सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । पश्चिमी क्षेत्रमा झन्डै एक हप्तासम्म परेको झरी रोकिएपछि आजबाट मौसममा सुधार भएको छ । बाढी र डुबानका कारण प्रभावित भएका मुलुकको पश्चिमी क्षेत्रमा आज बिहानैदेखि घाम लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहानैदेखि पश्चिमी क्षेत्रमा घाम लागेको भए पनि मनसुनी प्रणाली कायमै रहेकाले दिउँसो र बेलुकीपख भने क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनका अनुसार तराईमा अब डुबान हुने गरी र बाढी आउने गरी वर्षाको सम्भावना भने हटेको छ । पश्चिमी क्षेत्रका पहाडी जिल्लामा भने झरीले जमिन गलिसकेकाले पहिरोको जोखिम हुनसक्ने पनि मौसमविद्हरुले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज, बिहीबार र शुक्रबार दिउँसो तथा बेलुकाको समयमा मौसम बद्ली भई क्षणिक वर्षा हुन सक्नेछ । आउँदो शनिबारदेखि भने पश्चिमी क्षेत्रसहित देशभरको मौसम पूर्ण रुपमा खुला रहने सो महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको अन्तिमतिर भएको ठूलो वर्षाका कारण यसपटक पश्चिमी क्षेत्रमा धेरै असर परेको छ । नेपालमा मनसुनको अवधि गएको दुई तारिख अर्थात् १६ गतेसम्म मात्रै रहने भनिए पनि त्यसको एकदुई दिनपछि ठूलो पानी पर्न थालेको थियो ।
निरन्तरको वर्षाले पर्वतमा धान उत्पादन घट्ने बेमौसमको लगातारको वर्षाका कारण पर्वतमा यस वर्ष धान उत्पादनमा कमी आउने भएको छ । वार्षिक झन्डै २७ हजार मेट्रिक टन धान उत्पादन हुने गरेकामा वर्षाको प्रभावले यस वर्ष केही कम हुन सक्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र पर्वतकी प्रमुख मनिता थापाले बताइन् । असारको सुरुआततमै रोपिएको धानमा बाला लागिसकेको भए पनि वर्षाको अभावले ढिला गरी रोपिएको ठाउँमा धानको फूल लाग्ने बेला वर्षाले असर गर्ने उनको भनाइ छ । भारी वर्षा हुँदा धानमा लागेको फूल झर्दा परागसेचन हुन नपाउने तथा बाला लागिसकेको धान ढलेर पानीमा डुबेको अवस्थामा बाला कुहिने भएकाले औसतभन्दा कम धान उत्पादन हुन सक्ने अनुमान गरिएको हो ।
उनका अनुसार विश्वमा करिब तीन चौथाइभन्दा बढी फूल फुल्ने बिरुवालाई परागसेचनको आवश्यकता पर्दछ । करिब ७५ प्रतिशतभन्दा बढी फूलहरूको परागसेचन कुनै न कुनै जीवजन्तु वा कीराहरूले गर्ने गर्दछन् । जिल्लाका कतिपय कृषकहरूले वर्षासँगैको हावाहुरीले धान ढलाएको बताएका छन् । वर्षा भइरहेको बेलामा सामान्य हावासमेत चलेका कारण डाँडामा रहेको खेतमा लगाइएको धान ढलेको कृषकको भनाइ छ । पसाइसकेको धान ढलेको भएमा त्यसको बाला कुहिने भएकाले धान उत्पादनमा कमी आउन सक्ने कार्यालय प्रमुख थापाको भनाइ छ । “ठाडो अवस्थामा रहेको र फूल खेल्ने बेलाको धानको फूल झर्दा परागसेचनको अभावले उत्पादनमा कमी आउँछ । पसाइसकेको धान भएमा ढलेको धानको बाला पानीमा डुब्दा बोटमा नै बाला कुहिन्छ”, उनले भने, “कतिपय कृषकहरूले वर्षाका कारण धानमा प्रभाव परेको छ । दसैँको बेला पनि भएकाले सबै विवरणहरू आइसकेका छैनन् ।” कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक वासुदेव रेग्मीका अनुसार ११ जिल्ला रहेको गण्डकीका नौ धान उत्पादन हुने गरेको छ । मुस्ताङ र मनाङमा भने धान खेती हुने गरेको छैन । सबै जिल्लामा गरेर यस वर्ष कूल एक लाख तीन सय हेक्टरभन्दा बढी क्षेत्रफलमा धान खेती लगाइएको अनुमान छ । देशभर नै एकनासले वर्षा भएका कारण सबै जिल्लाको धान खेती वर्षाका कारण प्रभावित भएको उनले बताए । निर्देशक रेग्मीका अनुसार गण्डकीमा सावित्री, राम धान, च्याम्पियन, मकवानपुर, आपझुत्ते, मानिसरा, मनसुली, अनदी, कालो मसिनो, यु।एस, महाराजा, होलसी, बहुबुडी, हर्दिनाथ, जेठो बुढो, पहेँले, गुर्दी, एक्ले, खुमल, गौरिया, झिनुवा, बिरमफूल, पोखरेली जेठो बुढो, गुर्जा, लुम्ले, माछापुच्छ«े जर्नेली, सुगन्ध, हाइब्रिडलगायत जातका धान लगाउने गरिएको छ ।