नेपालको आर्थिक विकासका लागि प्रभावकारी सहयोग गर्न युएसएआइडीका प्रमुखलाई अनुरोध

अर्थमन्त्री शर्मा र अमेरिकी सहयोग नियोग प्रमुखबीच भेट
बिहीबार, असोज २७, २०७९

वाशिङ्गटन डिसी । विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (युएसएआइडी) का प्रमख प्रशासक समान्ता पावरबीच भेटघाट भएको छ ।
युएसएआडीको मुख्यालय वाशिङ्गटन डिसीमा भएको भेटघाटमा द्विपक्षीय हित र सहयोगका लागि मजबुद आधारशीला तय गर्ने विषयमा छलफल भएको थियो । भेटघाटमा अर्थमन्त्री शर्माले नेपालको आर्थिक, सामाजिक विकासमा अमेरिकाले पुर्‍याएको सहयोगबारे प्रशंसा गरेका थिए । 
साथै अर्थमन्त्री शर्माले उक्त अवसरमा आगामी दिनमा नेपालको आर्थिक विकासका लागि प्रभावकारी सहयोग गर्न अनुरोध गरे । अर्थमन्त्री शर्माले सूचना प्रविधि, जलावयु परिवर्तनको चुनौती सामना गर्न र नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न आग्रह गरेको अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको छ । 
अर्थमन्त्री शर्माले प्रमुख प्रशासक समान्ता पावरलाई उपयुक्त समयमा नेपाल भ्रमणको हार्दिक निमन्त्रणासमेत गरे । 
यसैगरी पावरले नेपालका अर्थमन्त्रीसँगको भेटघाट फलदायी रहेको, नेपाल अमेरिका साझेदारी र नेपालको प्रजातान्त्रिक अभ्यासको प्रगतिका लागि सहयोग रहने बताएकी छन् । सामाजिक सञ्जालमार्फत पावरले लेखेकी छन्, “तत्कालका चुनौतीको सामना गर्न दुवै देश मिलेर काम गर्न तयार भएका छौँ ।” यस्ता चुनौती जलवायु परिवर्तन र खाद्य सुरक्षा गरेको युएसएआइडीका प्रमुख प्रशासक समान्ता पावरले उल्लेख गरेका छन् । 
उक्त भेटघाट कार्यक्रममा नेपालको तर्फबाट अर्थसचिव कृष्णहरि पुष्कर, अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री तथा भ्रमणदलमा सहभागी अन्यको समेत उपस्थिति  थियो ।
नेपालको आर्थिक सामाजिक विकासमा युएसएआइडीको महत्वपूर्ण सहयोग रहेको छ । गत मे महिनामा मात्र उक्त नियोगले आगामी पाँच वर्षका लागि नेपाललाई ६५ करोड ९० लाख डलरको सहयोगको घोषणा गरेको थियो । उक्त सहयोग नेपालले आफूलाई अल्पविकसित देशवाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्न उपयोग गर्नेछ ।

अर्थमन्त्री शर्मा विश्व बैंकको वार्षिक बैठकमा सहभागी

अर्थमन्त्री जनार्दन शर्माले विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको दक्षिण पूर्वी एशियाली समूहको ५३ औँ गभर्नर्स सत्रको अध्यक्षता गरेका छन् । 
अमेरिकाको राजधानी वाशिङ्गटन डिसीमा आयोजित विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा आयोजित उक्त सत्रमा सदस्य राष्ट्रहरुले सामना गर्नुपरेको बहुपक्षीय विश्वव्यापी समस्याको विषयमा छलफल भएको थियो । उक्त सत्रमा सहभागीले विश्वव्यापीरुपमा सिर्जना भएको समस्याको समाधान गर्न वित्तीय सहायता प्रदान गरेर नेपालजस्ता देशका समस्या सम्बोधन गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

word Bank1665625945.JPG


यसैगरी अर्थमन्त्री शर्माले साइडलाइन कार्यकारी संवाद सत्रमा सहभागी भएर जलवायु उत्सर्जनको समस्यासँग जुध्न र सदस्य राष्ट्रहरुले चालेका कदमका बारेमा छलफल गरेका थिए । 
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव कृष्णहरि पुष्कर, अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीलगायत उच्च अधिकारी सहभागी थिए । 
विश्व बैंकको प्रक्षेपणअनुसार चालु वर्षमा नेपालको वृद्धि पाँच दशमलव एक प्रतिशतले हुने उल्लेख गरिएको छ । नेपालको पर्यटन र सेवा क्षेत्रको वृद्धि तथा जलविद्युत् क्षेत्रको उत्पादन वृद्धिले कोरोनापश्चात्को आर्थिक वृद्धिदर सकारात्मक रहने उस्को प्रक्षेपण छ ।
नेपालको आर्थिक विकासका लागि संरचनागत चुनौती रहेको उल्लेख गर्दै विश्व बैंकले कर प्रणालीको आधुनिकीकरण, वैदेशिक प्रत्यक्ष लगानी र सङ्घीय बजेटको पूर्ण कार्यान्वयनले मात्र दिगो र समावेशी वृद्धिको मार्ग रहेको उसको ठम्याइ रहेको छ ।–रासस 

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  ०७:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार