सोसल मिडिया
Contact Us
युनिकोड
सुर्खेत । ‘ती पल्ला घरे लाहुरे दाइले को कोसेली बाँड्दैछन् लाहुरेनी भाउजु मुसुमुसु हाँस्दै भित्र र बाहिर गर्दैछिन्...’
चलचित्र ‘मुग्लान’ यो कालजयी गीत अहिले पनि दसैँमा उत्तिकै गुन्जिन्छ । सत्र वर्षअघि बनेको ‘मुगलान’ चलचित्रको यो गीत दसैँमा गुन्जिने लोकप्रिय गीत पनि हो । रोजीरोटीका लागि लाहुरे बन्ने परम्परा सुरू भएदेखि घर फर्किने पर्वका रूपमा पनि स्थापित पर्व हो, दसैँ ।
अरूबेला नभए पनि चाडबाडको समयमा बिदा पाउने भएकाले दसैँ घर फर्किने सांस्कृतिक विम्बका रूपमा स्थापित भएको हो । अरुबेला बिदा नपाइँदा पनि चाडबाडमा बिदाको मेसो मिलाएर गाउँ फर्किनेको धुइरो लाग्छ । यसरी दसैँ घर फर्किने चाडका रुपमा स्थापित भयो । दसैँ नजिकिँदै जाँदा पिँढीमा बसेका बुढा आँखा तेजिला बन्दै परदेशी बाटो छोरो फर्किएको हेर्न पर्खिरहन्छन् । मुगलानबाट लाहुरे दसैँमै घर फर्किन्छ । सुनसान गाउँ गुलजार बन्छ । निरस अनुहार उज्यालिन्छ । दसैमा घर फर्किएको परदेशी र गाउँले साथीबीच दुःख साटासाट हुन्छ । दसैँ गाउँ फर्किने पर्वका रुपमा बलियोसँग स्थापित भएको पर्व पनि हो । दसैलाई घर फर्किने चाडका रूपमा स्थापित गर्नेमा अझ बढी भूमिका परदेश जाने सर्वसाधारणको लागि छ । हिउँदमा बाली भित्र्याएर रोजगारीका लागि परदेशिनेहरू चाडबाडको खर्च जुटाएर दसैँमा घर फर्किन्छन् । रोजगारीका सिलसिलामा परदेशिन बाध्य नेपालीहरु फर्किएसँगै दसैँमा गाउँघर भरिभराउ हुन्छन् । यसरी बाध्यताले परदेशिएका घर फर्किने चाडका रूपमा दसैँ स्थापित भएको छ । यस वर्षको दसैँ सुरु भएसँगै कर्णालीका गाउँघरहरुमा दसैँको रौनकता पनि सुरु भइसकेको छ । हजुबुवा, बाको समयमा घर फर्किने चाडका रुपमा स्थापित दसैँमा अहिले पनि घर फर्किनेको माहोल उस्तै छ । सहरमा पढ्न बसेका विद्यार्थीसहित अन्य कर्मचारी, मजदूर, श्रमिक दसैँमा घर फर्किन्छन् नै । असोज महिनाको शुक्ल प्रतिपदादेखि दशमीसम्म मनाइने दशैंलाई नेपालीको प्रमुख चाड पनि हो । नेपाल धर्म निरपेक्ष भइसक्दा पनि दसैँराष्ट्रिय चाडकैरुपमा स्थापित छ भने राज्यले चाडपर्वको सेवा सुविधादेखि बिदासमेत यसै समयमा दिने गरेको छ । यसैले पनि दसैमा गाउँ फर्किने सङ्ख्या ठूलो हुन्छ । परिवेश फेरिए पनि पुस्तौँदेखि दसैँमा घर फर्किने चलन अहिले पनि फेरिएको छैन । जुम्लाको तिला गाउँपालिका–८ का खगेन्द्र नेपालीले भन्नुभयो, “मानव चोला कतिबेला कसलाई के हुन्छ थाहा हुँदैन । त्यसैले अरुबेला जो जहाँ भए पनि दसैँको बेला एकै ठाउँमा जम्मा हुने चलन स्थापित छ र अहिले पनि अरुबेला बिरानो हुने गाउँमा दसैको बेला रौनक छाउँछ ।” मङ्गलबार वीरेन्द्रनगर बसपार्कमा भेटिएका जुम्लाको तिला गाउँपालिका–८ का नेपालीले आफू दसैँ मान्नकै लागि भारतबाट फर्किएको बताए । उनलाई जुम्ला पुग्ने हतारो थियो । कमाइका लागि उहाँको परिवार नै भारतको सिम्ला बस्दै आएको छ । यसपालि परिवार उतै छोडेर उनी मात्रै गाउँ फर्किएका छन् । बालबच्चासहित आउँदा बाटोमा अप्ठ्यारो हुने भएकाले दसैँ मान्न एक्लै घर फर्किएको बताउँदै उनले बताए । “वर्ष दिनमा एकपटक आउने चाडमा बुबाआमाको हातबाट टीका लगाउन घर फर्किएको हुँ”, उनले भने, “सबै परिवार आउने मन थियो । तर, बाटोमा दुःख होला भनेर एक्लै आइयो ।” कमाइका लागि भारत जानुपर्ने बाध्यता रहेको खगेन्द्र बताउँछन् । उनले दसैलगत्तै फेरि भारत फर्किहाल्ने योजना पनि सुनाउँदै भने, “अर्को वर्ष दसँैमा घर आउन सकिएन भने अघिल्लो वर्ष त आमाबुवा, हजुरबुवा हजुरआमासँग टीका थापेको थिएँ भनेर चित्त बुझाउने बाटो हुने भएकाले पनि दसैमा घर फर्किनैपर्छ ।” रोजगारीका लागि परदेशिएकाले लामो बिदा नपाउने र यातायातलगायतका अन्य भौतिक सुविधाको अभावका कारण हिउँदमा परदेसिएकाहरू एकैपटक दसैमा घर फर्किन्थे । अहिले यातायात, सडक, पूर्वाधारलगायतको सहजताका कारण अन्य समयमा पनि भेटघाट बाक्लै हुने गरेको छ । सहर बजारबाट गाउँ जानेको ताँती देखिन्छ । रोजगारी, पढाइ तथा काम विशेषले बाहिर रहेकाहरू दसैँ लागेसँगै धमाधम गाउँ फर्कन थालेका छन् । कर्णालीका ग्रामीण भेगका थुप्रै नागरिक कमाइका लागि भारत जाने गर्छन् । उनीहरू दसैँ, तिहारजस्ता ठूला पर्वमा गाउँ घरमा फर्कन्छन् । यहाँ चाडपर्वकै लागि खर्चको जोहो गर्न भारत जानेहरू पनि धेरै छन् । दुई÷चार महिनाका लागि विदेशिएका यसैबेला फर्कन्छन् । गाउँमा रोजगारीका अवसर नहुँदा बाहिरिएका अहिले दसैँ मान्न छर फर्किरहेका छन् । परदेशीका र सहर झरेका फर्किएसँगै गाउँघरमा चहलपहल बढेको छ । दसैँमा घर फर्किने क्रममा वीरेन्द्रनगर बसपार्कमा भेटिएका जुम्लाकै कमल बुढा दसैँमनाएर भारत फर्किहाल्ने बताउँछन् । जीविकोपार्जनका लागि परिवारसहित भारत बस्ने जुम्लाकै निराजन बुढा पनि यसलाली एक्लै फर्किए । उनले गाउँकै चार जना साथीहरू दसैँ मनाउन भारतबाट आएको बताए । “दसैँ मान्नका लागि मात्रै आएको हुँ । यहाँ बस्नका लागि रोजगार छैन्”, उनले भने, “आर्थिक अवस्था कमजोर छ । अब छोराछोरी सुर्खेत ल्याएर पढाउने र आफूहरू भारतमै बसेर कमाइ गर्ने योजना बनाएको छु ।” दशैं तिहार नजिकिएसँगै कर्णाली प्रदेशका गाउँहरुमा रौनकता छाएको छ । परदेशिएका गाउँका युवासँगै पढाइ तथा रोजगारीको लागि घर बाहिर रहेका पनि गाउँमा आएपछि रौनकता छाएको दैलेख गुराँसेका दशरथ केसीले बताए । घर बाहिर रहेका गाउँघरमा फर्किएसँगै स्थानीय बजारमा पनि किनमेल गर्नेको पनि भिडभाड बढेको पनि केसीले बताए ।
दैलेखवासीका दीपक खत्री साउनको महिना रोपाइँ सकेर कमाउन भारत गएका थिए । उनी पनि अहिले गाउँ फर्किएका छन् । चाडपर्व खर्च जुटाउन थोरै समयका लागि उनी भारत गएका थिए । “यसपाली खासै कमाइ नभए पनि चाडपर्व मान्नकै लागि घर आए”, खत्रीले भने । रोजगारीकै सिलसिलामा दुई वर्ष पहिले दुवै गएका दैलेखको नौमुले गाउँपालिकाका तेजबहादुर चन्द पनि दसैँ मान्न घर फर्किएका छनु । परदेश गएका मात्रै होइन दसैका लागि तराईबाट पहाड आउने उक्लिनेको सङ्ख्या पनि अत्यधिक बढेको छ । अन्य समयमा सुनसान हुने गाउँहरु गुल्जार हुँदै गएका छन् । रोजगारीको सिलसिलामा भारत पसेकाहरु पनि घर फर्केकाले गाउँमा निकै चहलपहल बढेको उनले बताए । दसैका लागि घर फर्कनेहरु लर्को लागेको बताउँछन, सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेशकुमार सापकोटा । “अहिले अग्रिम टिकट काट्नुपर्ने बाध्यता छ”, उनले भने । अध्यक्ष सापकोटाले चाडपर्वमा मानिसहरूको चहलपहल बढेपछि थप गाडी सञ्चालनमा ल्याइएको जानकारी दिए । उनले भने, “चाडपर्वका समयमा यात्रुहरुको चाप उच्च हुने भएकाले सीट मिलाउनै समस्या छ । जसले गर्दा यात्रुलाई एकदिन अगाडि नै टिकट लिन भनेका छौँ ।” यतिबेला गाउँ जानेको चापले गाडीको टिकट पाउनै मुस्किल छ । मङ्गलबार वीरेन्द्रनगर बसपार्कमा टिकटका लागि पुगेका जुम्लाका शेरबहादुर शाहीले टिकट नै नपाएको गुनासो गरे । दैलेखको डुङ्गेश्वरका डम्मर भण्डारी पनि टिकट नपाएर बसपार्कमा निराश अवस्थामा देखिन्थ्ये । यातायात व्यवसायीका अनुसार यात्रुको चाप बढेकाले टिकटमा केही समस्या छ । सुर्खेतबाट कर्णालीका अन्य जिल्लाका लागि छुट्ने गाडीहरूमा एकदिनअगावै टिकट काट्ने गरिएको छ । मध्यपश्चिमाञ्चल यातायात सेवा सुर्खेत प्रालि सचिव नारायण चपाईले जानकारी दिए ।
संस्कृति बदलियो, विकृति बढ्यो
मीठो मसिनो खाने, कमेरोले घर सिंगार्ने (रङ्ग्याउने) , शुभकामना आदानप्रदान गर्ने, चङ्गा उडाउने, पिङ खेल्ने, दुर्गा भक्तिपूजा गर्ने, मान्यजनसँग आर्शीवादको टीका थाप्ने आदि दसैका विशेषता हुन् । तर दसैँविस्तारै फेरिँदै गएको छ । भकारीमा अन्नबाली भित्र्याएसँगै भित्रिने दसैँअहिले तयारी सामान भित्र्याएर शुरु हुन्छ । लोप हुँदै गएको दसैको संस्कृतिसँगै दसैका बेला आकाशमा चङ्गा उड्न छाडेका छन्, गाउँघरमा रोटे र लिङ्गे पिङ पनि लोप हुँदै जानुलाई सांस्कृतिक विचलनको नाम दिँन्छन, सङ्गीत तथा संस्कृतिकर्मी कुलमान नेपाली । समय परिवर्तनसँगै संरक्षण गर्नुपर्ने संस्कृति भने विस्तारै लोप हुँदै गएको उनको भनाइ छ । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–७ निवासी नेपाली भन्छन्, “हाम्रो संस्कृतिसँगै दसैको इतिहास नै खतराउन्मुख रहेको छ । हामी यसतर्फ सचेत बनेका छैनौँ । दसैँ तथा अन्य नेपाली चाडपर्वका संस्कृतिलाई जोगाउन पुराना परम्परा र चलनहरुको निरन्तरता जरुरी छ ।” शक्ति र हतियारको पूजा गरी मनाइने दसैँनेपालीहरूको मौलिक चाड भएको उनी बताउँछन् । “दसैँ हाम्रो सांस्कृतिक विरासत बोकेको चाड हो”, नेपाली भन्छन्, “हरेक स्थानमा हरेक क्षेत्रमा केही न केही विकृति हुन्छन्, दसैँमा पनि केही विकृतिहरु बढ्दै गएका छन्, यसतर्फ हामी सचेत हुनुपर्छ ।”