माटो परीक्षण गर्न कृषकको आनाकानी

बिहीबार, कात्तिक १०, २०७९
मयुर प्लाई
Global Ime Bank

पर्वत । कृषिकर्म गरिरहेका कृषकलाई मेहेनत गरेअनुसार अन्नबाली उत्पादन भएको छ ? भनेर प्रश्न गर्ने हो भने अधिकांशको उत्तर आउँछ ‘कहाँको उत्पादन हुनु ? नगरी नभएर हो ।’ 
उनीहरूको जवाफ पनि सही हो । खेतबारीमा जति मेहेनत गरिएको हुन्छ, त्यसको तुलनामा अन्न उत्पादन नहुँदा धेरै कृषकले वैकल्पिक बाटो रोजेका छन् त कतिले व्यावसायिकरूपमा भन्दा आफूलाई काम चल्ने गरेर मात्रै खेतीपाती गर्ने गरेका छन् ।
यो नतिजा आउनुको एक प्रमुख कारणका रूपमा माटो परीक्षण नगरीकनै खेतीबाली लगाउनु भएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताइन् ।  कृषकलाई व्यावसायिकरूपमा कृषिमा आकर्षण गरी थोरै माटोको अवस्थाअनुसारको खेती गर्न भन्दै गण्डकी प्रदेश सरकारले २०७८ सालदेखि प्रदेशका हरेक कृषि ज्ञान केन्द्र माटो परीक्षणका लागि ‘मिनी ल्याब’ स्थापना गरेको छ । गत वर्षको साउनदेखि हालसम्मका १३ महिनाको अवधिमा कुल २२ वटा नमूनाको मात्रै परीक्षण भएको छ । त्यो पनि कृषकले ल्याएको नभई ज्ञान केन्द्र आफैँले माटो ल्याएर ।
विगतका वर्षमा जस्तो माटो परीक्षणका लागि पोखरा नै जानुपर्ने अवस्था रहेको भए ती २२ वटा नमूना पनि आउने थिएनन् । तर जिल्लामै परीक्षण हुने भएकाले कार्यालयको सक्रियतामा जिल्लामा मोटोको अवस्थाका बारेमा थाहा पाउन सजिलो भएको छ ।
माटो परीक्षणको क्रममा माटोमा रहने धेरै प्रकारका खाद्य तत्वको अवस्थाबारे पत्ता लगाइन्छ । ठूला अनुसन्धानमा सबै प्रकारका खाद्य तत्वको परीक्षण गरिने भए पनि कृषकलाई लक्षित गरेर गरिने परीक्षणमा नाइट्रोजन, फस्फोरस र पोटासको परीक्षण गर्ने गरिन्छ । यसबाहेकका अन्य दुई प्रकारका खाद्य तत्वलाई पनि अवस्थाअनुसार परीक्षण गरिन्छ । 
माटोमा रहेका पाँच प्रकारका तत्वको परीक्षण गर्दा खास लाग्ने शुल्क पाँच सय रुपैयाँ हो । तर कृषि ज्ञान केन्द्रले कृषकलाई रु एक सयमा नै परीक्षण गर्दै आएको छ । विद्यार्थी वा अन्य प्रयोजनको अनुसन्धान गर्न माटो परीक्षण गर्नेले भने रु तीन सय तिर्नुपर्छ । 
निकै सुलभ दरमा माटो परीक्षण हुँदा पनि कृषक भने परम्परावादी तरिकामा आफ्नै ढङ्गले खेती गरिरहेका छन् । जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीका रामकृष्ण लामिछानेले जिल्लामा माटो परीक्षण हुन्छ भन्ने थाहा पाए पनि त्यसका लागि नगएको बताए । 
“माटो परीक्षण हुन्छ भन्ने त थाहा थियो, त्यही पनि खै अरूले माटो लगेको देखेको छैन, मैले पनि लगेको छैन । अन्न फल्नै छाडे त के भयो भनेर खोजी हुने थियो होला”, उनले भने, “बरु अब एकचोटी लगेर देखाउन पर्ला । यहाँको जमिनमा राम्रो उत्पादन हुने भएकाले पनि यतातिर परीक्षणमा खासै कसैको रुचि देखिन्न ।”
वरिष्ठ कृषि विकास अधिकृत थापाले यसमा कृषकको चासो निकै कम भएको बताउँछन् । गाउँमा रहेका कृषि फार्म तथा विभिन्न अनुगमनका लागि जाने बेलामा परीक्षणका लागि आउन भनिए पनि कृषक नआएको उनको अनुभव छ । बिरामी परेको मान्छेलाई अस्पताल नलगी घरमै राखेर ‘एक–दुई दिन विचार गरौँ न १ ’ भन्ने मानसिकता रहेको बेलामा माटोको खोजी गर्नु परको कुरा भएको उनको भनाइ छ । 
“मान्छे नै बिरामी परे पनि एक–दुई दिन हेरौँ, भएन भने लैजाउँला भन्ने मानसिकता अझै पनि भेटिन्छ । मान्छेलाई त समयमा उपचार नगर्ने अवस्थामा माटोको उपचार गर्न कसलाई पो चासो लागोस ?” उनले भनिन्,  “तर जब कुरा बुझ्नुहुन्छ, त्यसपछि कृषक आफैँले माटो बोकेर आउनुहुने छ । यसको फाइदाका बारेमा जानकार नभएर पनि चासो नभएको होला ।” कृषकहरू यसमा आकर्षित नहुनुको कारण ज्ञान केन्द्रको सक्रियता यो भन्दा पनि बढी आवश्यक भएको हुनसक्ने अहिलेसम्म आफूहरूले सकेसम्म प्रचार–प्रसार गरिरहेको उनको भनाइ छ ।
कृषकले परीक्षणका लागि माटो नल्याएको भए पनि कृषि ज्ञान केन्द्रले अनुगमन वा कार्यक्रममा गएको बेलामा फरक–फरक ठाउँबाट माटोको नमूना ल्याएर परीक्षण गर्ने गरेको छ । त्यो नतिजालाई हेर्दा नेपालभर रहेको अवस्थाभन्दा पर्वतको माटो झनै बिग्रिएको अवस्थामा रहेको पाइएको छ । नेपालको माटोको पिएच हेर्दा राष्ट्रियरूपमा ६० प्रतिशत छ । यो आफैँमा माटोको कमजोर अवस्था हो । जबकि पर्वतको माटोमा त्यही पिएचको अवस्था ८४ प्रतिशत रहेको पाइएको छ । २२ वटा नमूनाको परीक्षणबाट यो अवस्था देखिएको र यसले कृषि उत्पादनलाई विस्तारै कमजोर पार्दै लगेको थापाको भनाइ छ । माटोमा नाइट्रोजन र फस्फोरसको मात्रा जति धेरै भयो उति नै राम्रो हुने भए पनि पर्वतको माटोको अवस्था मध्यम देखिएको छ । 
माटोको गुज्रिएको अवस्थाका कारण नै माटोको शक्ति जोगाउन सबै कृषकलाई कार्यालयमा आएर यसबारेमा आह्वान गरिएको उनले बताइन् । माटोको अवस्था यही गतिमा खस्किँदै जाने हो भने केही वर्षपछि उत्पादन शून्य अवस्था आउन सक्ने र भोकमरीको अवस्था आउन सक्ने थापाले बताइन् । 

माटोमा अम्लियपना बढ्दा रैथाने खेती नासिँदै
तीन दशकदेखि म्याग्दीको बेनी नगरपालिका–२ खबरामा व्यावसायिक तरकारी र फलफूल खेती गर्दै आएका ५८ वर्षीय चन्द्रबहादुर कार्की आफ्नो खेतीबारीमा फलेका तरकारी र रैथाने जातका खाद्यान्न देखेर दङ्ग पर्थे ।
कुनै पनि विषादीको प्रयोग नगरीकन खेतबारीमा लटरम्मै भएर फलेका तरकारी, फलफूल, हिउँदे र बर्खेबाली बिक्री गरेर लभ्लीहिलमा तीनतले पक्कीघर र सदरमुकाम बेनी बजारको मङ्गलाघाट घरघडेरी जोड्न सफल कार्की अहिले भने कृषि पेसाबाट वितृष्णा जागेको बताउँछन् । 
जिल्लाकै अगुवा कृषक कार्कीलाई कृषिमा वितृष्णा त्यत्तिकै आएको होइन । आग्र्यानिक तरकारीमात्रै फलाउने र बिक्री गर्ने कार्कीले ‘इमानदार कृषक’को पहिचानमा नै विषादीको दाग लाग्न थालेपछि कृषि पेसाप्रति वितृष्णा जागेको हो ।
माटोको उर्वराशक्तिमा ह्रास आउँदै गएपछि आग्र्यानिक रैथाने कृषि उत्पादन अब तीव्ररूपमा घट्दै गएको र विषादीको प्रयोग गरेर खेती गर्न आफ्नो मनले नमानेको हुँदा वर्षौँदेखि गर्दै आएको ‘खेती गरौँ कि छाडौँ’ को स्थितिमा पुगेको उनले बताए । 
“मैले सुरुदेखि नै आग्र्यानिक रैथाने जातका खेतीलाई महत्व दिएँ, यहीँ माटोमा पसिना बगाएर पुग्दो सम्पत्ति पनि जोडेँ”, कार्कीले भने, “विगत पाँच–छ वर्षयता माटोमा अम्लियपना बढ्दै गयो, रैथाने बीउबाट फसल उत्पादन घट्दै जान थाल्यो, विषादीको प्रयोग नगर्ने हो भने रोग र किराको समस्याले सताउन थाल्यो”, उनले भने । 
“अचेल त विष प्रयोग नगरी तरकारी फल्दैन, बाली पाक्दैन । प्रत्येकको घरको भान्सामा विष मिसिएको तरकारी नपकाइ सुखै छैन”, कार्कीले भने । कृषिमा निर्भर नेपालको आर्थिक प्रणाली प्रभावित हुने गरी जलवायु परिवर्तनको असर देखिन थालेको छ । फलफूलहरु ढिलो पाक्न थालेका छन्, वातावरणीय सन्तुलन किग्रँदै जान थालेको र रैथाने जातका बीउ अभाव हुँदा खाद्य सुरक्षामै प्रश्न उठ्न थालेको छ ।
कृषि वैज्ञानिक टीकाबहादुर कार्कीका अनुसार जलवायु परिवर्तनका कारण यस्ता समस्या म्याग्दीमा मात्रै होइन, जताततै देखिन थालेका छन् । उनी भन्छन्, “जलवायु परिवर्तनका कारण रैथाने जातको उत्पादन कम हुँदै जान थालेका छन् । कतिपय स्थानीय जातका बीउहरू त लोप पनि भइसकेका छन् ।” कृषि प्रणालीका हरेक पक्षमा नकारात्मक प्रभाव परिरहेको छ ।
परिवर्तित जलवायु सुहाउँदो खेती गर्ने प्रयास नगरिँदा यसले नेपालको खाद्य सुरक्षामा नै दीर्घकालीन प्रभाव पारिरहेको कृषि विज्ञहरुको भनाइ छ । किसानका अनुसार सुन्तला, आँपलगायतका फलफूलमा कोपिला लाग्ने, फूल फुल्ने र फल पाक्ने समय पनि परिवर्तन भएको छ । सुन्तला मङ्सिरमा पाक्न थालेको छ । पहिला–पहिला माघमा कोपिला लागेर फागुनमा आँपको फूल फुल्थ्यो भने अहिले आँपको फूल कि त चैत कि त वैशाखमा फुल्न थालेको कृषकले बताएका छन् ।
 कृषि प्राविधिक जगत बानियाँ अनपेक्षितरूपमा कम वा बढी वर्षा हुँदा सिमी, आलु, करेला, भिन्डी, काँक्रो, बोडी र घिरौँलाजस्ता तरकारीको गुणस्तर र रङ तथा स्वाद पनि बदलिएको बताउँछन् । हिउँदमा खेती गर्ने काउली र बन्दाजस्ता तरकारीका फलको आकार पछिल्लो वर्ष सानोभन्दा सानो हुँदै गइरहेको छ ।
बालीनालीमा मात्रै होइन, पशुलाई खुवाउने घाँसमा पनि औषधि हाल्नुपरेको किसानको गुनासो छ । “घाँसमा पनि विषादी नहाल्ने हो भने बोट मर्ने र छिटो ओइलाउने हुन थाल्यो, मैले त घाँसमा पनि विषादीको प्रयोग गर्ने गरेको छु”, कृषक तीर्थ सापकोटाले भने । खाद्यान्नमा झैँ पशुले खाने घाँसको पनि पोषण र गुणस्तरमा प्रभाव पर्नु सामान्य हो । घाँसमा विषादीको प्रयोग गर्दा दूधदेखि मासुसम्मका पशुजन्य उत्पादनमा असर पर्ने कृषि प्राविधिक बताउँछन् । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १०, २०७९  ०९:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार