अलपत्र पर्यटकको तत्काल उद्धार गर्न मन्त्रीको निर्देशन

बुधबार, असोज २६, २०७९
मयुर प्लाई

काठमाडौँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा अलपत्र परेका पर्यटकलाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन् । 
पर्यटन विभागसहित मन्त्रालय मातहतका निकाय र सुरक्षा निकायका अधिकारीलाई मन्त्रालयमा बोलाएर मन्त्री श्रेष्ठले विपद्मा परेका विदेशी नागरिक तथा पर्यटकलाई तत्काल उद्धार गर्न निर्देशन दिएका हुन् । निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण पर्यटक बीच बाटोमै अलपत्र परेका तथा सम्पर्कमा आएका कतिपय पर्यटकलाई उद्धार गरिएको जनाइएको छ । 
अझै हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा पर्यटक अलपत्र भएको सूचना आएपछि मन्त्री श्रेष्ठले उनीहरुलाई तत्काल उद्धारको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । मनाङ, गोरखा, मुस्ताङ र उपल्लो डोल्पालगायत हिमाली क्षेत्रमा पर्यटक पुगेका छन् । निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण पर्यटकबीच बाटोमै अलपत्र परेका हुन् ।

जुम्लाका आठ बस्ती स्थानान्तरण गर्न प्रस्ताव

विपद्को उच्च जोखिममा रहेको भन्दै जुम्लाका आठ बस्ती स्थानान्तरण गर्नुपर्ने प्रस्ताव राखिएको छ । आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सिञ्जा र हिमा गाउँपालिकाका अध्यक्षद्वय पूर्णप्रसाद धिताल र लक्ष्मण शाहीले बस्ती स्थानान्तरणको प्रस्ताव गरेका हुन् । 
सिञ्जा गाउँपालिकाका अध्यक्ष धितालले जोडु, तल्लो भाडगाउँ, चुलेलगाउँ, घोडेङ्गा बस्ती बेलैमा नसारे ठूलो क्षति व्यहोर्नुपर्ने बताए । त्यस्तै, हिमा गाउँपालिकाका अध्यक्ष शाहीले मोफ्ला र पातरखोला बस्तीलाई जतिसक्दो छिटो सार्नुपर्ने अवस्था आएकोले जिल्ला विपद् व्यवस्थापन समितिले यसको पहलकदमी लिन अनुरोध गरे । 
त्यस्तै, तिला गाउँपालिकाको घोडेसिन गाउँ पनि पहिरोको उच्च जोखिममा रहेको छ । उक्त बस्तीलाई समयमै स्थानान्तरण नगरे धनजनको क्षति हुने गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए । कनकासुन्दरी गाउँपालिकाका बारकोटे गाउँलगायतका केही बस्ती उच्च जोखिममा रहेको सरोकारवालाले जनाएका छन् । 
जिल्ला प्रशासन कार्यालय जुम्लाले विपद्बाट प्रभावित यहाँका करिब तीन सय घरपरिवारलाई राहत दिने तयारी गरेको छ । सो क्षेत्रमा ८५ घर पूर्ण क्षतिग्रस्त र दुई सय घरमा आंशिक क्षति पुगेको जनाइएको छ । क्षतिको एकीन विवरण भने पालिकामार्फत लिइने जनाइएको छ ।
 

प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  १४:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार