सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । हालसम्म डेङ्गुका कारण ४४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनस¬ङ्ख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म ३३ हजार नौ सय ७५ जनामा सो रोग सङ्क्रमण पुष्टि भएको छ । हालसम्म सातै प्रदेशका ७६ जिल्लामा डेङ्गु फैलिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार पाँच सय ४६ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आज २६ कोरोना सङ्क्रमण मुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ५६९ छ । हालसम्म नेपालमा नौ लाख ९९ हजार नौ सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ लाख ७८ हजार ३२४ जना सङक्रमणमुक्त भएका छन् । हालसम्म १२ हजार १८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
तनहुँमा ९९ जनामा डेङ्गु सङ्क्रमण
तनहुँ । .तनहुँमा केही दिनयता ९९ जनामा डेङ्गु पोजेटिभ देखिएको छ । चार सय चारजनाको स्वास्थ्य परीक्षण गरिएकामा उनीहरूमा पोजेटिभ देखिएको हो । तीन सय पाँचजनामा भने नेगेटिभ देखिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । डेङ्गु रोगका बिरामीको सङ्ख्या बढ्दै गएपछि सचेत बन्नुपर्ने देखिएको छ । अन्य रोगका तुलनामा डेङ्गुका बिरामी बढ्दै जाँदा अस्पतालमा शय्याको अभाव हुन थालेको छ । गत शनिबार मात्रै ११ जनामा डेङ्गु पोजेटिभ देखिएको दमौली अस्पतालका इमरजेन्सी कक्षका अहेव राजेश क्षेत्रीले जानकारी दिए । अस्पतालमा दैनिक दुई सयको हाराहारीमा स्वास्थ्य परीक्षणका लागि आउने बिरामीमध्ये एक सयदेखि एक सय पचास जनासम्म ज्वरोका हुने गरेका छन् । डेङ्गु हुँदा मानिसमा उच्च ज्वरो आउने, ज्यान दुख्ने र बान्ता गर्ने लगायतका लक्षणहरू देखिन्छ । पन्ध्र शय्या क्षमताको अस्पतालमा ४० शय्यासम्म राखेर सेवा दिँदा पनि शय्या अपुग भएको उनले बताए । डेङ्गुबाट बच्नका लागि टोलटोलमा गएर अझै मानिसहरूमा सचेतना फैलाउनुपर्ने अवस्था देखिएको अस्पतालले जनाएको छ ।
ज्वरो आएमा पारासिटामोल प्रयोग गर्ने, झोलिलो पदार्थ सेवन गर्ने र प्रशस्त मात्रामा पानी पिउने र आराम गर्न बिरामीलाई सुझाव दिने गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट अभिनन्दन तिवारीले जानकारी दिए । उनका अनुसार आफ्नो घर वरिपरि सफा राख्ने, लामखुट्टे न्यूनीकरण गर्ने, सुत्दा झुलको प्रयोग गर्ने, पानी जम्न नदिनेलगायतका कुरामा ध्यान दिनुपर्ने हुन्छ ।