सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । अहिले देशका विभिन्न ठाउँमा हल्कादेखि मुसलधारे वर्षा भइरहेको छ र मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरूण पौडेलले बताएअनुसार कतै गत ४८ घण्टादेखि त कतै ३६ घण्टादेखि लगातार पानी परिरहेको छ । ‘नेपालमा मनसुन सकिने बेलामा बङ्गालको खाडीमा न्यून चापीय क्षेत्रको विकास भएर अहिले वर्षा भइरहेको हो’ उनले भने, ‘सकिनुअघि मनसुन अझ बढी सक्रिय भइदिएर यति पानी परेको हो । ’ वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै प्रभाव देखिएको पौडेलले बताए । अहिले दाङ्ग, पाल्पा, कास्की, बागलुङ लगायत जिल्लामा धेरै पानी परिरहेको छ ।
कहिलेबाट मौसममा सुधार हुन्छ ? यसपालि नेपालमा मनसुन ढिलो शुरू भएर सकिने समय पनि ढिलो भएको वरिष्ठ मौसमविद् पौडेलले बताए । ‘त्यही भएर दशैँमा अहिले पानी परिरहेको हो । हुन त यसअघि दशैँमा पानी नपरेको चाहिँ होइन’, उनले थपे । सामान्यतया नेपालमा अक्टोबर २ तारिखमा मनसुन सकिने गरेको उनी बताउँछन् । न्यून चापीय क्षेत्रको प्रभाव अहिले उत्तर–पश्चिमतर्फ लाग्ने क्रममा पूर्वी नेपालबाट पश्चिमतर्फ सरिरहेको वरिष्ठ मौसमविद् पौडेलले बताए । ‘अबको एक–दुई दिन सुदूरपश्चिम प्रदेशमा सक्रिय हुने पूर्वानुमान छ । आइतबारबाट क्रमिक रूपमा मौसममा सुधार हुने देखिएको छ’, उनले थपे । सम्भवतः त्योसँगै नेपालमा यो वर्षको मनसुन सकिने मौसमविद्हरूको अनुमान छ । ‘त्यो बेलासम्म पानी पर्ने र रोकिने क्रम चाहिँ चलिरहने देखिन्छ’ पौडेलले पूर्वानुमानबारे भने ।
आगामी २४ घण्टाबारे पूर्वानुमान के छ ? वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही, गण्डकी प्रदेशका थोरै, वागमती प्रदेश मधेश प्रदेश र प्रदेश नं १ का कतिपय स्थानमा ठूलो वर्षाको सम्भावना छ । ठूलो वर्षाको सम्भावनाबीच भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै सडक यातायता र हवाईसेवा समेत प्रभावित हुनसक्ने महाशाखाले जनाएको छ । प्रतिकूल मौसमका कारण थुप्रै आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानहरू प्रभावित भएको अधिकारीहरूले बताएका छन् । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अधिकारीहरूले अनुरोध समेत गरेका छन् । बाढी पूर्वानुमान महाशाखाले जनाएअनुसार अहिले बबई र पश्चिम राप्ती नदीमा पानीको सतह खतराको तहमा पुगेको छ । विभिन्न ठाउँमा देशका ठूला नदीहरू वागमती, नारायणी र महाकालीमा पानीको सतह बढ्ने क्रममा रहेको उसले जनाएको छ । केही साना नदीमा पानीको बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुनसक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई सजग रहन अधिकारीहरूले अपील गरेका छन् ।