सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकको पश्चिमी क्षेत्रको मौसममा सुधार हुँदै आएको छ भने पूर्वमा केही स्थानमा आंशिक बदली रहनेछ । हाल मधेस प्रदेशमा सामान्य बदली हुनुका साथै बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ । उक्त प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जनाइएको छ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार पश्चिममा मौसम सुधार हुँदै गएको छ भने पूर्वमा केही स्थानमा आशिंक बदली हुने देखिएको छ । महाशाखाका अनुसार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । मधेस प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
झरी रोकिएपछि पश्चिमी क्षेत्रको मौसममा सुधार
पश्चिमी क्षेत्रमा झन्डै एक हप्तासम्म परेको झरी रोकिएपछि आजबाट मौसममा सुधार भएको छ । बाढी र डुबानका कारण प्रभावित भएका मुलुकको पश्चिमी क्षेत्रमा आज बिहानैदेखि घाम लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहानैदेखि पश्चिमी क्षेत्रमा घाम लागेको भए पनि मनसुनी प्रणाली कायमै रहेकाले दिउँसो र बेलुकीपख भने क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनका अनुसार तराईमा अब डुबान हुने गरी र बाढी आउने गरी वर्षाको सम्भावना भने हटेको छ । पश्चिमी क्षेत्रका पहाडी जिल्लामा भने झरीले जमिन गलिसकेकाले पहिरोको जोखिम हुनसक्ने पनि मौसमविद्हरूले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज, बिहीबार र शुक्रबार दिउँसो तथा बेलुकाको समयमा मौसम बद्ली भई क्षणिक वर्षा हुन सक्नेछ । आउँदो शनिबारदेखि भने पश्चिमी क्षेत्रसहित देशभरको मौसम पूर्ण रूपमा खुला रहने सो महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको अन्तिमतिर भएको ठूलो वर्षाका कारण यसपटक पश्चिमी क्षेत्रमा धेरै असर परेको छ । नेपालमा मनसुनको अवधि गएको दुई तारिख अर्थात् १६ गतेसम्म मात्रै रहने भनिए पनि त्यसको एकदुई दिनपछि ठूलो पानी पर्न थालेको थियो ।
लगातार वर्षाले मार्सी धानबालीमा क्षति
यता जुम्लामा लगातार अविरल वर्षाले जुम्लामा पाक्नै लागेको मार्सीधानबालीका फाँटमा क्षति पुगेको छ । एक सातादेखि परेको अविरल वर्षाले धानबालीमा क्षति हुँदा यहाँका किसान मर्कामा परेका छन् । जिल्लाभरका किसानको धानबाली, सिमी लगायतका बालीमा पुर्याएको क्षतिको विवरण सङ्कलन गर्न स्थानीय तहका कृषि शाखासँगको सहकार्यमा कृषि विकास कार्यालयले काम गरिरहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए । वर्षाले खेतमा पाक्नै लागेको धान ढालेपछि किसान चिन्तित छन् । भित्र्याउने बेलाको धानबाली ढलेर खेतमै दाना झरेको छ । पाकेको बाली घर भित्र्याउने समयमा वर्षाले क्षति गरेपछि यहाँका किसानलाई बर्षभरि पुग्ने अन्न संकट हुने तिला गाउँपालिका– १ का किसान जयबहादुर बुढाले चिन्ता ब्यक्त गरे । धेरैजसो सिञ्जा क्षेत्रमा धानबालीमा क्षति गरेको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । पालिकाको धान उत्पादन हुने ठाउँका सबै खेतबारी बगरमा परिणत भएको सिञ्जा गाउँपालिकाले जनाएको छ । तिला गाउँपालिकाको नुवाकोट, कुडारी र सापुल्ली क्षेत्रका खेतबारीमा लगाएको धानबाली पूर्णरूपमा क्षति गरेको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताए । हिउँदमा पशुपालनका लागि काटिएको घाँससमेत मेलामै कुहिएको हिमा–१ का युनेश परिवारले बताए । यसबाट हिउँदमा पशुपालनमा ठूलो समस्या आउने अवस्था देखिएको छ । वर्षायाममा जताततै हरियाली हुने भएकोले चरीचरण क्षेत्र धेरै हुन्छ । तर, हिउँदमा सुख्खा हुने भएकोले किसानले घाँस सङ्कलन गरेर राखेका हुन्छन् । घाँसले मङ्सिरदेखि फागुन महिनासम्म पशु बस्तुको आहाराको काम गर्छ । दसैंँअघिदेखि घाँस काटेर खेतमा सुकाउने, कोदो, चिनो र मकै भित्र्याउने र आलु निकाल्ने समय भएकोले पनि निकै व्यस्त देखिन्थे । जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कअनुसार जुम्लामा दुई हजार नौ सय ५० हेक्टरमा धानखेती गरिएको छ । जिल्लाका आठवटै स्थानीय तहमा धानखेती हुने गरेको छ ।
पहिरोबाट प्रभावित दुई सय परिवारको उद्धार हुन सकेन
लगातारको अविरल वर्षाका कारण बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकात्र्तिक खापर गाउँपालिका–१ साप्पाटाको खोली गाउँमा पहिरो जाँदा दुई सय घर उच्च जोखिममा परेका छन् । मङ्गलबार आएको अविरल वर्षा संगै गाउँको चारैतिरबाट पहिरो बग्न थालेपछि बस्ती नै जोखिममा परेको स्थानीय उज्जले विकले राससलाई जानकारी दिए । उनका अनुसार गाउँको चारैतिरबाट पहिरो खस्नथालेको गाउँका स्थानीय सुरक्षित ठाउँमा जाने कतै बाटो नभएपछि पहिरोको बीचमा बसेको छ । पहिरोले स्थानीयवासीका गाईगोरु, भैँसी, भेडाबाख्रा बगाएर क्षति पु¥याएको विकको भनाइ छ । बस्तीमा रहेका दुई सय परिवारलाई पहिरो नरोकिएदा उद्धार गर्न समस्या भएको छ । बाढीपहिराका कारण उक्त बस्तीमा जाने कतै बाटो नभएपछि उनीहरूले उद्धारका लागि तत्काल पहलगर्न माग गरेका छन् । पहिरोबाट विस्थापित भएका उनीहरूले सुरक्षित स्थानमा लैजान रुवाबासी चलेको प्रत्यक्षदर्शी विक बताउँछन् । उद्वार हुन नसक्दा दुई परिवारका स्थानीयवासी भोकभोकै पहिरोको त्रासमा बसेका छन् । स्वामीकार्तिकको विर्मामा कर्णाली नदीले पुल बगाएपछि उद्वारमा कठिनाइ भएको गाउँपालिकाले जनाएको छ । लगातारको वर्षाले पहिरो झरेपछि बस्ती नै बग्ने सम्भावना बढेको छ । उक्त बस्तीका स्थानीयवासीलाई उद्धार गर्नका लागि स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकाया सहितको टोली पहिरो प्रभावित क्षेत्रमा गएको छ । पहिरो गएको क्षेत्रमा पुगेर क्षतिको विवरण र विस्थापित परिवारको तथ्याङ्क सङ्कलन गरी सुरक्षित स्थानमा सार्न तत्काल राहत उपलव्ध गराउने गाउँपालिका अध्यक्ष रोकायाको भनाइ छ । जिल्लाको पूर्वी उत्तरी भेगका बूढीनन्दा नगरपालिका, हिमाली, स्वामीकार्तिक र जगन्नान गाउँपालिकामा बाढीपहिरोबाट प्रभावित भएर विस्थापित भएकाको उद्धार र राहत वितरण र क्षतिको विवरण सङ्कलन गर्नका लागि जिल्ला प्रशासन कार्यालय बाजुराको नेतृत्वको टोली खटाइएको छ । चार पालिकामा बाढीपहिरोबाट बढी प्रभावित भएको खबर आउन थालेपछि जिल्ला विपद समितिले आज नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सरकारसहितको टोलीले राहत वितरण,उद्धार र क्षतिको विवरण सङ्कलन गर्ने गरी टोली खटाइएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए ।