सोसल मिडिया
Contact Us
युनिकोड
बेइजिङ । पार्टीको अधिवेशनबाट तेस्रो कार्यकालका लागि पुनः शक्तिमा आएका चिनियाँ राष्ट्रपति सी जिन्पिङले आफ्नो नयाँ समूह चयन गरेका छन् । चीनको नयाँ प्रधानमन्त्रीमा ली चियाङ चयन भएका छन् । प्रधानमन्त्री ली खछ्याङ पार्टी नेतृत्वबाट बाहिरिएपछि आइतवार नयाँ प्रधानमन्त्रीको घोषणा भएको हो । यसअघि चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी समितिबाट यसअघिका प्रधानमन्त्री ली सहित चार जना नेताहरू बाहिरिएका थिए ।
हरेक पाँच वर्षमा हुने चिनियाँ कम्युनिस्ट पार्टीको अधिवेशनबाट पार्टी महासचिव सँगै सात सदस्यीय स्थायी समिति र २५ सदस्य रहेको पोलिटब्यूरो चयन हुन्छन् । विगतको अभ्यास तोड्दै राष्ट्रपति सी जिन्पिङ तेस्रो कार्यकालका लागि पार्टी महासचिव छानिएका छन् । नयाँ चयन भएको पोलिटब्यूरोमा एक जना पनि महिला छैनन् । चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी समितिको बाँकी सदस्यमा झाओ लेजी, वाङ हुनिङ, साई ची, दिङ सियासियाङ र ली सी चयन भएका छन् । तीमध्ये झाओ र वाङ मात्रै दोहोरिएका हुन् भने प्रधानमन्त्री लीसहित चार जना नयाँ सदस्य हुन् । स्थायी समितिबाट बाहिरिनेमा उपप्रधानमन्त्री हान झेन र चीनको नेशनल पीपल्स कङ्ग्रेसका अध्यक्ष ली चाङ्शू पनि छन् । नेपालका तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चाङ्शू गत महिना नेपाल भ्रमणमा आएका थिए । चिनियाँ कम्युनिस्ट पार्टीको सल्लाहकार निकायका प्रमुख वाङ याङ पनि स्थायी समितिबाट बाहिरिएका छन् ।
को हुन् नयाँ प्रधानमन्त्री
राष्ट्रपति सीसँग निकट मानिने ६३ वर्षीय ली यसअघि उनको सचिवालयमा प्रमुखको रूपमा समेत काम गरेका थिए चियाङ पार्टीको साङ्घाइ प्रमुख थिए र यसअघि उक्त सहरमा भएको दुई महिने लकडाउनमा उनले नेतृत्व गरेका थिए । स्टेट काउन्सिल भनिने चिनियाँ मन्त्रिपरिषद्को अनुभव नभएका लीलाई पार्टीमा एकै पटक केही तह बढुवा सहित प्रधानमन्त्रीमा नियुक्त गरिएको हो ।
‘केन्द्रमा काम गरेको अनुभवबिनै प्रदेश वा नगरको जिम्मेवारीबाट सिधै प्रधानमन्त्रीमा बढुवा हुने ली चियाङ पहिलो अधिकारी हुन्’, अमेरिकन युनिभर्सिटीका प्राध्यापक याङ झाङले भने । उनका अनुसार उपप्रधानमन्त्रीको रूपमा काम नगरी प्रधानमन्त्री बन्ने ली झाओ इनलाई पछि दोस्रो हुन् । मन्त्रिपरिषद्को अनुभव नभएका कारण ली आफ्नो अधिकार प्रयोगका लागि राष्ट्रपति सीमा निर्भर रहनुपर्ने विश्लेषकहरूले बताएका छन् । यसअघिका प्रधानमन्त्री ली खछ्याङ स्थायी समितिमा राष्ट्रपति सीसँग समेत प्रतिवाद गर्न सक्थे । लीको बढुवाले चिनियाँ राजनीतिमा महत्त्वपूर्ण पुनर्संरचनाका साथै राष्ट्रपति सीमा थप शक्ति केन्द्रीकृत भएको देखाएको छ ।
‘विश्वलाई चीन चाहिन्छ’ आफ्नो नयाँ टोली सार्वजनिक गरेपछि सीले चीनको विकाशका लागि विश्व चाहिने र विश्वका लागि पनि चीन आवश्यक पर्ने बताएका छन् ।
सीले डोर्याएको बाटोका कारण विश्व अर्थतन्त्रबाट चीन एक्लीएको चिन्ताबीच उनले यस्तो बताएका हुन् । ‘विश्वबाट अलग भएर चीनको विकाश हुन सक्दैन र विश्वलाई पनि चीनको आवश्यकता पर्छ’ सीले भने । आफूहरू आत्मविश्वासका साथ अघि बढिरहेको भन्दै उनले चीनलाई आधुनिक समाजवादी देश बनाउने वाचा गरे । ‘चीनलाई सबै हिसाबले आधुनिक समाजवादी देशमा परिणत गर्ने नयाँ यात्रामा हामीले आत्मविश्वासका साग पाइला चालिरहेका छौँ’, आफ्नो नयाँ टिम सार्वजनिक भएपछि सीले भने ।
सी चाहेसम्म पदमा रहिरहन सक्ने
तेस्रो कार्यकालका लागि राष्ट्रपति बनेका सी जिन्पिङ भविष्यमा कुनै राजनीतिक उतार चढाव आएर पदबाट हटाइएको अवस्थामा बाहेक आफूले चाहेसम्म पदमा रहिरहन सक्छन् । कम्युनिस्ट पार्टीको केन्द्रमा सीलाई निरन्तरता बाहेक यो महाधिवेशनले अरू कुनै निर्णय लिने अपेक्षा कसैले गरेका थिएनन् ।
यसमा नयाँ के भयो भने सीको नयाँ टोलीमा उनका निकटस्थहरू जम्मा भए । देशको अर्थतन्त्रको नेतृत्व गर्ने पार्टीको दोस्रो बरीयताको नेता तथा प्रधानमन्त्रीमा सीले ली चियाङलाई छानेका छन् । ली साङ्घाइमा कोभिड नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण आलोचित थिए । कम्युनिस्ट पार्टीको २५ सदस्यीय पोलिटब्यूरोमा महिला कहिल्यै चुनिएका छैनन् । सीले पनि यो परम्परा तोड्न सकेनन् । चीनको सांस्कृतिक क्रान्तिका समयमा ग्याङ अफ फोरका नामले चिनिएको नेतृत्व तहको समूहमा माओकी चौथो श्रीमती रहे पनि उनको पद औपचारिक थिएन । नेतृत्वमा महिला नहुँदा कतिपयलाई बेखुसी लागे पनि यो अनौठो होइन ।–बीबीसी