सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । देशको राजधानी काठमाडौँमा चिसोपना बढेको छ । मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेशसभाको निर्वाचनका कारण राजनीति तातिए पनि राजधानी काठमाडौँलगायत कतिपय स्थानमा चिसो बढेको छ । त्यसो त, नेपालमा मनसुन जारी छ । यो वर्षको मनसुन अक्टोबर २ तारिखसम्मका लागि पूर्वानुमान गरिएपनि बङ्गालको खाडी आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले मनसुन सकिने अवस्थामा प्रभाव प¥र्यो । जसका कारण मनसुन झण्डै दुई साता ढिला गरी बाहिरिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आखिर किन चाँडै चिसो बढ्यो त ! महाशाखाका मौसमविद् हिरा भट्टराई भन्छिन्, “जाडो सुरु भएको छैन अहिलेको विकसित मौसमी प्रणालीले काठमाडौँमा केही चिसो महशुस गरिएको छ । घाम खुलेर लागेपछि व्यालेन्समा आउँछ तापक्रम ।” उक्त मौसमी प्रणालीका कारण एक सातादेखि देशभर बदली र वर्षा गराएको छ । दुई दिनयता मनसुन देशको पश्चिमी क्षेत्रमा केन्द्रित छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । ती प्रदेशका केही स्थानमा भारी वर्षा पनि मापन गरिएको छ । पछिल्ला दिनमा निरन्तरको वर्षाका कारण काठमाडौँमा केही चिसो महशुस गरिएको मौसमविद् भट्टराईले बताइन् । उनले भनिन्, “बदली र वर्षाका कारण घाम नलागेकाले चिसो बढेको देखिन्छ तर अहिले जाडो याम सुरु भएको होइन । लगातारको वर्षाले खुलेर घाम नलागेकाले पनि चिसो बढेको हो ।” मनसुन सकिएर ‘पोष्ट मनसुन’को समयपछि सामान्यतया जाडो सुरु हुन्छ । अहिले मनसुन सकिने क्रममा छ । नेपालमा नोभेम्बर, डिसेम्भर र जनवरी तीन महिना जाडो याम मानिन्छ । “जाडो सुरु भइसकेको अवस्था हैन, दुई तीन दिन ठूलो पानी प¥र्यो पानी परेपछि तापक्रम तल झर्छ । सूर्यको किरण नपरेर पानी मात्रै आइराख्दा तापक्रम घट्छ । आजदेखि घाम लाग्न थालेको छ । घामलाग्दा पनि तापक्रम बढेन भने बल्ल जाडो बढेको भन्न मिल्छ । काठमाडौँमा अधिकत तापक्रम ३१ देखि ३४ डिग्रीसम्म पुगेको थियो । पछिल्लो वर्षाले एक्कासी अधिकतम र न्यूनता तापक्रम घटेकाले चिसो बढेको जनाइन्छ । विगत तीन दिनयता काठमाडौँका न्यूनतम १७ र अधिकतम २६ डिग्री सेल्सियस हाराहारी रहेको छ । यद्यपि, आज विहानैदेखि काठमाडौँमा घाम लागेकाले तापक्रम बढेर न्यानो हुने अनुमान गरिएको छ । केही दिनयतादेखि काठमाडौँमा बिहान र बेलुका बढी चिसो महशुस गरिएको छ ।
यी क्षेत्रमा वर्षा भइरहेको छ हाल नेपालमा बङ्गालको खाडी र आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीका कारण बदली र वर्षा गराएको महाशाखाले जनाएको छ । मौसमविद् भट्टराईका अनुसार अहिले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । दाङमा पछिल्लो एक घण्टामा २५ मिलिमिटर वर्षा भएको छ । बर्दियाको राजापुरलगायत क्षेत्रमा वर्षा भइरहेको छ । त्यहाँ १६ मिलिमिटर वर्षा मापन गरिएको छ । कर्णाली प्रदेशको अछाम, सुर्खेतलगायत स्थानमा वर्षा भइरहेको हो । त्यस्तै अहिले गण्डकी प्रदेशका पूर्वी भेग र प्रदेश १ को विराटनगरमा सामान्य मौसम बदली रहेको छ । बाँकी भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित
केही दिनदेखिको लगातारको वर्षाका कारण कैलाली, कञ्चनपुरलगायतका जिल्लाको जनजीवन प्रभावित भएको छ । मानिसहरु गन्तव्यसम्म पुग्न सकेका छैनन् । गत बुधबारदेखि लगातार वर्षा भइरहेको छ । घरबाट बाहिर निस्कन सक्ने अवस्था छैन । वर्षाका कारण जिल्लाका केही स्थानमा घर डुबानमा परेका छन् भने कतिपयका घरभित्र पानी पसेको छ । दैनिक ज्यालामजदूरी गरी खानेको जीवन झनै कष्टकर भएको छ । वर्षाले काममा जाने वातावरण बनेको छैन । कतिपयको मजदूरी गरेर नै परिवारको लालनपालन गर्नुपर्ने अवस्थाका श्रमिक मारमा परेका छन् । मजदूरी गरी घरिपरिवार धान्दै आएका धनगढी उपमहानगरपालिका–२ का किशन नेपालीले वर्षाका कारण केही दिनदेखि काम गर्न नगएको दुःखेसो गरे । घर निर्माणको काममा ज्यादारी गर्दै आएका नेपालीले वर्षाका कारण चार दिनदेखि आफू काम गर्न नगएको बताए । “काम ठप्प भएको छ अझै कति दिन काम बन्द हुने हो, आफूले सोही कामबाट परिवार पाल्दै आएका थिएँ”, उनले भने । विद्युतीय रिक्सा चलाएर परिवारको खर्च धान्दै आउनु भएका धनगढीकै नवराज साउदले केही दिनदेखिको वर्षाले रिक्सा चलाउन समस्या भएको बताए । “पानी दिनहुँ लगातार परिराखेकाले मानिसको आवतजावतमा कमी आएको छ, कतिपय सडकमा पानी भरिएर तलाउ भएका छन् भने कतिपय सडक पूरै हिलाम्य भएका छन्”, उनले भने, “जसले गर्दा रिक्सा गुडाउन पाइएको छैन ।” पर्व मनाउन घर आएका पनि गन्तव्य स्थानमा पुग्न सकिरहेका छैनन् । बडादसैँ मनाउन देशका विभिन्न स्थानबाट आ–आफ्नो घर आएकाहरु गन्तव्यमा फर्कन सकेका छैनन् । धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका हेमराज जोशीले आफू दसैँ मनाउँनका लागि काठमाडाँैबाट घर आएको थिएँ, टीकाको भोलिपल्टै फर्कनुपर्ने काम थियो तर निरन्तर वर्षा हुनथालेपछि आफू रोकिएको सुनाए । त्यस्तै बुधबारदेखि लगातार वर्षा भइरहेकाले यहाँका किसानमा चिन्ता छ । किसानका खेतमा धान पाकेर लटरम्मै भएको छ । कतिपयले धान काटिसकेका छन् भने कतिपयले काट्न सुरु गरेका छन् । गतवर्षको झरीले धान भित्र्याउने बेला भएको धान डुबानमा परी कैलाली, कञ्चनपुरलगायत जिल्लामा ठूलो क्षति भएको थियो । वर्षाले धान उठाउन त के किसानले धानको बीउसमेत जोगाउन पाएका थिएनन् । कतिपयले खेतमा धान काटेका थिए भने कोहीले थ्रेसर गर्न ठिक्क पारेर जम्मा गरेका थिए । उठाउनै नपाएर पूरै धानबालीमा क्षति भएको थियो । खेतमै धान उम्रिएर जमरा झै भएको थियो । घरपालुवा पशुचौपायाको आहाराको लागि प्रयोग गरिने परालसमेत खेतमै कुहिएको थियो । सोही अवस्था यसपाली पनि दोहोरिने होकी भन्ने चिन्ता किसानका मनमा बढ्दै गएको छ । लगातारको वर्षाका कारण धनगढीलगायतका आसपासका क्षेत्र पूरै जलमग्न भएका छन् ।