‘छठ’ पर्वमा सामग्री खरिद गर्नेको भीड 

आइतबार, कात्तिक १३, २०७९
मयुर प्लाई
Global Ime Bank

विराटनगर । तिहारपछि तराईमा उमङ्गका साथ मनाइने ‘छठ’पर्वका लागि बजारमा किनमेल गर्नेको अत्यधिक भीड लागेको पाइएको छ । यो भीड ‘छठ’ पूजाका लागि आवश्यक सामग्री खरिद गर्न लागेको हो ।    छठ पर्वका लागि पसलेले पनि आफ्ना सामान बिक्री गर्न व्यस्त देखिएका छन् । विराटनगरमा मात्र नभएर यो पर्व मनाउने क्षेत्रका बजार भीड देखिएको हो ।

लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कात्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट ‘छठ’पर्व विधिवत्रूपमा आरम्भ हुन्छ । यसका लागि चाहिने सामग्री हरियो तरकारी र फलफूल स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, भोगटे, उखु, हरियो बोडी, मूला, अदुवाको बोट पर्छन् । 

पूजाका लागि बर्तालु एवं श्रद्धालुले बाँसका सामग्रीमा कोनिया, ढाकी र नाङ्लो पनि खरिद गर्ने गर्दछन् । ‘छठ’पर्व मनाउने पोखरीको डिल, नहर र नदी किनारको सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् । घाटलाई आकर्षक एवं सजावट गर्न बर्तालुले लागिपरेका छन् ।
    
विराटनगरको सिङ्घिया खोला, केसलिया नदी, सुनसरी मोरङको सिँचाइ आयोजनाको नहर, पोखरीजस्ता स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जाका साथ घाट निर्माणमा जुटेका छन् ।

‘छठ’ पर्व हेतु विराटनगर महानगरपालिकाले सुनसरी मोरङ सिँचाइ आयोजनाको समन्वय एवं सहकार्यमा विराटनगर क्षेत्रभित्र रहेका नहरलाई सरसफाइ पनि सम्पन्न गरेको छ । यसले घाट निर्माण गर्दा बर्तालु एवं श्रद्धालुलाई पूजापाठ गर्न निकै सहज भएको छ ।

विराटनगर–११ पिचरामा स्थानीय युवा क्लब र संस्थाको अग्रसरतामा नहरलाई सिँगार्न जुटेका छन् । शुक्रबारदेखि सुरु भएको ‘पर्व’अन्तर्गत भोलि आइतबार साँझ अस्ताउँदो सूर्यलाई र सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न हुन्छ । 
यस पर्वमा ठकुवा, भुसुना, घ्यूमा तयार पारेका अन्य मिठाइ पनि खाने गर्दछन् । यो पर्वका लागि सरकारले आइतबार सार्वजनिक बिदा पनि दिएको छ । यो ‘पर्व’ को रौणक एवं चमक हेर्न आइतबार साँझ र सोमबार बिहान हजारौँ मानिस घाटमा भीड लाग्ने गर्छ ।

छठका लागि सरसफाई 

तराई मधेशवासीले लोक आस्थाको रुपमा मनाइने छठ पर्व मनाउनका लागि  उत्साहपूवर्क जुटेका छन् । दसैँ तिहार समाप्तिसँगै अहिले उनीहरु विभिन्न ताल,तलाउ र जलाशयलाई सफा गरी पूजाघाट तयार गर्ने काममा व्यस्त भएका छन् । सप्तरी सदरमुकाम राजविराजस्थित कल्टु, पूर्णी, तुरन्ती, शिव, भगवतीलगायतका पोखरीमा अहिले सरसफाइ र घाट बनाउने काम तीव्ररुपमा अघि बढेको छ । छठ मनाउने भक्तजनलाई सहयोग हुने उद्देश्यले  विगत एक सातादेखि राजविराज नगरपालिकाका सफाइकर्मी, नगरका जलाशयमा खटिएका छन् ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत निरन्जनप्रसाद यादवको अगुवाइमा नगरपालिकाभित्रका जलाशय सरसफाइमा एउटा टोली नै परिचालित भएका छन् । कतिपय जलाशय सफाइमा सेना र प्रहरीले पनि सघाइरहेको राजविराज–३ का श्याम रजकले बताए । 
 
यस्तै जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित सप्तकोसी नदीको कोसी ब्यारेजमा समेत घाट सजाउने काम भइरहेको छ । कञ्चनरुप नगरपालिकाको कञ्चनपुरमा समेत बिहानेदेखि पोखरी, ताल, नहरमा समेत छठको लागि घाट निर्माण भइरहेको स्थानीय राजकुमार पासवानले बताए । 

हनुमाननगर कङ्कालिनी–२ स्थित सकरदहीको पश्चिमी नहरमा समेत छठको लागि नहरको डिलमा सफाइ र सजावटको काम भइरहेको स्थानीय लाल माझीले जानकारी दिनुभयो । छठ पर्व मनाउन स्थानीयवासी आवश्यक सामग्री किन्न रजविराजको हटिया बजारतर्फ समेत भीड लागेका छन् ।

यहाँका गाउँ, ग्रामीण हाटदेखि सहरमा छठको चहलपहल बढेको छ । बजारमा छठको सामान किन्नेको घुइँचो देखिएको छ । विगतभन्दा यस वर्ष बजार भाउ निकै बढेको स्थानीय भक्तजनको गुनासो पनि रहेको छ ।
 
यता छठ पर्व मनाउने जलाशय र पूजा घाटमा आवश्यक सुरक्षा व्यवस्थापनका लागि विशेष सुरक्षा तयारी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेश सिंहले बताए । जिल्लावासीलाई ढुक्क भएर छठ पर्व मनाउन विशेष सुरक्षा तयारी गरिएको उहँले जानकारी दिनुभयो । भीड व्यवस्थित र सर्वसाधारणको शान्ति सुरक्षाका लागि ठूलो सङ्ख्यामा सादा पोसाकका प्रहरीसमेत परिचालन हुने उनले बताए ।

सूर्यको आराधना गरी मनाइने छठ पर्वअन्तर्गत यसपल्ट शुक्रबारदेखि नहाई खाय विधिबाट सुरु हुने पण्डित दुर्गानन्द मिश्रको भनाइ छ । दोस्रो दिन आज खरना, तेस्रो दिन आइतबार साँझ सन्ध्याकालीन अघ्र्य तथा चौथो दिन सोमबार बिहान सम्पूर्ण पुजन सामग्रीसहित उदाउँदो सूर्यलाई अघ्र्य दिने पण्डित मिश्रले बताए ।
    
पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ श्रद्धापूर्वक मनाइने यो पर्व मनाउनेको सङ्ख्या प्रत्येक वर्ष वृद्धि भइरहेको छ ।  

प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  ०५:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार