आजदेखि पर्यटकीय नगरी पोखरामा नवौँ राष्ट्रिय खेलकुद 

शुक्रबार, असोज २८, २०७९
मयुर प्लाई
Global Ime Bank

गण्डकी । पोखरा रङ्गशालामा आज हुने नवौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन समारोहको तयारी पुरा भएको छ । माछापुच्छ्रेको काखमा रहेको पोखरा र यसको मुटुमा रहेको रङ्गशाला चिटिक्क सिँगारिएको छ । 
नवौँ राष्ट्रिय खेलकुदकै सन्दर्भमा तयारीका लागि यत्रतत्र छरिएर खेल्दै गरेका खेलाडीले गतिविधिले यहाँको रौनक बढाएको छ । दसैँ र आसपासमा केही दिनको लगातारको झरीपछि पोखराको मौसम पनि खुल्दै गएको छ । 
कोरोना, स्थानीय निर्वाचनलगायतका कारण २०७७ मा नै हुनुपर्ने नवौँ राष्ट्रिय खेलकुद ढिलै भए पनि यसको ‘काउण्टडाउन’ आज सकिँदैछ । नेपालगञ्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदको समापनका दिन नवौँ राष्ट्रिय खेलकुद २०७७ फागुन २१ देखि २७ सम्म गण्डकी प्रदेशमा हुने जानकारी गराइएको थियो ।

R1665464233.png
महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्व खेलकुदका गतिविधिसँगै नेपालको राष्ट्रिय खेलकुद पनि प्रभावित बनेको थियो । पछिल्लो समय स्थानीय निर्वाचनका कारण खेलको मिति पुनःसरेको थियो । अब भने नवौँ राष्ट्रिय खेलकुदको प्रतिक्षाको घडी सकिएको छ ।
नवौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो ३ः३० बजे भव्य समारोहकाबीच गर्ने नवौँ राष्ट्रिय खेलकुद, प्रचारप्रसार उपसमितिका संयोजक दीपेन्द्र विष्टले जानकारी दिए । उद्घाटन समारोहलाई भव्य र सभ्य बनाउनका लागि सबै किसिमको तयारी भएको उनले जानकारी दिए ।

pokhara_stadium-gaunsahar1658816897.jpeg
विसं २०३८ देखि सुरु नेपाली राष्ट्रिय खेलकुदको इतिहासमा २०४० सालमा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद गर्ने अवसर पाएको पोखरालाई चार दशकपछि नवौँ राष्ट्रिय खेलकुद घरेलु मैदानमा गर्ने मौका जुरेको हो । कूल ३६ वटा खेल खेलाइने नवौँ राष्ट्रिय खेलकुदमा आठ हजार खेलाडी तथा अफिसियलसहित १० हजारभन्दा बढी व्यक्ति पोखरामा एकसाथ जुट्दैछन् ।
यसअघि १३औँ दक्षिण एशियाली खेलकुद (साग)का आठवटा खेल सम्पन्न गरेको पोखराको घरेलु मैदानमा नै यसपटक २६ वटा खेल हुने खेलमैदान व्यवस्थापन उपसमितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले जानकारी दिए । ३६ खेलमध्येका अन्य खेल गण्डकीका विभिन्न जिल्लामा हुने उनले जानकारी दिए । प्रतियोगिता आगामी कात्तिक ३ गतेसम्म चल्नेछ । पोखरासहित तनहुँ, स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङमा खेलस्थल तोकिएको छ ।

KD-Kaski-Paredb1665610156.jpg
गण्डकीका सबै जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गत कम्तीमा एक खेल खेलाउने भनिए पनि पूर्वाधारलगायत कारण लमजुङ, मनाङ र मुस्ताङमा भने यसपटक खेल नहुने गुरुङले जानकारी दिए ।
सात वटा प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन विभागीय र एक गैरआवासीय नेपाली सङ्घ (एनआरएन) गरी कूल ११ टिमबीच प्रतिस्पर्धा हुनेछ । खेलकुदअन्तर्गत एथलेटिक्स, महिला क्रिकेट र ब्याडमिन्टन  पोखरा रङ्गशालामा खेलाइनेछ । पुरुष फुटबल, टेनिस, बक्सिङ, भलिबल पुरुष, जिम्न्याष्टिक, ह्याण्डबल पुरुष तथा महिला, सफ्ट टेनिस, स्क्वास र उसुको प्रतियोगिता पोखरा रङ्गशालमा हुनेछ । पुरुष बास्केटबल पोखरामा र महिला बास्केटबल तनहुँमा हुने भएको छ । आर्चरी, फेन्सिङ पोखरा रङ्गशालामा हुनेछ । 
यसैगरी जुडो र ‘फुल कन्ट्याक्ट’ कराँते पोखराको प्रदर्शनी हल तथा शारीरिक सुगठन पोखरा सभागृहमा खेलाइने परिषद्ले जनाएको छ । पौडी पोखराका फिस्टेल एकेडेमी, हक्की महिला गण्डकी बोर्डिङ स्कुल, भारत्तोलन पोखरा उद्योग वाणिज्य सङ्घको सभाहल, गल्फ पोखरा हिमालयन गल्फ कोर्स, साइक्लिङ, ट्रायथोलन र प्याराग्लाइडिङ पनि पोखरामै हुनेछ । 
रग्बी भण्डारढिक खेल मैदान, कबड्डी महिला पुरुष दुवै रञ्जित पार्टी प्यालेस रानीपौवा, खोखो पोखरा रङ्गशालाभित्रको ह्याण्डबल एकेडेमीमा खेलाइने भएको छ । यसैगरी म्याग्दीमा तेक्वान्दो र महिला भलिबल हुनेछ भने बाग्लुङमा आइटिएफ तेक्वान्दोको प्रतियोगिता हुनेछ । नवलपुरमा सेपाकताक्रो र कुस्ती, गोरखामा बुद्धिचाल खेलाउने तय गरिएको छ । स्याङ्जाको वालिङमा महिला फुटबल आयोजना हुनेछ । यसैगरी पूर्वाधार अभावमा सुटिङ भने काठमाडौँमा खेलाइनेछ । प्रतियोगितामा कूल पदक सङ्ख्या स्वर्ण तीन सय ९३, रजत तीन सय ९३  र कास्य ६०० रहेको परिषद्ले जनाएको छ । 

उद्घाटन समारोह विशेष हुने 

गण्डकी प्रदेशमा आजदेखि औपचारिक सुरु हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारीको काम सकिएको आयोजक राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले बिहीबार साँझ यहाँ पत्रकार सम्मेनल गरी जानकारी दिएको छ ।   प्रतियोगिता उद्घाटन, खेल सञ्चालन र खेल पूर्वाधार स्तरोन्नतिलगायतका सबै तयारी पूरा भएको राखेपले जनाएको छ । 

RK-Pokhara-Cricketc1665699757.jpg
‘एकताबद्ध देश, खेलकुदको सन्देश’ नारासहित पोखरा रङ्गशालाबाट राष्ट्रिय खेलकुदको शुक्रबार अपराह्न समुद्घाटन गरिने छ । 
असोज २८ देखि कात्तिक ३ गतेसम्मको तोकिएको मितिअगावै केही खेल सुरु भए पनि लामो समयको प्रतिक्षापछि औपचारिक उद्घाटन हुन लागेको छ । उद्घाटन समारोहलाई भव्य र उल्लासपूर्ण बनाउने गरी दुई सातादेखि तयारी गरिएको छ । समारोहमा सातै प्रदेशका संस्कृति झलिक्नेछन् भने पोखरा रङ्गशाला सिँगारिएको छ । राष्ट्रिय खेलकुदको उद्घाटनका लागि उपराष्ट्रपति नन्दकिशोर पुन पोखरा आइसकेका छन् । 
उद्घाटन समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास, सातै प्रदेशका सांस्कृतिक झाँकी, विद्यार्थीबाट ड्रिल प्रदर्शन र विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले बताए । 
उनका अनुसार केही चुनौतीलाई सामना गरेर प्रतियोगितालाई भव्य बनाउन गर्नुपर्ने सबै काम सकिएका छन् । उहाँले भन्नुभयो, “प्रतियोगिताको अन्तिम तयारी गरिरहँदा अपेक्षा नगरिएको वर्षाका कारण मौसमले केही दिन चुनौती दिए पनि मूलभूतरुपमा प्रतियोगिताको भव्य तयारी गरेका छौँ । तोकिएका खेल कार्यतालिकाअनुसार नै सञ्चालन भएका छन् ।”
समारोहमा सातौँ दक्षिण एशियाली खेलकुदका स्वर्ण पदकधारी तथा ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक टर्च प्रज्वलन गर्नेछन् । प्रतियोगितामा सहभागी ११ टोलीको मस्कटसहित मार्चपास हुनेछ ।
राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रदर्शनी गरी ३८ खेल समावेश गरिएको छ । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआएरएनको एक गरी ११ टोलीका छ हजार १५७ जना खेलाडी सहभागी हुँदैछन् । प्रतियोगितामा कूल पदक सङ्ख्या स्वर्ण तीन सय ९३, रजत तीन सय ९३  र कास्य ६०० रहेको परिषद्ले जनाएको छ । 
त्यसैगरी प्रशिक्षक, खेल पदाधिकारी र अफिसियल गरी नौ हजारको प्रतियोगितामा सहभागिता रहने सदस्य सचिव घिसिङले जानकारी दिनुभयो । उहाँका अनुसार सबै खेलाडी आआफ्नो खेलस्थल र सम्बन्धित जिल्लामा पुगिसकेका छन् । तोकिएका खेल स्थलको मर्मत सकिएको छ भने खेलाडी तथा अफिसियलको बसोबासको व्यवस्थापन गरिएको छ । गण्डकी प्रदेशका आठ जिल्लामा प्रतियोगिताअन्तर्गतका खेल हुँदैछन् ।
उद्घाटनमा देशका सात प्रदेशको संस्कार र संस्कृति गीत, सङ्गीत, नृत्य र झाँकीका माध्यमबाट समारोहमा झल्किनेछ । नेपाली सांस्कृतिक विविधतालाई राष्ट्रिय खेलकुदको उद्घाटनले प्रतिनिधित्व गर्नेछ ।
नेपालको भूगोल र ठाउँ विशेषअनुसारको मौलिक संस्कृति प्रस्तुत गर्नेगरी नृत्य र झाँकी प्रदर्शन हुने समारोह उपसमितिले जनाएको छ । उद्घाटन समारोह दुई घण्टाको हुनेछ । प्रदेश नं १ को राई÷लिम्बूको चर्चित साकेला नृत्य, मधेसको सतार र धिमाल जातिको मौलिक नृत्य उद्घाटनमा प्रस्तुत गरिनेछ । 
यसैगरी बागमतीको नेवारी संस्कृति, गण्डकीको कौडा, घाँटु र लोकगीत, लुम्बिनीको थारु संस्कृति, कर्णालीको मगर समुदायको झ्याउरे र सुदूरपश्चिमको हुर्केली गीत र झाँकी प्रस्तुत समारोहमा प्रदर्शन हुने राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी सदस्य एवं समारोह उपसमितिका संयोजक एकेन्द्रबहादुर कुँवरले बताए ।
उनका अनुसार नेपालको हिमाल, पहाड र तराईको भौगोलिक विविधता र त्यसभित्रको जातीय र सांस्कृतिक फरकपनलाई झल्काउने गरी झाँकीहरु प्रस्तुत हुनेछन् । उनले भने, “उद्घाटन समारोहले समग्र प्रतियोगिताको विशेष अर्थ राख्दछ । नेपालको इतिहासमै पर्यटकीय र खेलकुदको सहरमा राम्रो र उल्लासमय वातावरणमा उद्घाटन समारोह बनाउने छौँ, सिङ्गो देश खेलकुदमय हुनेछ ।”

प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९  ०४:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार