सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । डेङ्गु सङ्क्रमण ७७ वटै जिल्लामा फैलिएको छ । डेङ्गुबाट हालसम्म ४७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ३८ हजार नौ सय १८ जनामा डेङ्गु पुष्टि भएको छ । डेङ्गु सङ्क्रमण रोक्न प्रतिकार्यका कार्य तीव्र पारिएको मन्त्रालयले जनाएको छ ।
डेङ्गु नियन्त्रण र रोकथामका लागि तयारी यता, विराटनगर महानगरपालिकाले डेङ्गु रोग नियन्त्रण र रोकथामका लागि तयारी सुरु गरेको छ । डेङ्गुको सङ्क्रमण हरेक दिन बढ्दै गएपछि महानगरले नियन्त्रण र रोकथामका लागि पूर्वतयारी सुरु गरेको हो । स्वास्थ्यकर्मीहरुका लागि डेङ्गु रोग सम्बन्धी निगरानी, सम्भावित महामारीको तयारी, रोकथाम तथा नियन्त्रण, खोज र नष्ट गर्ने तरिकाका विषयमा अभिमुखीकरण सञ्चालन गरेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोर्डिनेटर डा सुरेन्द्र उरावले डेङ्गुको लक्षण, बच्ने उपाय, उपचार विधि, नियन्त्रणको तरिकालगायतका विषयमा स्वास्थ्यकर्मीलाई जानकारी गराएका थिए । उनले भदौ यता डेङ्गुको सङ्क्रमण तीव्र गतिमा फैलिँदै गएको बताए । उनले टायर, जार, नालीलगायतमा डेङ्गुको सङ्क्रमण सार्ने लामखुट्टे बढी मात्रामा बस्ने भएकाले सफाइमा ध्यान दिनुपर्नेमा जोड दिए । घर वरिपरि फोहोर पानी जम्न नदिने, सुत्दा झुल टाँगेर मात्रै सुत्ने, शरीर ढाक्ने लुगा लगाउनेलगायतका विधि अपनाएमा डेङ्गुको सङ्क्रमणबाट बच्न सकिने उनको भनाइ थियो । डाक्टर उरावले नेपालमा सबैभन्दा बढी १६ देखि ३५ वर्ष उमेर समूहका व्यक्त्ति सङ्क्रमित भएको उल्लेख गरे । पहिलो चरणमा महानगरमा कार्यरत स्वास्थ्यकर्मीलाई डेङ्गु रोग नियन्त्रण र रोकथामका विषयमा अभिमुखीकरण सञ्चालन गरिएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । अलीका अनुसार दोस्रो चरणमा आइतबार नै जनप्रतिनिधि, नागरिक समाजका अगुवासहित सबै क्षेत्रका व्यक्त्तिसँग डेङ्गुको नियन्त्रण र रोकथामका विषयमा छलफल गरिनेछ ।
यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार ७६३ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । आज १६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या छ सय ६७ छ । नेपालमा हालसम्म १० लाख एक सय २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ लाख ८७ हजार चार सय ३८ कोरोना सङ्क्रमणमुक्त भएका छन् । बाह्र हजार १८ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् । आज ३० हजार आठ ७६ जनाले कोरोना सङ्क्रमण विरुद्धको खोप लगाएका छन् । हालसम्म दुई करोड ३२ लाख आठ हजार चार सय ८४ जनाले खोपको पहिलो मात्रा, दुई करोड २३ लाख २४ हजार नौ सय ३३ जनाले पूर्ण मात्रा र ७९ लाख ७२ हजार सात सय ९१ जनाले अतिरिक्त मात्रा लगाएका छन् ।