दसैँपछिको दशाः कर्णालीमा अर्बौंको क्षति

बुधबार, असोज २६, २०७९

कर्णाली । मुलुकभर परेको अविरल वर्षाका कारण यसपालिको दसैँ कार्णालीवासीले राम्रोसँग मनाउन पाएनन् । सर्वसाधारणले बल्लतल्ल दसैँको टीका लगाउन त भ्याए तर वर्षा, चिसो र हिलोका कारण देशविदेशबाट दसैँ मनाउन घर आएकाहरुले परिवारमा बसेर एकापसमा खुसी नै साट्ने अवस्था भएन ।
दसैँको टीकाकै दिन बिहानैदेखि अत्यधिक चिसोसँगै बर्सात सुरु भयो । हिमाली जिल्लावासीको दसैँ वर्षा र चिसोले अझ बढी कष्टकर बन्यो । पूर्णिमाको दिनसम्म उज्यालो होला र आफन्तजनसँग टीका जमरा लगाउँला भन्ने आशामा बसेका यहाँका सर्वसाधारण निराश मात्र भएनन्, उनीहरुले विपद्को सामना गर्नुप¥यो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार विपद्कै कारण असोज २२ गते अपराह्न ४ बजे कनकासुन्दरी गाउँपालिका–५ जुम्ला बारकोटे गाउँका एकाघरका पाँचसहित सातजनाले ज्यान गुमाए । सोही दिन हिमा गाउँपालिका–३ जोगीवाडामा बाढीमा परी एकै घरका दुईजनाको ज्यान गयो ।  
डोल्पादेखि जुम्ला आउँदै गरेकी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अध्ययनरत एकजना छात्राको गुठीचौर गाउँपालिका–१ मणिसँघु जुम्लामा राति घर भत्केर ज्यान गयो । असोज १९ गतेदेखि टेलिफोन टावर, इन्टरनेट, विद्युत् अवरुद्ध हुँदा कहाँ कति धनजनको क्षति भयो भन्ने यकिन अझै भइनसकेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
विपद्ले जुम्ला मात्र नभई कर्णालीका दशवटै जिल्लामा वितण्डा मच्चाएको छ । कतै पहिरो, कतै बाढी त कतै चट्याङले अरबौं जनधनको क्षति गरेको छ । सञ्चारमाध्यम अवरुद्ध हुँदा सबै जिल्लाको क्षति सङ्कलनमा जिल्लाका विपद् व्यवस्थापन समितिहरुलाई समस्या भएको छ । पहिराले कर्णाली राजमार्गलगायत अन्य सहायक मार्ग बन्द हुँदा उद्धार तथा राहतका कार्य गर्न पनि त्यत्तिकै कठिन भएको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले बताए । 

१३ मलामी पहिरामा बेपत्ता भएपछि गाउँ शोकमग्न 

कालीकोटको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा असोज २३ गते दिउँसो २ बजे मलामी गएका १३ जना पहिरामा परी बेपत्ता भएपछि राँचुली गाउँ शोकमा डुबेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार राँचुली गाउँभन्दा तल तिला नदी किनारस्थित भाडी खोलाको घाटमा दाहसंस्कार गर्दै गरेको अवस्थामा उक्त खोलामा पहिरो आई १३ जनालाई बेपत्ता बनाएको हो । 
त्यस्तै, कालीकोटको मान्म खाँडाचक्र नगरपालिका–८ सेरावाडा प्रहरी चौकीमा कार्यरत जुम्ला तातोपानी गाउँपालिका निवासी एकजना प्रहरी जवानको सोमबार खोला तर्ने क्रममा मृत्यु भएको छ । असोज २३ गते तिलागुफा नगरपालिका–७ कालीकोट बालीस्थित पहिराले घर भत्किँदा पाँचजना बेपत्ता भएका छन् ।
चङ्खेली गाउँपालिका–५ हुम्ला मेल्छाममा असोज २३ गते आएको पहिराले घर भत्किँदा चारजनाको ज्यान गएको छ । सोमबार आएको पहिराले घर पुरिँदा मुगु रारा छायाँनाथ नगरपालिका–११ सालिम बस्तीमा आठजनाको मृत्यु भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । एकजना डोल्पासहित जुम्लामा १० जनाको यो विपद्बाट ज्यान गएको छ । डुङ्गेश्वर गाउँपालिका– ५ दैलेखका एक व्यक्ति बेपत्ता भई २३ गते खोला किनारमा मृतावस्थामा भेटिएका थिए । दैलेखसहित साबिक कर्णालीका पाँचै जिल्ला गरेर अहिलेसम्म ४२ जनाको मृत्यु तथा बेपत्ता भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । विपद्कै कारण कर्णालीमा अर्बौंको क्षति भएको जनाइएको छ । 

मुखको गाँस खोसियो  

गत वर्ष असोज ३० देखि कात्तिक १ गते तीन दिनसम्म परेको अविरल वर्षाले पु¥याएको क्षतिको घाउ नपुरिँदै तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँवासीलाई फेरि पनि यस वर्ष विपद्ले ठूलो चोट पु¥याएको छ । असोज १९ गते दसैँको टीकाको दिनदेखि २३ गतेसम्म परेको अविरल वर्षाले शुक्रबार साँपुल्ली गाउँले करोडौँको क्षति व्यहोर्नुपरेको छ । गत वर्ष भेरी खोलामा आएको भिषण बाढीले त्यस आसपासका सयौँ हेक्टर खेतहरु बगरमा परिणत ग¥यो । त्यो पीडा सकिन नपाउँदै यस वर्ष तिला पिल्ढुस्की, झुलाकोट र दप्क्या खोलाबाट आएको भीषण बाढीले खोला किनार तथा आसपासका खेतमा लगाएको धान, कोदो, मकै, सिमी, भट्टलगायत बाली पूर्णरुपमा नष्ट पारेको छ । 

SBS_Karnali-RSS1665573759.jpg
दसैँ मनाएर बाली भित्र्याउने योजना बनाएका यहाँका किसानहरुको मुखको गाँस प्राकृतिक विपद्ले नराम्ररी खोसेको छ । असोज २१ गते आएको बाढीले तिला गाउँपालिका–४ साँपुल्ली गाउँस्थित शेरबहादुर शाही, राइबहादुर शाही, दत्तबहादुर शाही, लङ्कबहादुर शाही, मीमबहादुर शाही, रतनबहादुर शाही र लालबहादुर सुनारका घरमा क्षति पु¥याएको छ । बाढी आएको सूचना गाउँले दिएपछि उनीहरुले घरबाट भागेर ज्यान जोगाउन सफल भएका थिए । 
विस्थापित भएका उनीहरुले अहिले छिमेकमा साहारा लिनुपरेको छ । बाढीले विभिन्न परिवारका गरेर करिब एक दर्जनभन्दा बढी बाख्रा, कुखुरा र खरायो बगाएको पीडित दत्तबहादुर शाहीले बताए । “पानी रोकिएको छैन । फेरि पनि बाढी आएर लैजाने हो कि भन्ने त्रास बढिरहेको छ । बाढीको मुखमा परेर होला, छोरी राति सुतेको अवस्थामा तर्सिने”, उनले भने । 
त्यस्तै, फुटाखोला, खानताडो, पानी प्याउन खोलामा आएको बाढीले दुनी, मेहलचुन, धिमधाराका खोला किनारका खेतमा लगाएको सिमी, मकै, कोदो, चिनो, कागुनो बाली नष्ट गरेको छ भने सोही बाढीले झारखेत, मुसिखेत, लिडाला, भूँडाधारा, खोलीखेत, थाम्खोला, मुँडेनी खोला, भूँर र कुनाखेतमा लगाएको सयौं खेतको अन्नबाली पूर्णरुपले नष्ट गरेको स्थानीय पृथ्वीबहादुर शाहीले जानकारी दिए ।
“बाढीले घर भित्र्याउने बेलाको बाली नष्ट मात्र गरेन, यसले हाम्रो खेतबारी नै बगर बनाएको छ,” शाहीले भने, “गत वर्षको बाढीले रित्याएको हाम्रो घर यसपटक झनै ध्वस्त पारेको छ । मुखको गास खोस्ने गरी आएको विपत्तिले हाम्रो उठिबास भएको छ ।”
विपद्ले जुम्लाका सात गाउँपालिकामा बढी क्षति भएको जनाइएको छ । धनजनको क्षति कनकासुन्दरी, हिमा र तिला गाउँपालिकाले व्यहोर्नु परेको छ भने तातोपानी गाउँपालिकाको लाक्षु, राँका, बाइराँका ज्यूलो बाढीले ढाकेको छ । तिला गाउँपालिकाको घोडासिन बस्ती बढी जोखिम रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । 

कर्णाली राजमार्ग पुनः सञ्चालन हुन दुई साता लाग्ने

यही असोज १९ देखि २३ गतेसम्मको अविरल वर्षाका कारण आएको बाढीपहिराले कर्णाली राजमार्गको आवागमन ठप्प भएको छ । पहिरो र बाढीले क्षतविक्षत राजमार्ग सञ्चालन गर्न दुई साता लाग्ने जनाइएको छ ।
कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालीकोट–दैलेख सडक खण्डका विभिन्न स्थानमा गएको पहिरो तथा बाढीले लामो तथा छोटो दूरीमा चल्ने यातायातका साधनको आवतजावत ठप्प भएको हो । सडक बन्द हुँदा बाढीपहिरोमा परेका मानिसको उद्धार हुनसकेको छैन भने आफन्त गुमाएका तथा विस्थापित परिवारले अहिलेसम्म राहत पाउन सकेका छैनन् । 
एकातिर अविरल वर्षाका कारण आएको बाढीपहिराले भित्र्याउनै लागेको किसानको अन्नबाली पूर्णरुपले नष्ट गरी खेतबारीसमेत बगर बनाएको छ, भने अर्कोतिर राजमार्ग सञ्चालन हुन नसक्दा खाद्य तथा दैनिक उपभोग्य समानको अभाव भएको छ । चामल, तेल चिनी र सवारी साधनको इन्धन अभावका कारण मूल्य दोब्बरले बढ्न थालेपछि यहाँका सर्वसाधारण मर्कामा परेका छन् ।
राजमार्ग सञ्चालन गर्न तथा विपद्बाट क्षति भोगेका परिवारका लागि तत्काल राहतको व्यवस्थागर्न जिल्ला विपद् व्यवस्थापन समिति जुम्लाको बैठकले कर्णाली राजमार्गअन्तर्गत जुम्ला र नाग्म–गमगढी सडक खण्डको क्षतिग्रस्त सडक पुनःसञ्चालनमा ल्याउन डोजरको प्रबन्ध गर्ने निर्णय गरेको छ । त्यसका लागि सडक डिभिजन कार्यालय जुम्ला र विभिन्न निर्माण कम्पनीका डोजर प्रयोग गरी आवश्यक इन्धन समितिले व्यवस्था गर्ने जुम्लाका प्रमुख जिल्ला अधिकारी केशरीले जानकारी दिए । “हामीले क्षतिग्रस्त सडक खुलाउन सडक विभागसँग अनुरोध गर्ने निर्णय गरेका छौँं”, प्रजिअ केशरीले भने । विपद्बाट पूर्ण वा आंशिक क्षति भई विस्थापित वा आश्रय लिएर बसेका परिवारलाई तत्काल राहतको व्यवस्था गर्न चन्दननाथ नगरपालिकाले चार लाख र अन्य सात स्थानीय तहले रु दुई÷दुई लाखका दरले विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको समेत उनले जानकारी दिए ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले सडक सञ्चालन गरेर आफन्त गुमाएका, विस्थापित वा आश्रय लिएर बसेका नागरिकलाई तत्काल राहत वितरणका लागि सम्बन्ध निकायसँग आवश्यक समन्वय भइरहेको बताए ।

Vijayraut_Jumla_RSS_26_16655020607391665573841.jpg
प्रमुख आचार्यका अनुसार बाढीपहिरामा परेका नागरिकको तत्काल उद्धार तथा राहतका लागि भने जुम्लामा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ । बाढीपहिराका कारण क्षतिग्रस्त कर्णाली राजमार्ग खुल्न भने करिब १५ दिन लाग्नसक्ने जुम्लाका प्रमुख जिल्ला अधिकारी केशरीले बताए । विपद्कै कारण टेलिफोन तथा विद्युत् अवरुद्ध हुँदा यहाँका नागरिक सञ्चारविहीन भएका छन् । राजमार्गको तत्काल खुल्ने अवस्था नभएपछि एकमात्र विकल्प हवाई सेवाको भाडा पनि आकासिँदो तरिकाले महङ्गिएको छ ।
नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले रु छ हजार हवाई भाडा बढेर रु १३ हजार पाँच सय पुगेको बताए । उनका अनुसार त्यही महँगो टिकटसमेत नागरिकले पाउन सकेका छैनन् । नागरिकका दुःखमा मलम लगाउनुको साटो झनै पीडा थप्ने गरी भएको यस कार्यको तत्काल अनुगमन गरी व्यवस्थापन गर्न उनले जिल्ला प्रशासन र नागरिक उड्डयन कार्यालय जुम्लाको ध्यानाकर्षण गराएका छन् । 

वैकल्पिक मार्ग सञ्चालनमा

यता दैलेखमा दसैँ सकेर फर्कनेका लागि विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि पहिराको उच्च जोखिम मोल्दै गन्तव्यमा पुग्नुपर्ने अवस्था अहिले पनि कायमै छ ।  
कर्णाली राजमार्गअन्तर्गत दरबारे भिरमा सडक भासिएपछि कर्णाली राजमार्ग अवरुद्ध छ । अहिले दैलेख सदरमुकाम बजार हुँदै मध्यपहाडी सडकमार्फत कर्णाली प्रदेशको राजधानी सुर्खेत झर्नुपर्ने बाध्यता छ । एउटा मात्र वैकल्पिक रूपमा रहेको दैलेख–सुर्खेत सडक खण्डमा पनि ५० भन्दा बढी स्थानमा पहिरो झरेको छ । 
दसैँ सकिएसँगै कर्मथलो फर्कने कर्णाली प्रदेशका मुगु, हुम्ला, जुम्ला, कालीकोट र दैलेखका यात्रुहरूलाई सहजै गन्तव्यमा पु¥याउनका लागि दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालसहित सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुखसहितको टोली सडकको अवरोध हटाउन पहिरो खसेकै स्थानमा पुगेर सडक खुलाउने काममा निरन्तर व्यस्त छन् ।  
दैलेख सुर्खेत खण्डको डुङ्गेश्वर बजार नजिक ठूलो पहिरो गएर सडक भासिएपछि पहिरो पन्छाएर सडक सञ्चालन गर्न सुरक्षा निकायको टोली, सडक विभाग र स्थानीय पालिकाको डोजर प्रयोग गरियो । २० स्थानमा झरेको पहिरो हटाउन चार दिनदेखि अवरुद्ध सडक आजदेखि मात्र सञ्चालनमा आएको दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जानकारी दिए ।
सडक खुलाउन नारायण नगरपालिका, डुङ्गेश्वर गाउँपालिका, गुराँस गाउँपालिकाको डोजर प्रयोग गरिएको छ । पहिराको जोखिम मोल्दै यात्रुहरूले कष्टकर पैदल यात्रा गर्नुपरेको छ । दैलेख खण्डको चुप्रा बजार, माथिल्लो डुङ्गेश्वर खण्ड, जिरो पोइन्ट, घोडा वास खण्डलगायत २० भन्दा बढी स्थानमा पहिरो गएको छ । अहिले पहिरो पन्छाउने र सडक सञ्चालन गर्ने काम तीव्र पारिएको छ । सडक भासिएका स्थानमा नालीमा ढुङ्गा बिच्छ्याउँदै वैकल्पिक मार्ग निर्माण गरिएको भए पनि जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता कायमै छ ।
प्रजिअ  हमाल, दैलेखका प्रहरी प्रमुख भुवनेश्वर शाह, सशस्त्र प्रहरी दैलेखका प्रमुख देवराज बिष्टलगायतको सुरक्षा टोली पहिरो खसेको स्थानमा पुग्दा डोजर सञ्चालकले पहिरो पन्छाउन नसकिने जनाउँदै डोजर फर्किसकेको थियो । सयौं यात्रुहरू धेरै दिनसम्म अलपत्र हुने अवस्था देखेपछि सडक भित्तामा रहेको नालीमा ढुङ्गा हालेर वैकल्पिक सडक निर्माण गर्नुपर्ने अवस्था आयो । जिल्लाबाट गएका सबै प्रमुखहरू, सुरक्षा बल र अलपत्र यात्रुहरूले ढुङ्गा बोकेर सडक भित्ताबाट डोजर जाने बाटो निर्माण गरेपछि मात्र बाटो बन्यो । 
डोजरले निकै ठूला दुईवटा ढुङ्गा पन्छाउन र पहिरो सफा गर्न निरन्तर डोजर चलाएपछि मात्र सडक खुल्यो र सयौँ यात्रुहरू ओहोरदोहोर गर्ने अवस्था सृजना भएको थियो । आजदेखि सडक खुलेको दैलेखका प्रहरी प्रमुख शाहले जानकारी दिए ।
कर्णाली राजमार्ग र दैलेख–सुर्खेत सडक खण्डका कतिपय स्थानमा सडक भासिएका छन् भने कतिपय स्थानहरूमा पहिरो झरेका छन् ।
 

सिस्नेरी–दक्षिणकालिका सडकखण्डमा यातायात सञ्चालन

यता मकवानपुर जिल्लामा पहिराका कारण तीन दिनदेखि अवरुद्ध मकवानपुरको सिस्नेरी–दक्षिणकालिका सडकखण्डमा आज बिहानैदखि यातायात पुनः सञ्चालनमा आएको छ । इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा आएको पहिराका कारण गत आइतबारदेखि अवरुद्ध भएको उक्त सडकखण्डमा यातायात सञ्चालनमा आएको हो । 
इलाका प्रहरी कार्यालय भीमफेदीमा कार्यरत प्रहरी निरीक्षक प्रतिमा कार्कीका अनुसार ठूलो पहिरो खसेका कारण यातायात सञ्चालनमा ल्याउन समय लागेको हो । पहिराका कारण हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जाने छोटो दूरीको मार्ग भएर सञ्चालन हुने साना सवारीसाधन वैकल्पिक सडक प्रयोग गरेर सञ्चालन भइरहेको थियो । 
हाल त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्ग, कान्तिलोकपथलगायत सबै स्थानबाट सावरीसाधन सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।–रासस 
 

प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  १७:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार