सोसल मिडिया
Contact Us
युनिकोड
भैरहवा । नेकपा एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालको आगमनले रुपन्देही निर्वाचन क्षेत्र नं १ को समीकरण फेरिएको छ । यसअघि रुपन्देही निर्वाचन क्षेत्रबाट राप्रपाका दीपक बोहरालाई हराएर प्रतिनिधिसभा सदस्य बनेका घनश्याम अहिले आफ्नै क्षेत्रमा उम्मेदवारी दिएका छन् । २०७४ सालको निर्वाचनमा क्षेत्र नं १ मा एमालेबाट छविलाल विश्वकर्मा विजयी भएका थिए । नेकपा एमालेका सचिवसमेत रहेका छविलाल अहिले आफ्नै पूर्वसहकर्मी घनश्यामसँग भिड्न परेको छ । रुपन्देही निर्वाचन क्षेत्र नं १ का स्वतन्त्र उम्मेदवार घनश्यामलाई नेकपा माओवादी र नेपाली कांग्रेसले समर्थन गरेको छ । सत्ता गठबन्धनमा क्षेत्र नं १ माओवादीको कोटामा परेको थियो । यहाँबाट माओवादी नेत्री ओनसरी घर्तीले उम्मेदवारी दिने करिब तय नै भएको थियो । तर मनोनयन दर्ताको अघिल्लो दिन घनश्यामले उम्मेदवारी दिने भनेपछि माओवादीले आफ्नो उक्त स्थान उनलाई दिने घोषणा ग¥यो । अहिले घनश्यामकै प्यानलमा प्रदेशसभा सदस्यका लागि नेपाली कांग्रेसका अब्दुल रज्जाक र विश्वनाथ यादवले उम्मेदवारी दिएका छन् । २०६४ सालको निर्वाचनमा अब्दुल रज्जाक छविलाल विश्वकर्मालाई हराउँदै संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । तर २०७४ सालको निर्वाचनमा उनै छविलालले नेपाली कांग्रेसका अब्दुल रज्जाकलाई पाँच हजार तीन सय १२ मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्यमा चयन भएका थिए । २०७४ सालमा एमालेका छविलालले २६ हजार ६ सय मत पाउँदा रज्जाक भने २१ हजार तीन सय २८ मतमा खुम्चिनु परेको थियो । विसं २०७४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको सहयोगमा कांग्रेसले २१ हजारभन्दा बढी मत पाउँदा नेकपा माओवादी समेतको गठबन्धनबाट एमाले प्रतिस्पर्धी विश्वकर्माले २६ हजार मत पाएका थिए । तर अहिले अवस्था फरक रहेको छ । पहिला सहकार्य गरेका सहायक दलहरु एक अर्काको विरुद्ध उभिएका छन् भने पूर्वसहकर्मीहरु प्रतिद्वन्द्वी भएका छन् । २०७४ सालमा सहजै जीत निकालेका छविलाल विश्वकर्माको बाटोमा अहिले नेकपा एमालेकै पूर्वनेता घनश्याम भुसाल तगारो बनेका छन् । यसअघि पर्यटक सांसद भनेर आलोचना खेप्दै आएका विश्वकर्माको अगाडि स्थानीयसमेत रहेका भुसाल बलियो देखिएका छन् । क्षेत्र नं १ मा देवदह नगरपालिका, रोहिणी गाउँपालिका, तिलोत्तमा नगरपालिका–७, ८, ९, १०, ११, १२, १५, १६, १७ र ओमसतिया गाउँपालिका–१, ३, ४, ५, र ६ गरी जम्मा ३३ वडा रहेको छ । रुपन्देही निर्वाचन क्षेत्र नं १ मा रहेका स्थानीय तहको नतिजाले घनश्याम भुसाल यस पटक भारी पर्ने सङ्केत गरेको छ । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतलाई आधार मान्ने हो भने क्षेत्र नं १ को प्रदेशसभा ‘क’ तर्फ नेपाली कांग्रेसले पाँच हजार नौ सय २७ मत प्राप्त गरेको थियो । नेकपा एमालेले ६ हजार तीन र राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई हजार ८७ मत प्राप्त गरेको थियो । यस्तै प्रदेशसभा ‘ख’ तर्फ नेपाली कांग्रेसले १४ हजार दुई सय तीन र एमालेले नौ हजार आठ सय एक मत प्राप्त गरेको तथ्याङ्क छ । यसरी क्षेत्र नं १ मा नेपाली कांग्रेसले २० हजार एक सय ३०, नेकपा एमालेले १५ हजार आठ सय चार र राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई हजार ८७ मत पाएका थिए । सबै मत जोड्दा राप्रपासहितको अहिले विपक्षी गठबन्धनको मत १७ हजार आठ सय ९१ मत देखिन्छ भने नेपाली कांग्रेसका एकल मत २० हजारभन्दा बढी रहेको छ । अझ यसमा नेकपा माओवादीले पाएको मतसमेत जोड्ने हो भने भुसालको विजय हुने बलियो आधार देखिन्छ । क्षेत्र नं १ को ३३ वडाहरुमध्ये सबैभन्दा धेरै नेपाली कांग्रेसले १४ वडा जितेको छ, एमालेले ११, राप्रपाले ६ तथा नेकपा माओवादी र जनता समाजवादी पार्टीले एक÷एक वडा जितेका छन् । नेकपा एमालेबाट असन्तुष्ट नेता र भुसालका आफ्नै कार्यकर्ताहरु पनि रहेका छन् । अहिले क्षेत्र नं १ बाट नेकपा एमालेका असन्तुष्ट नेताहरु पार्टी छोड्ने र घनश्याम भुसाललाई समर्थन गर्ने पनि रहेका छन् । यस्तो अवस्थामा छविलाल विश्वकर्मालाई अब नेपाली कांग्रेस र नेकपा माओवादीका असन्तुष्ट नेता कार्यकर्ताहरुको भर रहेको छ । रुपन्देही निर्वाचन क्षेत्र नं १ मा प्रदेशसभा ‘क’ तर्फ ३६ हजार एक सय ४० पुरुष र महिला ३६ हजार ७१ गरी ७२ हजार दुई सय ११ जना मतदाता रहेका छन् । यस्तै प्रदेशसभा ‘ख’तर्फ ३३ हजार सात सय ९३ पुरुष, ३३ हजार पाँच सय ५४ महिला र दुईजना अन्य गरी ६७ हजार तीन सय ४९ मतदाता रहेका छन् । क्षेत्र नं १ मा कूल मतदाता एक लाख ३९ हजार पाँच सय ६२ जना रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । क्षेत्र नं १ को प्रदेशसभा ‘क’तर्फ २४ वटा मतदान स्थलहरुमा ८२ वटा मतदान केन्द्र र प्रदेशसभा ‘ख’ मा २१ वटा मतदानस्थलहरुमा ७२ वटा मतदान केन्द्र गरी जम्मा ४३ वटा मतदानस्थलबाट एक सय ५४ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।