सोसल मिडिया
Contact Us
युनिकोड
बैंकक । थाईल्यान्डस्थित एउटा प्रि–स्कूल डेकेअर सेन्टरमा एक पूर्वप्रहरी अधिकारीले बन्दुक तथा चक्कु आक्रमण गर्दा कम्तीमा ३४ जान मारिएका छन् । नोङ्ग बुआ लाम्पु प्रान्तमा भएको घटनालगत्तै प्रहरीले खोजी कार्य शुरू गरेपछि आक्रमणकारीले परिवारका सदस्यलाई मारेर पछि आफ्नै ज्यान लिएका थिए । बन्दुक तथा चक्कु आक्रमणमा परी ज्यान गुमाउनेमा बालबालिका तथा वयस्क पनि छन् । भाग्नुअघि आक्रमणकारीले पीडितहरूमाथि गोली चलाउनुका साथै चक्कु पनि प्रहार गरेका थिए ।
‘स्तब्ध बनाउने घटना’ आक्रमणको उद्देश्य थाहा हुन सकेको छैन । तर प्रहरीका अनुसार उनी गत वर्ष मात्रै बरखासीमा परेका थिए । आक्रमणमा मारिनेमा दुई वर्षसम्मका बालबालिका पनि रहेको विवरणमा जनाइएको छ। कम्तीमा १२ जना घाइते भएका छन् । ‘खाना खाने समयमा आएर आक्रमणकारीले शुरूमा बालस्याहार केन्द्रका चार अथवा पाँचजना अधिकारीको गोली हानी हत्या गरे’, नजिकै कार्यरत प्रहरी अधिकारी जिदापा बुनसोमले रोयटर्ससँग भनिन् । ‘शुरूमा मानिसहरूले पटाका पड्केको ठाने’, उनले थपिन् । त्यसपछि बालबालिका सुतिरहेको कोठामा आक्रमणकारी पुगेका थिए । थाई प्रधानमन्त्री प्रायुथ चान–ओचाले त्यसलाई ‘स्तब्ध बनाउने घटना’ भनेका छन् । आक्रमणकारीको नाम पान्या काम्राब भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनापछि उनी ब्याङ्ककमा दर्ता गरिएको नम्बर प्लेट भएको सेतो चारढोके टोयोटा पिकअप ट्रक चढेर भागेका थिए । घटनामा ज्यान गुमाउनेमा २३ जना बालबालिका रहेको नोङ्ग बुआ लाम्पु प्रान्तस्थित एक वरिष्ठ प्रहरी अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । थाईल्यान्डमा गोली हानेर ठूलो सङ्ख्यामा मान्छे मार्ने घटना विरलै हुन्छ । सन् २०२० मा न्याकोन र्याटचासिमा शहरमा एक सैनिकले गोली हानी २१ जनाको हत्या गरेका थिए भने अन्य कैयौँलाई घाइते बनाएका थिए ।–एजेन्सी