बालगोपालेश्वर मन्दिरमा सामूहिक भाइटीका लगाइयो

राख्नु परेन निधार रित्तो
बिहीबार, कात्तिक १०, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । तिहार पर्वका अवसरमा भाइटीकाका दिनमा मात्र भक्तजनलाई खुला गरिने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिरमा आज सामूहिक भाइटीका लगाइएको छ ।
 प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिन खुल्ने उक्त मन्दिरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ मन्दिरमा पुगेर टीका लगाउने गर्छन् । सोही अनुरुप आज पनि दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइले टीका लगाएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । घर गएर टीका लगाउन नपाएका पनि रानीपोखरी पुगेर मन्दिर दर्शन गर्नुका साथै टीका लगाउँछन् । भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने प्रवक्ता मानन्धरले बताए । 
यसैबीच, काठमाडौँको वसन्तपुरस्थित काष्ठमण्डप मन्दिरमा पनि आज भाइटीका लगाइएको छ । अञ्जली मास्के (अञ्जली दिदी) ले दिदीबहिनी नभएका दाजुभाइलाइ सामूहिक भाइटीका लगाइदिएकी हुन् । उनले हरेक वर्षजस्तै यस वर्ष पनि टीका लगाउन इच्छुक दाजुभाइलाई विधिपूर्वक भाइटीका लगाइ दिइन् । अञ्जली दिदीले कुनै पनि दाजुभाईको निधार खाली नहोस् भन्ने उद्देश्यले आफूले सामूहिक टीका लगाउने गरेको जानकारी दिइन् । अञ्जली दिदीले विस २०५५ देखि सामूहिक भाइटीका लगाउदै आएकी छन् । 

राख्नु परेन निधार रित्तो

यता मोरङमा दिदीबहिनीको हातबाट भाइटीका लगाउन नपाएका दाजुभाइले निधार रित्तो राख्नु परेन । बुढीगङ्गा गाउँपालिका–३ को बाँसबारीमा रहेको ब्रह्माकुमारी राजयोग उप–सेवा केन्द्रले खाली निधारका कारण हुन सक्ने नैराश्यतालाई न्यून गर्न भाइटीकाको अवसरमा बिहीबार त्यहाँ पुग्ने जोकोहीलाई भाइटीका लगाइदिने व्यवस्था मिलाएको थियो । दिदीबहिनी र दाजुभाइ नहुनेले पनि निधारमा भाइटीका थाप्न पाएका थिए । 
पुरूष मात्र नभई उल्लेख्य सङ्ख्यामा महिला पनि टीका थाप्न उप–सेवा केन्द्र पुगेका थिए । उप–सेवा केन्द्रकी सञ्चालक ब्रह्मकुमारी सत्यभामा, जुनु र रेणु दिदीले टीका थाप्न आउनेलाई सप्तरङ्गी टीका र सयपत्रीको माला लगाइ दिएकीप् थिइन् । 
सत्यभामा दिदीको हातबाट टीका र माला ग्रहण गर्दा कतिपय भावुक बन्नुभएको थियो । बुढीगङ्गा–१ बस्ने पर्शुराम कार्कीले आफ्नो दिदी बहिनी नहुँदा उपसेवा केन्द्रमा ब्रह्मकुमारी दिदीको हातबाट भाइटीका थाप्न वर्षमा एकपटक आउने गरेको बताए । उनले विगत १० वर्षदेखि टीका थाप्न आउने गरेको र दिदी बहिनी नभएकै कारणले भने निधार रित्तो राख्नु नपरेको बताए । 
कार्कीले आफ्नो दिदीबहिनी नहुँदा पनि आफन्त झैँ गरेर उप–सेवा केन्द्रका दिदीको हातबाट भाइटीका लगाउन पाउँदा हर्षले विभोर हुने गरेको र नारीप्रतिको सम्मान अझै प्रगाढ बन्ने गरेको बताउनुभयो । 
ग्रामथान–२ झोराहाटका प्रशान्त राजवंशीले आफू विगत तीन वर्षदेखि ब्रह्मकुमारी दिदीको हातबाट भाइटीका ग्रहण गर्दै आएको बताए । उनले भाइटीकामा टीका लगाइदिने दिदी बहिनी नहुँदा आफू निराश बन्ने गरेको बताए । राजवंशीले ब्रह्मकुमार दिदीले भाइटीकाको दिन टीका लगाइदिने गरेको सुनेपछि टीका लगाउन यहाँ आउने गरेको बताए । 
बुढीगङ्गा–३ बाँसबारी बस्ने अन्जना ओझाले आपूm महिला भए पनि ब्रम्हाकुमारी दिदीप्रतिको श्रद्धाका कारण भाइटीकामा पनि सप्तरङ्गी टीका लगाइ माग्न आउने गरेको बर्ताए । उनले भाइटीका खुशी, उमङ्ग र सौहर्दताको उत्सव भएकोले बीनाकुनै भेदभाव उप–सेवा केन्द्रका दिदीले टीका लगाइदिने गरेको बताइन् । 
ब्रह्मकुमारी दिदी सत्यभामाले भाइटीकालाई कुनै एक जाति र धर्म विशेषसम्ममा सीमित राख्न नहुने बताइन् । उनले दिदीबहिनी वा दाजुभाइ भएका वा नभएका जोकोहिलाई पनि आफूले भाइटीका लगाइदिने गरेको बताइन् । 
दिदी सत्यभामाले आध्यात्मिक नाताले दाजुभाइ र जोकोही आउनेलाई टीका र माला लगाएर उनीहरूको मनोकांक्षा पूरा होस् र जीवनमा सफलता प्राप्त गर्नुहोस् भनेर कामना गर्ने बताइन् । वर्षदिनको अन्तरालमा सङ्घर्ष गरेर जीवनलाई अगाडि बढाउँदै गएका दाजुभाइ र दिदीबहिनीलाई सप्तरङ्गी टीका लगाएर र माला पहिराएर विजयीको कामना गर्ने गरेको ब्रह्मकुमारी दिदी सत्याभामाले बताइन् । 
उनले उप–सेवा केन्द्र परमात्माको दरबार भएकोले कसैलाई पनि यहाँ आउनबाट बन्देज नलगाइएको बताइन् । दिदी सत्यभामाले भाइटीकाको दिन टीका र माला थाप्न हिन्दूमात्र नभइ अन्य धर्मावलम्बी, समूदायका महिला र पुरूष आउने गरेको बताइन् । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १०, २०७९  १९:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार