बैंकको चर्काे व्याजदरप्रति व्यवसायीको असन्तुष्टि

ब्याजदर नघटाए आन्दोलनमा उत्रने पोखराका होटल व्यवसायीको चेतावनी
शुक्रबार, कात्तिक ४, २०७९
मयुर प्लाई
Global Ime Bank

लेखनाथ । बैंक तथा वित्तीय संस्थाले केही महिनायता वृद्धि गरेको ब्याजदर नघटाए आन्दोलनमा उत्रने चेतावनी पोखराका होटल व्यवसायीले दिएका छन् ।
वित्तीय संस्थाले वृद्धि गरेको चर्को ब्याजदर घटाउने काम गरिएन भने व्यवसायीले राष्ट्र बैंक र अर्थमन्त्रालयमा धर्ना दिनाका साथै तालाबन्दी गर्ने चेतावनी व्यवसायीले दिएका छन् । होटल सङ्घ पोखरा नेपालले शुक्रबार यहाँ पत्रकार भेटघाट कार्यक्रम गरी यस्तो चेतावनी दिएको हो । वित्तीय संस्थाद्वारा एकतर्फी रूपमा वृद्धि गरिएको ब्याजदर एक अङ्कमा झार्न नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयलाई व्यवसायीले आग्रह गरेका छन् । 
सो अवसरमा होटल सङ्घ नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिड–१९ को सङ्क्रमण केही मत्थर हुँदै गर्दा पर्यटन व्यवसाय लयमा फर्कने प्रयासमा रहे पनि होटल क्षेत्रको २०–२५ प्रतिशत ‘अकुपेन्सी’ले सञ्चालन खर्च पनि धान्न सक्ने अवस्था नभएको बताए । पर्यटक अपेक्षितरूपमा बढ्न नसकेको अवस्थामा होटलहरूले बैंकले प्रदान गरेको कर्जाको किस्ता तथा ब्याज तिर्न सक्ने अवस्थामा नरहेको कुरा सुनाए । अध्यक्ष सुवेदीले आफूहरू दायित्वबाट पन्छन नखोजेको तर तिर्नुपर्ने दायित्वलाई अर्को वर्षका लागि सारिदिन राष्ट्र बैंकमार्फत अनुरोध गरेको स्पष्ट पारे । 
बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको ब्याज सात प्रतिशतबाट १५ प्रतिशत हुँदै २० प्रतिशतसम्म पुगेको जानकारी व्यवसायीले दिएका छन् । बैंक तथा वित्तीय संस्थाले ४० प्रतिशतसम्म लाभांश बाँड्दा घाटामा रहेको होटल क्षेत्रलाई भने तर्साउने काम भएको दुःखेसो होटल सङ्घ पोखरा नेपालका सल्लाहकार बच्चुराम तिवारीले पोखे । “नाफामा गएको बैंकिङ क्षेत्रलाई राष्ट्र बैंक जोगाउनतिर लाग्यो तर घाटा खाएको होटल क्षेत्रलाई वास्ता गरेन”, तिवारीले भने, “यो विषयमा हामी चुप लागेर बस्दैनाँै, यस्तै भए अब हामी राष्ट्र बैंक र अर्थ मन्त्रालय घेर्न बाध्य हुनेछौँ, राष्ट्र बैंकले गरेको कामका बारेमा हिसाब खोज्छौँ ।”
होटल सङ्घ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले चर्को ब्याजदरको मारमा बढी होटल व्यवसायी नै परेको बताए । “भ्रमण वर्षको नाउँमा सरकारले नै होटल व्यवसायीलाई लगानी गर्न उक्सायो, लगानी ग¥यौँ तर कोरोना फैलियो व्यवसाय ठप्प भयो, बैंकबाट लिएको ऋणको किस्ता र ब्याज तिर्न सक्ने अवस्था छैन, बैंक तथा वित्तीय संस्थाले झनै ब्याज बढाइदिए”, पराजुलीले भने । 
होटल सङ्घ गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले बैंक तथा वित्तीय संस्थाले अस्वाभाविकरूपमा ब्याजदर बढाउनु सबै नेपालीको समस्या भएको स्मरण गराउँदै व्यवसायमा सुस्ती देखिँदा वित्तीय क्षेत्रबाट आतङ्क फैलाउने काम भएको बताए । बैंक तथा वित्तीय संस्थाहरूले अनुत्पादक क्षेत्रमा लगानी गरेको आरोपसमेत व्यवसायीको छ । व्यवसायी बैंकर हुँदा पनि समस्या उत्पन्न हुनाका साथै बैंकलाई आधुनिक सामन्तका रूपमा व्यवसायीको आरोप लगाएका छन् ।
सङ्घका निवर्तमान अध्यक्ष विकल तुलाचनले कोभिडको समयमा सरकारले नै दुई वर्ष पर्यटन क्षेत्र बन्द गराएको बताउँदै अहिले एकतर्फी ब्याज बढाएर वित्तीय आतङ्क सिर्जना गरिएको आरोप लगाए ।
चर्काे ब्याजदरका विरुद्ध भक्तपुरका उद्योमी व्यवसायी एकजुट
बैंक तथा वित्तीय संस्थाले असुल्दै आएको चर्काे ब्याजदरका विरुद्धमा भक्तपुरका उद्यमी व्यवसायी एकजुट भएका छन् । उनीहरूले आज जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा बैंक तथा वित्तीय संस्थाले निक्षेपमा ब्याजदर बढाएर पनि निक्षेप बढन नसकेको यथार्थ तर कर्जाको ब्याज बढेर यसबाट बजारमा नकारात्मक असर परिरहेको मौजुदा वास्तविकता र विगतको अनुभवलाई मनन गर्दै ब्याजदरलाई वान्छित सीमाभित्र राख्नुपर्ने नीति अवलम्बनका लागि व्यवसायीबाट माग गरिएको छ । 
यसैगरी बैंक तथा वित्तीय संस्थाहरूले हाल विद्यमान स्प्रेडदरलाई घटाउने एवं कर्जाको आधार दरमा न्यूनतम प्रतिशत मात्रै प्रिमियम थप गर्ने व्यवस्था लागू हुनुपर्ने र बैंक तथा वित्तीय संस्थाहरूले गर्ने गरेको खर्चमा नियन्त्रण गरी आधार दर घटाउन सकिने अवस्था रहेकोतर्फ पनि व्यवसायीले ध्यानाकर्षण गराएको छ । 
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई ऋण प्रवाह गर्दा विगतमा भन्दा हाल ब्याजदरमा वृद्धि भएको हुँदा विगतकै प्रतिशतमा ऋण प्रवाह हुनुपर्नेतर्फ पनि ध्यानाकर्षण गराएको छ । हाल मुलुकको असहज परिस्थितिका कारण ऋणको सावा ब्याज भुक्तानी अवधिमा थप समय उपलब्ध गराउने व्यवस्थाका लागि केन्द्रीय बंैकबाट पहल हुनुपर्ने तर्फबाट पनि व्यवसायीको माग रहेको छ । 
मौजुदा परिवेशबाट सीर्जित चरम मूल्य वृद्धि र उद्योग व्यवसाय धमाधम धरासायी बन्दै गएको चुनौतीपूर्ण अवस्थाबाट मुलुकलाई बचाउन केन्द्रीय बैंक र सरकार दुवैबाट भरमग्दुर प्रयास हुनुपर्नेतर्फ पनि व्यवसायीले ध्यानाकर्षण गराएको छ ।
भक्तपुर चेम्बर अफ कमर्सको संयोजनमा ज्ञापनपत्र बुझाउन भक्तपुर नगर चेम्बर, चाँगुनारायण नगर चेम्बर, मध्यपुर थिमि नगर चेम्बर, सूर्यविनायक नगर चेम्बर, भक्तपुर घरेलु तथा साना उद्योग सङ्घ, भक्तपुर विद्युतीय सामग्री व्यवसायी सङ्घ, भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ सङ्घ, नेपाल औषधि व्यवसायी सङ्घ भक्तपुर जिल्ला समिति, भक्तपुर वन पैदावार उद्योग व्यवसायी सङ्घका प्रतिनिधिको जिल्ला प्रशासन कार्यालय पुगेका छन् । ज्ञापनपत्र भक्तपुर चेम्बर अफ कमर्सका उपाध्यक्ष कविदास श्रेष्ठले प्रजिअ शर्मालाई हस्तान्तरण गरेका हुन् । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९  २३:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार