस्पतालका प्रमुख डा.हेमनाथ आचार्यका अनुसार अस्पतालमा हालसम्म जटिल प्रकारका डेंगी संक्रमित भर्ना भएका छैनन् । यो अस्पताल १५ शय्याको हो । लामखुट्टेको टोकाइबाट डेंगी हुने भएकाले लामखुट्टेको टोकाइबाट जोगिन आवश्यक रहेको उनले बताए । यो लामखुट्टेले विशेष गरी दिउँसो मात्र टोक्ने गर्छ । वर्षात्को मौसम सुरु भएपछि डेंगीका बिरामी बढ्न थाल्छन् । एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुन, जोर्र्नी तथा मांशपेशी बेस्सरी दुख्नुलगायतका डेंगीका लक्षण हुन् ।