सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । पछिल्लो २४ घण्टामा पहिराका कारण विभिन्न जिल्लामा १६ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले बुलेटिन सार्वजनिक गर्दै सोमबारदेखि आजसम्मको २४ घण्टाको समयमा कालिकोट, मुगु, हुम्ला र बाजुरामा गरी १६ को मृत्यु हुनुका साथै १७ बेपत्ता भएको उल्लेख गरेको छ । दाङ र जुम्लामा अविरल वर्षाका कारण एक जनाको मृत्यु र एक घाइते भएका छन् । आगलागीबाट भक्तपुरमा एक घाइते भएका प्राधिकरणले जनाएको छ । पछिल्लो समयमा रामेछाप जिलाको मन्थली विमानस्थलमा सबैभन्दा बढी (४० दशमलव चार मिमि) पानी परेको जनाइएको छ । वैशाखयता दुई हजार दुई विपद्जन्य घटनामा २७६ को मृत्यु र ३३ बेपत्ता भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । यसपालि पहिरोका कारण बढी मानिसले ज्यान गुमाएका छन् ।
जुम्लामा बाढीपहिराले १० को मृत्यु, एक बेपत्ता
एक सातादेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट जुम्लामा १० जनाको मृत्यु भएको छ । एक जना अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए । विपद् व्यवस्थापन समितिको बैठकमा जिल्लामा विपद्ले पारेको धनजनको क्षतिबारे जानकारी दिँदै उनले कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर भत्कँदा आठ जनाको मृत्यु भएको बताए । प्रजिअ केशरीले भने, “गुठीचौर गाउँपालिकामा एक र हिमा गाउँपालिका एक जनाको मृत्यु भएको छ । हिमा गाउँपालिकाकै एक जना अझै बेपत्ता रहेका छन् । सदरमुकाम खलङ्गामा विद्युत्, सञ्चार एक सातादेखि अवरुद्ध छ ।” उनका अनुसार जिल्लाभर ८५ भन्दा बढी घर पूर्णरूपमा र दुई सयभन्दा बढी घर आंशिकरूपमा क्षति भएको छ । अहिले सुरक्षा निकाय परिचालन गरी क्षतिपूर्तिको एकिन तथ्याङ्क सङ्कलन गर्ने कामदेखि राहत र उद्धारमा सबै निकाय लागि परेको उनले बताए । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको जानकारी दिए । उनका अनुसार अझै दुई सातासम्म राजमार्ग सञ्चालनहुने छैन । सडक डिभिजन कार्यालयले सडकमा डोजर लगाएको छ । नाग्म गमगडी सडकखण्ड पनि पूर्णरूपमा अवरुद्ध भएको कार्यालयले जनाएको छ । तीन सय घर परिवारलाई राहत दिने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । घरवारविहीन परिवारलाई उचित राहत र बासको व्यवस्थापन गर्न स्थानीय तहले विशेष भूमिका खेल्नुपर्ने जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले बताउनुभयो । स्थानीय तहको विपद् व्यवस्थापन समितिसँग सहकार्य र समन्वय गर्न जिल्ला विपद् व्यवस्थापन समितिलाई सुझाव दिइएको चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतले जानकारी दिए । सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले पालिकाभित्रका ९९ घर पूर्णरूपमा क्षति भएको जानकारी दिए । सिञ्जाका सबै वडामा भएको क्षतिपूर्तिको तथ्याङ्क सङ्कलन गर्न वडाध्यक्षलाई खटाइएको उनको भनाइ थियो । अविरल वर्षाले धानबालीमा पारेको क्षतिबारे स्थानीय तहका कृषि शाखालाई सही तथ्याङ्क सङ्कलन गर्न लगाइएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।
पहिराले चार घर र एक विद्यालयमा क्षति
पहिराले बैतडीका चार घर र एक विद्यालयमा क्षति पु¥याएको छ । लगातारको वर्षाका कारण खसेको पहिराले जिल्लाको सुर्नया गाउँपालिका–७ बान्नी टोलका रामबहादुर कुँवर र हर्कबहादुर कुँवरका छ÷छ कोठे घर भत्किएका हुन् । घर माथिबाट खसेको पहिरोले घर भत्किएका हुन् । पहिरोले मानवीय क्षति भने नभएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । यस्तै पत्थरले छाएका घर भत्किँदा गोठमा बाँधेका पशुचौपाया घाइते भएको बताइएको छ । पहिरोले घर भत्किँदा गोठमा बाँधेका दुई भैँसी, दुई गाई र १० बाख्रा पनि घाइते भएका जनाइएको छ । पहिरोले घर भत्किएर विस्थापित परिवार आफन्तको आश्रयमा बसेका स्थानीय लोकबहादुर कुँवरले जानकारी दिए ।
पहिराकै कारणले सिगास गाउँपालिका–५ हरडाखानीका रामसिंह धामी र प्रेमसिंह धामीको घरमा पहिरोले क्षति पु¥याएको छ । स्थानीय पद्म साउँदका अनुसार पहिरोले दुवै जनाको घर पूर्णरूपमा क्षति भएको छ । पहिरोले घर भत्काएपछि अहिले धामी परिवार छिमेकीको शरणमा बस्दै आएका छन् । वर्षाका कारण एक विद्यालय भवन पनि भत्किएको छ । पाटन नगरपालिका–३ बुङ्डास्थित सिगास आधारभूत विद्यालयको तीन कोठे भवन भत्केको हो । वर्षाकै कारण घरको आँगनबाट पहिरो जाँदा दोगडाकेदार–४ ढाणका अम्बादत्त भट्टको घर जोखिममा परेको खोचलेक प्रहरी चौकीका इन्चार्ज मानसिंह पन्तले बताउनुभयो । यस्तै दोगडाकेदार–३ कलौनामा पहिरोले खेत बगाएको छ । पाँच दिनदेखिको वर्षाले यहाँको जनजीवन प्रभावित बनेको छ ।
डुबानका कारण धनगढी विद्युत् कार्यालयमा काम ठप्प
वर्षापछि जलमग्न भएको नेपाल विद्युत् प्राधिकरणको धनगढीस्थित वितरण केन्द्रमा दैनिक काम ठप्प भएको छ । दसैँको बिदा सकिएपछि आइतबारदेखि सबै कार्यालयको काम सञ्चालन भए पनि विद्युत् प्राधिकरणको धनगढी वितरण केन्द्र परिसरमा पानी जमेका कारण अझै काम सुरु हुन नसकेर ठप्प रहेको हो । कार्यालय परिसरमा तीन÷चार फिटसम्म पानी जमेको छ । विद्युत् महसुल बुझाउन आज कार्यालय पुगेका सेवाग्राहीहरू कार्यालय बन्द देखेपछि महसुल नबुझाई फर्किरहेका देखिन्थे । डुबानमा परेको कार्यालयमा महसुल बुझाउन नपाई फर्किरहेका सेवाग्राही माया भट्टले पानी निकासका लागि उचित व्यवस्था गर्न नसकेर कार्यालयको काम ठप्प पार्नु लाचारीपन भएको बताए । उनले भने, “विद्युत् प्राधिकरणको कार्यालय डुबानमा परेको पाँच दिन हुँदासम्म पनि निकासका लागि पहल नहुनु धनगढी उपमहानगरपालिकाका प्रमुख र विद्युत् प्राधिकरणका प्रमुखको अक्षमता हो ।” वर्षायाममा सो कार्यालयमा जम्ने पानी निकासका लागि गतवर्ष उपमहानगरपालिका कार्यालयको पहलमा विद्युत् कार्यालय नजिकको सडकमा ह्युमपाइप बिछ्याइएको थियो । तर ह्युमपाइपबाट जमेको पानी निकास हुन नसकेको प्राधिकरणका कर्मचारीले बताएका छन् । दसैँ बिदामा घर जानुभएका वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डल अझै कार्यालयमा फर्किनु भएको छैन । केन्द्रका निमित्त प्रमुख रोशनकुमार ठाकुरले कार्यालयमा देखिएको डुबानको समस्याबारे जिल्ला प्रशासन कार्यालय कैलाली, धनगढी उपमहानगरपालिका र विद्युत् प्राधिकरणको अत्तरियास्थित प्रादेशिक कार्यालयमा जानकारी गराइएको बताए ।
“जमेको पानीको निकासको व्यवस्था सम्बन्धित निकायले गरिदिनुपर्ने हो”, उनले भने, “डुबानले कार्यालयका कार्यकक्षमा पानी जमेकाले महसुल बुझ्ने काम, नयाँ ग्राहकको काम, मिटर रिडिङलगायतको काम बन्द छ ।” कार्यकक्षमा पानी जमेकाले बसेर काम गर्नसक्ने अवस्था नरहेको र जमेको पानीमै काम गर्दा विद्युत् प्रवाहको जोखिम देखिएकाले कार्यालयको कार्यकक्षमा विद्युत् प्रवाहसमेत बन्द गरिएको छ । सेवाग्राहीका घर, पसल, उद्योग, कलकारखानामा भने विद्युत् आपूर्ति नियमिति रहेको निमित्त प्रमुख ठाकुरले बताए ।
“डुबानका कारण कार्यालय बन्द गर्नुपर्ने अवस्था आउँदा काम अझै सुरु हुन सकेको छैन”, अर्का एक कर्मचारीले भने, “जमेको पानीको निकासका लागि आजसम्म कसैबाट पहल भएको छैन ।”
विपद्मा सेनाको उद्धार कार्य
विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरोले जनजीवन प्रभावित इलाकामा नेपाली सेनाको जनशक्ति तथा स्रोत साधन प्रयोग गरी विभिन्न व्यक्तिको उद्धार गरिएको छ । नेपाली सेनाले बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका¬–२० राँझा, गायत्री टोल आसपासका क्षेत्र डुबानमा परी घरभित्र फसेका करिब ८२ घरधुरीका स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा लान सफल भएको जनाएको छ । नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सोही क्षेत्रको डुडुवा गाँउपालिका¬–१ खडैचा, चौफेरी गाउँका डुबान प्रभावित स्थानीय बासिन्दालाई पनि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । त्यहाँको राप्ती नदी र डुडुवा खोलाको पानी पसेर डुबानबाट प्रभावित स्थानीयवासीको उद्धारका साथै खाना र पानीको व्यवस्थापन गरिएको सेनाले जनाएको छ । यस्तै बर्दिया जिल्लाको गुलरिया नगरपालिका¬–८, थपुवा इलाका बबई नदीमा आएको बाढीले कटान गरी जोखिममा परेको करिब ५० मिटर बाँध बोरामा माटो भरेर बाँध बनाइएको आज सेनाले एक सूचना जारी गरी जनाएको छ । उता कैैलाली जिल्लाको भजनी नगरपालिका–३ पक्रेडाँडाको डुबान प्रभावित इलाकामा स्थानीयवासीको उद्धार गर्नुका साथै राहत सामग्रीसमेत वितरण गरिएको जनाइएको छ । यस्तै कैलालीको डुबान प्रभावित इलाकामा स्थानीय तथा तिनका अत्यावश्यक सामग्रीहरु सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै बाढीका कारण हुलाकी राजमार्गमा आवतजावत गर्न समस्यामा परेका यात्रीहरूलाई सकुशल उद्धार गरिएको छ । जुम्ला जिल्लामा पहिरोमा परी घाइते भएकी एक महिला र एक पुरुष तथा कालीकोटका दुई पुरुषलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत ल्याइएको सेनाले जानकारी दिएको छ ।