तिहारमा मौसम सफा रहने

मंगलबार, कात्तिक ८, २०७९

 काठमाडौँ । मनसुन सकिनै लाग्दा नेपालको आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले वर्षा गराउँदा यो वर्षको दसैँ मौसमी हिसाबले केही प्रभावित बनेको थियो । असोज १८ गतेदेखि झण्डै डेढसाता निरन्तर देशैभर वर्षा भयो । यतिखेर तिहारको माहोल चलिरहेको छ । तर मनसुन सकिएसँगै मौसमले पनि साथ दिएकाले यो पटकको तिहार निकै उल्लासमय हुने देखिएको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले तिहारमा मौसम सफा रहने जनाएको हो । महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले वर्षा गराउने कुनै मौसमी प्रणाली विकसित नभएकाले यो पटकको तिहारमा मौसम सफा रहने बताए ।
वर्षाका कारण दसैँमा आफन्त मान्यजनकहाँ टीका लगाउन जाने र विभिन्न गन्तव्यमा पुग्नेलाई निकै सास्ती दियो । पाकेको धानबालीमा पनि क्षति पु¥यायो, बाढी, पहिरो र डुबानका घटना पनि भए । त्यतिमात्रै होइन, शरद ऋतुको मुख्य पर्यटकीय सिजन पनि चलिरहेकामा वर्षाले आन्तरिक तथा बाह्य पर्यटनलाई पनि असर पुग्यो । तिहार आउन एक साताअघिदेखिनै देशैभरको मौसम सफा रहेको छ । आज तिहारको तेस्रो दिन गाईपूजा गरी मनाइएको छ । सोमबार साँझ लक्ष्मीपूजा गरी धुमधामका साथ मनाइयो ।
महाशाखाको पछिल्लो विवरणमा अहिले देशका पहाडी भेगमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । वरिष्ठ मौसमविद् पौडेलका अनुसार प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा छिटफुट र हल्का वर्षा हुने सम्भावना छ तर, सानो–सानो बादलको टुक्रा रहेकाले ठूलो प्रणाली देखिँदैन ।
“मनसुन पनि बाहिरियो, पश्चिमबाट पानी पार्ने प्रणाली आउनुपर्छ त्यो सम्भावना देखिँदैन स्थानीय वायु पनि सक्रिय छैन । त्यसैले तिहारमा मौसम सफा रहने देखिन्छ । चिसो क्रमिकरूपमा बढ्दैछ, बिहान–बेलुका बढी चिसो हुन्छ”, मौसमविद् पौडेलले भने ।

बाढीले जलविद्युत् केन्द्रमा क्षति पु¥याउँदा मुगु  विद्युतविहीन

गत असोजको अन्तिम सातामा आएको भारी वर्षाका कारण गमगाड साना जलविद्युत्गृहमा क्षति पु¥याउँदा कर्णाली प्रदेशको मुगु जिल्ला विद्युतविहीन बनेको छ । 
गत असोज १९–२५ गतेसम्मको भारी वर्षासँगै आएको बाढीपहिरोले छायाँनाथ रारा नगरपालिका–४ स्थित विद्युत्गृहको एक हजार एक सय मिटर लामो नहरमध्ये झण्डै सात सय मिटरमा क्षति पु¥याएको छ । यसैगरी, बाढीपहिरोबाट  विद्युत्गृहको सबस्टेसनका संरचनामा पनि क्षति पुगेको छ । 
बाढीपहिरोले क्षति पु¥याएको नहरको पुनःनिर्माण र मर्मत गर्नुपर्ने छ । नेपाल विद्युत् प्राधिकरणले क्षति पुगेका संरचनाको पुनःनिर्माण सुरु गरिसकेको छ । केही समयभित्रै  पुनःनिर्माण सम्पन्न गरी विद्युत् आपूर्ति गर्ने लक्ष्यका साथ काम भइरहेको छ । वैकल्पिक व्यवस्थामार्फत विद्युत् आपूर्तिका लागि प्रयास भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । “पुनःनिर्माणलाई तीव्रता दिने र तत्काल विद्युत् आपूर्तिका लागि जेनेरेटर लगेर विद्युत् उत्पादनको प्रयास गरिरहेका छौँं,” उनले भने । 
भौगोलिक रूपमा विकट मुगु जिल्लामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सकेको छैन । नेपाल विद्युत् प्राधिकरणले चार सय किलोवाट जडित क्षमताको गमगाड साना जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी मुगु सदरमुकाम गमगढी र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति गर्दै आएको छ । मुगुमा विद्युत् सेवा लिने ग्राहकको सङ्ख्या तीन हजार एक सय  छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ८, २०७९  १८:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार