सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । रोबर्ट लेवानडोवस्कीले इन्ज्युरी समयमा गरेको गोलमा बार्सिलोनाले शनिबार राति स्पेनिस ला लिगामा भ्यालेन्सियामाथि १–० को संघर्षपूर्ण विजय हासिल गरेको छ । बुधबार राति जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखसँग ३–० ले पराजित भएपछि बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको थियो । बार्सिलोना लगातार दोस्रोपटक च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएको हो । गए राति पनि बार्सिलोना बराबरीमा रोकिने सम्भावना बढेको थियो । तर, ६ मिनेट इन्ज्युरी समयको तेस्रो मिनेटमालेवानडोवस्कीले गोल गरेपछि बार्सिलोना तीन अंक जोड्न सफल भयो । यसै सिजनको सुरुमा बायर्नबाट बार्सिलोना आएका लेवानडोवस्कीले लिगमा १३ गोल गरिसकेका छन् । धेरै गोल गर्नेमा लेवानडोवस्की शीर्ष स्थानमा छन् । दोस्रो स्थानमा रहनेको सात गोल छ । ३४ वर्षीय फरवार्ड लेवानडोस्कीले बार्सिलोनाबाट सबैखाले प्रतियोगितामा गरी १७ गोल गरिसकेका छन् । जितसँगै १२ खेलबाट ३१ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । त्यो दोस्रो स्थानको रियाल मड्रिडसँग बराबरी अंक हो । गोलअन्तरमा बार्सिलोना अगाडि भएको हो । बार्सिलोनाले एक खेल बढी खेलेको छ । पराजित भ्यालेन्सिया १५ अंकका साथ दशौँ स्थानमा छ । एट्लेटिको २–३ काडिजला लिगामा गए राति तेस्रो स्थानको एट्लेटिको मड्रिड रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको काडिजसँग ३–२ ले पराजित भयो । योसँगै एट्लेटिकोले शीर्ष टिम बार्सिलोना र रियालसँग अंक दूरी घटाउने मौका गुमाएको छ । साथै, तेस्रो स्थान पनि कमजोर बनेको छ । रियाल सोसिडाडले आज आज राति रियाल बेटिसविरुद्ध खेल्दै छ । त्यो खेल जितेमा रियाल सोसिडाड तेस्रो स्थानमा उक्लनेछ ।एट्लेटिकोको १२ खेलबाट २३ अंक छ । चौथो स्थानको रियाल सोसिडाडको २२ अंक छ । २० अंक जोडेको रियाल बेटिस पाँचौँ स्थानमा छ । गए राति नै भएका अरू खेलमा सेभिया रायो भायोकानोसँग १–० ले पराजित भयो । मायोर्काले स्पानियोलसँग १–१ को बराबरी खेल्यो । अल्मेरियाले सेल्टा भिगोलाई ३–१ ले हरायो ।