मनास्लु हिमपहिरोका घाइते सबैको उद्धार

मृत्यु भएका अनुप राईको शव काठमाडौँ लगियो
मंगलबार, असोज ११, २०७९
मयुर प्लाई

गोरखा । उत्तरी गोरखाको मनास्लु हिमालस्थित तेस्रो आधार शिविरमा सोमबार गएको हिमपहिरामा परी घाइते भएका सबैको उद्धारको काम सकिएको छ । पहिरामा परेका १३ मध्ये १२ जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । 
हिजो चारजना घाइतेको उद्धार गरिएको भए पनि बाँकी रहेका थप आठजनाको आज उद्धार गरिएको हो । सकुशल उद्धार गरिएकाहरुमा सोलुखुम्बु घर भएका ३५ वर्षीय किनु पेम्वा, २९ वर्षीय फुर्ते शेर्पा, सङ्खुवासभा घर भएका २७ वर्षीय सुकमान तामाङ, निमा शेर्पा, ४० वर्षीय निमादोर्जे शेर्पा र २५ वर्षीय दावा शेर्पा रहेको उनले बताए । 
त्यस्तै दोलखा घर भएका ४० वर्षीया फुरिता शेर्पा, ३७ वर्षीय लाक्पा तामाङ र ४४ वर्षीय जीतबहादुर शेर्पाको पनि सकुशल उद्धार गरिएको प्रहरी नायब उपरीक्षक लामिछानेले जानकारी दिए । आज उद्धार गरिएकामध्ये ४० वर्षीय निमादोर्जे शेर्पाको अवस्था भने गम्भीर रहेको उनले बताए । घाइते सबैलाई उद्धारपछि हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाई सकिएको प्रहरी नायब उपरीक्षक लामिछानेको भनाइ छ ।
हिमपहिरामा परेका अन्य तीनजनाको अवस्था भने सामान्य रहेकाले उनीहरु आधार शिविरमा आएपछि पुनः काममा फर्किएका प्रहरी नायब उपरीक्षक लामिछानेले जानकारी दिए ।

हिमपहिरामा परेर मृत्यु भएका अनुप राईको शव काठमाडौँ लगियो
उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा सोमबार गएको हिमपहिरामा परी मृत्यु भएका सङ्खुवासभाका ३४ वर्षीय अनुप राईको शव हेलिकप्टरमा आज काठमाडौँ लगिएको छ । 
लामो प्रयासपछि राईको शव हेलिकप्टरमार्फत राजधानी पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए । मौसममा सुधार आएपछि राईको शव हेलिकप्टरमा काठमाडौ‌ लैजान सहज भएको हो । खोँचमा रहेको शव निकाल्न दिनभर प्रयास गरिएको थियो । उनले भने, “मौसम प्रतिकूलताका कारण हेलिकप्टर हिमपहिरो गएको ठाउँमा पुग्न कठिन भएको थियो, साँझपख मौसममा सुधार आएपछि शव हिउँबाट निकाल्न सहज भएको हो ।” 
राईको शव सामागाउँ ल्याई मुचुल्का तयार पारेर काठमाडौँ पठाइएको लामिछानेले बताए । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा शव परीक्षणपछि अन्त्येष्टिका लागी परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ । मनास्लु आधार शिविरमा सोमबार गएको हिमपहिरामा परेर १३ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये १२ जनाको सकुशल उद्धार गरिएको थियो । राईलाई भने बचाउन सकिएको थिएन ।  
विभिन्न चार एजेन्सीबाट गएका उनीहरु सोमबार हिमपहिरामा परेका थिए । प्रहरीका अनुसार इमेजिङ एक्सप्रेसनबाट गएका पाँच, सेभेन समिटका गएका तीन,  एचके एक्सप्रेसनबाट गएका दुई र चितवन एड्भेन्चरबाट गएका तीनजना हिमपहिरामा परेका हुन् ।
 

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  २१:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार