हवाई मैदान निर्माणका लागि रूख काट्न थालियो

आइतबार, असोज १६, २०७९
मयुर प्लाई

उदयपुर । उदयपुरको त्रियुगा नगपालिका–१ स्थित जोगिदहको सिमलटार र मोथ्याइ बीचमा निर्माण हुन गइरहेको सगरमाथा क्षेत्रको नै महत्वपूर्ण सगरमाथा हवाई मैदान निर्माणका लागि वन क्षेत्रमा सर्भे गरिएका रूख कटान थालिएको छ ।
सगरमाथा हवाई मैदान निर्माण उपभोक्ता समितिका अनुसार हवाई मैदान क्षेत्रभित्र पर्ने मोथ्याइ सामुदायिक वन र कङखोला सामुदायिक वनभित्र पर्ने १० हेक्टर वन क्षेत्रको रूख काट्न सुरु गरिएको निर्माण उपभोक्ता समितिका संयोजक वीरेन्द्र बस्नेतले जानकारी दिए । दुर्गा शक्ति जेभी कम्पनी विराटनगरले ठेक्का लिएर रूख काट्न सुरु गरेको हो । डेढ हप्ताभित्र कम्पनीले विभिन्न प्रजातिका एक सय ६४ रूख काटेको छ । 
नेपाल नागरिक उड्डयन प्राधिकरण र वन तथा भू–संरक्षण विभागबीच सम्झौता भएपछि जोगिदह क्षेत्रको दुई सामुदायिक वनको दश हेक्टर क्षेत्रफलको रूख कटान थालिएको हो । एक हजार सात सय मिटर लम्बाइ र ४० मिटर चौडाइको सगरमाथा हवाई मैदान निर्माणका लागि त्रिनपा–१ जोगिदहको मोथ्याइ, सिमलटार र कङखोलासम्मको १५६.११ हेक्टरभन्दा बढीको क्षेत्रमा हवाई मैदान निर्माण गर्ने सहमति भएपछि रुख काट्न थालिएको हो । 
रूख कटान सम्पन्न गरेर हवाई मैदान सञ्चालनमा आएपछि पुनः हवाई मैदान क्षेत्रका आसपासका जग्गामा वृक्षरोपण गरेर ३० प्रतिशत क्षेत्र वन क्षेत्र निर्माण गर्नुपर्ने प्रावधान रहेको समितिले जनाएको छ । त्रियुगा नगरपालिकाको जोगिदहमा २०७२ सालमा नै सर्भे भएर निर्माण गर्ने भनिएको सगरमाथा हवाई मैदान निर्माण कार्यमा स्थानीयहरू र हवाई मैदान निर्माण व्यवस्थापन समितिबीच पटक–पटक विवाद भएको थियो । वन तथा भू–संरक्षण विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच  सहमति भएपछि काम अघि बढेको हो । 
परराष्ट्रमन्त्री डा नारायण खड्काको पहलमा हवाई मैदान निर्माण कार्य सहज भएको त्रियुगा नगरपालिकाका प्रमुख बसन्तकुमार बस्नेत बताउँछन् । अब दसैँ लगत्तै रूख कटानसहित बाँकी कार्य नियमितरूपमा हुने उनको भनाइ छ । अबको दुई वर्षभित्र हवाई मैदान निर्माण सम्पन्न भई सञ्चालनमा ल्याइने बस्नेतले बताए ।
एक हजार सात सय मिटर लम्बाइ र ४० मिटर चौडाइ क्षेत्रको हवाई मैदान निर्माण सम्पन्न गरेर दुई सय मिटरको लम्बाइ र ६० मिटर चौडाइ एप्रोनसहितको टर्मिनल आधुनिक टर्मिनल भवन, ट्याक्सी पार्किङ ग्राउन्डसहितको पूर्वाधार निर्माण गर्न १५६.११ हेक्टर क्षेत्रफल जग्गा अधिग्रहण भएको समितिले जनाएको छ । सगरमाथा क्षेत्रको नै महत्वपूर्ण हवाई मैदान निर्माण सम्पन्न भएपछि उदयपुरबाट पहाडी जिल्ला भोजपुर, खोटाङ, सोलु तथा ओखलढुङ्गा र विराटनगर तथा राजधानी काठमाडाँै यात्रा गर्न सहज हुने छ । हवाई मैदान निर्माण सम्पन्न गर्न झण्डै रु दुई अर्ब ४० करोड बजेट चाहिने समितिले जनाएको छ । 

रामेछापबाट लुक्लाका लागि उडान सुरु  
रामेछापको मन्थलीबाट लुक्लाका लागि उडान सुरु भएको छ । तारा, समिट र सीता एयरले विदेशी पर्यटकका लागि शनिबारदेखि सोलुखुम्बुको लुक्लासम्म उडान भर्न थालेका हुन् ।     
दसँैको बेला काठमाडौँको एयरपोर्ट व्यस्त भई ट्राफिक जाम हुने भएपछि ती कम्पनीले विदेशी पर्यटकलाई मन्थली विमानस्थलसम्म गाडीमा ल्याएर मन्थलीबाट सोलुको लुक्लाका लागि उडान भर्न लागेका हुन् । 
यसअघि कोरोना महामारीका कारण दुई वर्षदेखि थलिएर उडान भर्न नसकेका वायुसेवा कम्पनीले यस वर्षदेखि उडान थालेका हुन् । यो पर्यटकको याम भएकाले दैनिक रूपमा मौसमले साथ दिएसम्म पर्याप्त उडान भर्ने योजना रहेको ती कम्पनीहरूले जनाएका छन् ।  
काठमाडौँबाट नजिक रहेको यस विमानस्थलमा साना विमानस्थलका लागि हवाई इन्धनसहितको व्यवस्था भएको पूर्वी क्षेत्रकै एकमात्र विमानस्थल भएकाले इमर्जेन्सी विमान अवतरण लागिसमेत रामेछाप विमानस्थल उपयोगी मानिएको छ । नजिकको दूरीमा रहेर पनि रामेछाप–काठमाडाँैको कुनै कम्पनीले पनि उडान भर्न सकेका छैनन् ।
 

प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  ०५:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार