कर्णाली प्रदेशमा बाढीपहिराबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुग्यो, २२ जना अझै बेपत्ता

४८० घर परिवार विस्थापित
बुधबार, असोज २६, २०७९

सुर्खेत/भेरीगङ्गा । कर्णाली प्रदेशभर बाढीपहिरामा परी मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । प्रदेश प्रहरी कार्यालय कर्णालीका अनुसार प्रदेशभर मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको हो । सबैभन्दा धेरै जुम्लामा नौ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।
एनका अनुसार मुगुमा आठ, कालिकोट र हुम्लामा चार-चार, जाजरकोटमा तीनको मृत्यु भएको छ । डोल्पा र सल्यानमा दुई-दुई जनाको मृत्यु भएको छ भने दैलेखमा एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुर्खेत र रुकुम पश्चिममा भने मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।
२२ जना अझै बेपत्ता भएको र उनीहरुको खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । बेपत्ता हुने सबैभन्दा धेरै कालिकोटका एक प्रहरी जवानसहित २० रहेका छन् । जुम्लाका दुई र दैलेखका एक जना रहेका छन् । बाढीपहिरामा परी प्रदेशभर २१ घाइते भएको विवरण प्रहरीको तथ्याङ्कमा छ । जसअन्तर्गत कालिकोटका मात्रै सात छन् भने मुगु र हुम्लाका पाँच÷पाँच घाइते भएका छन् । जुम्लाका दुई, रुकुम पश्चिमका एक र जाजरकोटमा एक जना घाइते भएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सयौँ घर परिवार विस्थाापित
लगातारको वर्षाका कारण कर्णाली प्रदेशभर चार सय ८० घर परिवार विस्थापित भएका छन् । प्रहरीको तथ्याङ्कअनुसार सबैभन्दा धेरै दैलेखमा एक सय तीन घर परिवार विस्थापित भएका छन् । मुगुका एक सय ७८ घर परिवार विस्थापित हुँदा जुम्लाका ८६, कालिकोटका ४८, हुम्लाका ४०, सल्यानका नौ, सुर्खेतका आठ घर परिवार विस्थापित भएका हुन् ।
डोल्पाका चार घर परिवार विस्थापित हुँदा जाजरकोट र रुकुम पश्चिमका दुई÷दुई घर परिवार विस्थापित भएका छन् । प्रभावित जिल्लामा जिल्ला सुरक्षा समितिले समन्वय गरी नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बललगायत सुरक्षाकर्मी परिचालन गरी उद्धार र राहत कार्य भइरहेको प्रवक्ता श्रेष्ठले बताए ।
घर क्षति र विस्थापितलाई लागि प्रदेश सरकारले राहत पठाउने प्रक्रियामा सुरु गरेको जनाएको छ । घाइतेको उद्धारको लागि हेलिकप्टर परिचालन भइरहेको जनाइएको छ ।

बाढी पहिरोबाट भएको घटनाप्रति प्रदेश प्रमुख परियारद्वारा दुखः व्यक्त

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले प्रदेशका विभिन्न जिल्लामा बाढी पहिरोमा परी मृत्यु र बेपत्ता भएकाप्रति दुखः व्यक्त गरेका छन् ।
उनले शोक वक्तव्य जारी गर्दै प्रदेशका विभिन्न जिल्लामा भएको विपद्का घटनाले आफूलाई दुःखी तुल्याएको बताएका हुन् । वक्तव्यमा उनले भनेका छन्, “यसवर्ष अविरल बेमौसमी वर्सातका कारण कालिकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, दैलेख, सल्यान, सुर्खेतलगायत देशैभर मानवीय क्षतिसँगसँगै पाकिसकेका बालीनालीलगायत ठूलो भौतिक संरचनाहरूमा ठूलो क्षति पु¥याएको छ । कर्णालीमा बर्सेनि हुने यस्ता घटनाले मलाई अत्यन्त दुखित तुल्याएको छ ।”
कालिकोट तिलागुफा–४ राँचुल्ली गाउँमा मलामी गएकाहरूमध्ये पहिरो र बाढीमा परी निर्वाचित वडाध्यक्षसहित १३ जनाको मृत्यु भएको प्रति उनले दुःख व्यक्त गरेका छन् । साथै प्रदेश प्रमुख परियारले मुगु, हुम्ला, दैलेख, सल्यानलगायतका जिल्लामा बाढी पहिरोमा परी भएको मृत्युबाट आफूलाई स्तब्ध बनाएको बताएका छन् । प्रदेश प्रमुख परियारले दुःखको यस घडीमा तत्काल उद्धार, राहत तथा पुनःस्थापना एवं जोखिममा परेका बस्तीको स्थानान्तरणमा तीनै तहका सरकार तथा सम्बद्ध सबै पक्षको ध्यानाकर्षणसमेत गराएका छन् ।

बाढी प्रभावितको उद्धारमा नेपाली सेना

केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी÷पहिरोबाट जनजीवन प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्दार गरिरहेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कैलालीको भजनी नगरपालिका–३ पक्रेडाँडाको डुबान प्रभावित इलाकामा स्थानीयको उद्दार गर्नुका साथै राहत सामग्री वितरण गरिएको छ ।  
बाँकेको डुडुवा गाउँपालिका, वडा नं. १, खडैचा कृषि चौफेरी गाउँमा राप्ति खोला र डुडुवा खोलाको पानी पसेर डुबानबाट प्रभावित स्थानीयको उक्त गाउँपालिकासँग समन्वय गरी उद्धारका साथै खाना र पानीसमेत उपलब्ध गराएको सेनाले जनाएको छ । कैलालीको विभिन्न डुबान प्रभावित इलाकामा स्थानीय र उनका सामग्री स्थानान्तरण गर्नुका साथै सेनाले बाढीको कारण हुलाकी राजमार्गमा आवतजावत गर्न समस्यामा परेका यात्रीहरुलाई सकुशल उद्धार गरेको छ । जुम्ला र कालिकोटामा सेनाले हेलिकप्टरमार्फत चार जनाको उद्दार गरि सुर्खेतसम्म पु¥याएको छ ।
सेनाले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा, गायत्री टोल आसपासको क्षेत्र डुबानमा परि घरभित्र फसेका करिब ८२ घरधुरीका स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको थियो । डुडुवा गाउँपालिका वडा नं १ खडैचा, चौफेरी गाउँका डुबान प्रभावित स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जानकारी दिइएको छ । बर्दियाको गुलरिया नगरपालिका–८ थपुवामा बबई नदीमा आएको बाढीले कटान गरी जोखिममा रहेको करिब ५० मिटर बाध निर्माण गरिएको छ ।

प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  ०३:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार