मुगुमा पहिरोमा परी आठ जनाको मृत्यु, तीन जना बेपत्ता

मंगलबार, असोज २५, २०७९

मुगु । मुगुमा पहिरोमा परी आठ जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता छन् । जिल्लाको छायाँनाथ रारा नगरपालिका–११ सालिम गाउँमा आज पहिरोले घर पुरिँदा आठ जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

लगातार वर्षाका कारण पहिरोको डरले आठ जना एउटै घरमा बसेका थिए । मृत्यु हुनेमा चार महिला र चार पुरुष रहेका प्रनाउ हमालले बताए । उनीहरूको सनाखत हुन सकेको छैन । पहिरोमा परी तीन जना अझै बेपत्ता छन् । बेपत्ताको खोजीका लागि सदरमुकाम गमगढीबाट प्रहरी टोली घट्नास्थलमा पुगेको छ । वर्षा नरोकिएकाले खोजबिनमा समस्या भएको हमालले बताए । घट्नास्थल सदरमुकामबाट तीन घण्टाको पैदल दूरीमा छ ।
पहिरो गएको सालिम गाउँमा झण्डै ३५ परिवारको बसोबास रहेको छ । पहिरो आएपछि उनीहरू सबै सुरक्षित स्थानतर्फ लागेको प्रनाउ हमालले जानकारी दिए । जिल्लाका धेरैजसो ठाउँमा अत्यधिक वर्षाले क्षति पुर्याएको छ । जतातततै पहिरो गएको छ । बाटोघाटो अवरुद्ध तथा निरन्तर बाढी र पहिरो आएका कारण प्रहरी उद्धारमा खटिन नसकेको हमालको भनाइ छ ।
यसैबीच उद्धार तथा राहतका लागि सुर्खेतबाट आउने भनिएको हलिकप्टर सोमबार अबेर साँझसम्म गमगढी आउन नसकेको प्रहरीले जनाएको छ । छिमेकी जिल्ला कालिकोटमा समेत पहिरोमा परेकाहरूको उद्धार गर्न आएको हेलिकप्टर उतैबाट सुर्खेत फर्किएको बताइएको छ । मङ्गलबार बिहानै उद्धार र राहतका  लागि हेलिकप्टर आउने प्रहरीले जनाएको छ । जिल्लामा विभिन्न खोलाबाट उत्पादित बिजुली बन्द छ । पहिरोले मुहानै बगाएपछि जिल्लावासी बिजुलीविहीन अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । जिल्लाामा टेलिफोन सेवासमेत अवरुद्ध छ ।

पहिरो स्थलको अवलोकनका लागि जलस्रोत मन्त्रालयको टोली चन्द्रागिरिमा

अघिल्लो साता परेको अविरल वर्षाका कारण चन्द्रागिरि नगरपालिकाका थुपै्र स्थानमा भौतिक क्षति पुगेपछि त्यसको थप अध्ययन गर्न सङ्घीय सरकारको टोली प्रभावित स्थानमा पुगेको छ ।
नगरपालिका–३ स्थित देउराली, माथिल्लो मसिने, तल्लो मसिने र ढुङ्गेनीमा बढी नोक्सान भएको पालिकाकी वरिष्ठ अधिकृत भद्रा अर्यालले बताइन् । “इन्द्रथान जाने सडक र कङ्काली माध्यमिक विद्यालयको आवसीय भवन परिसरमा सर्वाधिक क्षति भएको छ”, निरीक्षणपछि रासससँग कुरा गर्दै उनले भनिन् ।
निरीक्षणमा उनीसहित जलस्रोत तथा ऊर्जा मन्त्रालयका प्राविधिकहरू सहभागी थिए । विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पनेरुले आवासीय भवन पछाडिको करिब ७५ फिट जमिन भासिँदा भवन नै जोखिममा परेको बताए । “थप क्षति हुन नदिन तत्काल घेराबारा लगाउनुपर्ने स्थिति छ”, उनले भने ।
नगरपालिका–१३ र १५ मा डेढ सयभन्दा बढी घर डुबानमा परेको पनि अर्यालले बताइन् ।
खासगरी खोला किनारका बस्तीहरूमा १७ वर्षयताकै सर्वाधिक ठूलो बाढी आएका कारण यस्तो डुबान भएको उनको भनाइ छ । पानीले घना रूखबिरुवा भएका स्थानहरूमा समेत पहिरो गएका र कतिपय पहिराको सम्भावना नभएका बस्तीमा समेत घर जोखिममा पर्ने गरी पहिरो गएको उनले बताइन् ।
नगरपालिकाको एक महत्पूर्ण पर्यटकीय स्थल इन्द्रथान जाने बाटोका दर्जनौँ स्थानमा पहिरो गएको र खुलाउनका लागि डोजर प्रयोग गरिएको जानकारी पनि अधिकृत अर्यालले दिइन् । “आजसम्म पनि सबै स्थानको पहिरो पन्छाउन सकिएको छैन । डोजरको सहायताले आवागमन खुलाउन खोजिरहेका छौँ”, उनले भनिन् ।
बर्सातकै क्रममा देउरालीमा पहिरो जाँदा एकै घरका तीनजनाको मृत्यु भएको थियो । नगरपालिकाले मृतकका परिवारलाई काजकिरिया खर्च एवं तत्कालीन राहतका रूपमा रु ५० हजार दिने नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिए । राहत र उद्धारका सबै व्यवस्थापन नगरपालिकाले मात्र गर्न नसक्ने भएकाले सङ्घीय सरकारलाई पत्राचार गरिएको पनि उनले बताए ।–रासस

 

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  ०४:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार