सोसल मिडिया
Contact Us
युनिकोड
चितवन । आफू अन्यत्र अस्पतालमा कार्यरत रहेका यहाँका चिकित्सकले आफ्नो श्रीमती र आफन्तका लागि प्रसूति सेवाका लिन भरतपुर अस्पताल रोज्ने गर्दछन् । सर्वसाधारणको पहिलो रोजाइ त छँदैछ धनाढ्य पनि यहीको प्रसूति सेवा लिन रुचाउँछन् । बिरामीको उच्च चाप भएकाले शय्या अभाव हुँदा भुईंमै बसेर भए पनि यही अस्पतालको प्रसूति सेवा लिने धेरैको चाहना हुन्छ । प्रसूतिगृहपछि सबैभन्दा धेरैले प्रसूति सेवा लिने अस्पतालको रुपमा भरतपुर अस्पताल परिचित छ । प्रसूति सेवा मात्रै होइन, नवजात शिशुका लागि आवश्यक पर्ने सम्पूर्ण उपचार सेवा रहेका कारण धेरैको रोजाइ यो अस्पताल पर्ने गर्दछ । अस्पतालको तथ्याङ्कलाई हेर्दा गत आर्थिक वर्षमा यहाँ ११ हजार नौ सय ६१ ले प्रसूति सेवा लिएका छन् । तीमध्ये सामान्य प्रसूति गराउने सात हजार चार सय ५८, शल्यक्रिया गरेर प्रसूति गराउने चार हजार एक सय ६८ र जटिल अवस्थामा शल्यक्रिया गराएका तीन सय ३५ रहेका छन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार प्रसूति विभागमा १३ विशेषज्ञ चिकित्सक कार्यरत छन् । सोही विभागमा विशेषज्ञ चिकित्सक अध्ययनका लागि नियमितरुपमा दुई तीन जना हुने गर्दछन् । उनको भनाइमा प्रसूतिमा तालिम प्राप्त नर्सिङ सेवा यहाँ छ । उनले भने, “२०–२५ वर्षदेखि निरन्तर यही काम गर्ने तालिम प्राप्त, दक्ष नर्सिङ सेवा भएकाले राम्रो सेवा दिन सकिएको हो ।” विभागमा ६२ जना तालिम प्राप्त नर्स कार्यरत छन् । निजी र अन्य सरकारी अस्पतालसँगै सम्पन्न परिवारसम्मको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको उनले बताए । निजी अस्पतालको प्राथमिकता शल्यक्रिया हुने भए पनि भरतपुर अस्पतालमा सकेसम्म सामान्य ढङ्गबाट प्रसूति गराउने प्रयास गरिन्छ । उनले भने, “यस्ता अनुभवी चिकित्सक र नर्स अन्यत्र सम्भव छैन ।” निजीमा खर्च धेरै हुन्छ भने यहाँ प्रसूति गराएर घर फर्किदै गर्दा रु एक हजार समेत दिईन्छ । अस्पतालको यो विभागमा एक सय ४७ शय्या छन् । यसका अतिरिक्त क्याबिन रहेका छन् । प्रसूतिका लागि आएकालाई चार शय्याको भर्ना, १५ शय्याको वेटिङ (पर्खाइ), नौ शय्याको एक्टिभ (सक्रिय) र तीन शय्याको लेवर रुम रहेका छन् । यस्तै प्रसूति वार्ड ३६ शय्याको, २६ शय्याको पोष्टनल र २३ शय्याको पोष्टअप रहेका छन् । अस्पतालमा क्रमशः सेवालाई सुधार गरिँदै लगिएको छ । अस्पतालका सात वटा शल्यक्रिया कक्षमा धेरै प्रसूतिका बिरामीको शल्यक्रिया गर्ने गरिन्छ । शल्यक्रिया कक्षलाई व्यवस्थित बनाएर दुई वटा मोडुलर र तीन वटा सेमिमोडुलर कक्ष निर्माणको काम अन्तिम चरणमा पुगेको छ । विभागका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा रामप्रसाद सापकोटाका अनुसार राजधानी बाहिर प्रसूतिमा भरतपुर अस्पताल पहिरो रोजाइ हो । २४ घण्टा विशेषज्ञ चिकित्सक तथा दक्ष प्रसूतिकर्मीबाट सेवा दिइने भएकाले रोजाइमा परेको उनी बताउँछन् । भौगोलिक हिसाबले नेपालको मध्यभागमा पर्ने भएकाले चितवनसहित ११ जिल्लाका बर्थिङ सेन्टर, सरकारी तथा निजी अस्पतालबाट प्रसूतिका लागि स्वेच्छिक वा रिफर भएर यहाँ आउने गरेको उनले जानकारी दिए । डा सापकोटाले सीमित जनशक्तिमा बिरामीको अत्यधिक चापका कारण अझै सोचेजस्तो सेवा दिन नसकिएको स्वीकार गरे । उनले भने।, “हामीले यो विभागलाई थप सदृढ बनाउनुपर्छ ।” कोभिड हुन वा अन्य रोगका गर्भवतीको प्रसूति यहाँ गर्ने गरिन्छ । अस्पतालमा नवजात शिशुका लागि विशेष व्यवस्था भएकाले थप रोजाइ हुने गरेको हो । अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा योगराज शर्माका अनुसार जटिल प्रकृतिको बिरामी भएका २८ दिनभन्दा कम उमेरका नवजात शिशुका लागि भेन्टिलेटरलगायत अन्य जीवनोपयोगी उपकरणसहित नवशिशु सघन उपचारा कक्ष अस्पतालमा रहेको छ । बाल सघन उपचार कक्ष लेबल तीनमा (एनआइसियु) मा १२ शय्या र चार वटा भेन्टिलेटर चालु अवस्थामा रहेको उनले जानकारी दिए । मध्यम प्रकृतिको जटिलता भएका शिशुका लागि अक्सिनलगायत अन्य औषद्योपचार, फोटोथेरापी तथा अन्य सुविधासहितका उपचार कक्ष (एस एन सि यु) (लेवल टु) समेत सुरु गरिँदै छ । सामान्य समस्या भएका तथा लेवल टु र लेवल थ्रीपश्चात् बाँकी उपचार पूरा गर्न अस्पताल बस्नुपर्ने शिशुलाई आमासँगै राखेर उपचार गर्ने नवशिशु वार्ड १२ शय्याको सञ्चालनमा रहेको छ । यस्तै दिन नपुगी जन्मिएका र कम तौल भएका शिशुलाई अरु उपचारपश्चात् सामान्य भएपछि तौल बढ्न र शारीरिक, मानसिक विकास गर्न मद्दत पु¥याउनका लागि आमाले शिशुलाई छातीमा टाँसेर राख्ने पद्धति (कङ्गारु मदर केयर) पाँच शय्याको सञ्चालनमा छ । बालरोग विशेषज्ञ शर्माले नवजात शिशुका लागि उपचारको भरपर्दाे व्यवस्था हुँदा प्रसूति गराउन धेरैले यहाँ चाहने गरेको बताए । सरकारले सङ्घीय अस्पतालका रुपमा भरतपुर अस्पताललाई विकास गरेको छ ।
सुरक्षित मातृत्वका सूचकाङ्कमा गण्डकी कमजोर
बागलुङमा आमा र शिशुको मृत्युदर घटाउन धेरै कार्यक्रम सञ्चालित छन् तर पनि अझै सुरक्षित मातृत्वको लक्ष्य पूरा भएको छैन । पछिल्ला तीन वर्षको तथ्याङ्क हेर्दा पनि यो अवस्था देखिएको छ । मानव विकासका सूचाङ्क राम्रो देखिए पनि गण्डकी प्रदेशमै यो समस्या छ । आर्थिक वर्ष २०७६÷०७७ मा राष्ट्रियरुपमा एक सय ३७ आमाको मृत्यु भएकोमा सोही वर्ष गण्डकी प्रदेशमा नौ जनाको मात्र मृत्यु भएको थियो । आव २०७७÷०७८ मा पुग्दा देशभरको सङ्ख्या घटेर एक सय आठ मा झ¥यो । गण्डकीमा १३ पुग्यो । गत आव भने देशभरको सङ्ख्या घटेर ८४ मा पुग्दा गण्डकीको मात्रै २१ पुगेको हो । यो अवस्थालाई आमा सुरक्षाको दृष्टिले गम्भीररुपमा लिनुपर्ने स्वास्थ्यकर्मी बताउँछन् । आमा र शिशु मृत्युदर घटाउन सचेतनाका कार्यक्रममा लगानी बढाउनुपर्ने जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माको भनाइ छ । “हाम्रो समाजमा आमा र शिशुको सुरक्षाको अवस्था अझै पनि जटिल छ, लगातारको प्रयासले संस्थागत प्रसूति भने बढेको छ”, उनले भने, “समयमा अस्पताल लैजाने संयन्त्र विकास गर्दा न्यूनीकरण गर्न सकिन्छ ।” हेलिकप्टरको उद्धारलाई पनि संस्थागत गरेर लैजानुपर्ने उनले बताए । नियमित गर्भ परीक्षण शतप्रतिशतमा लैजान सकेमा मृत्युदर घट्ने उहाँको तर्क छ । गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काका अनुसार गण्डकीमा सुरक्षित मातृत्वका सूचकाङ्क कमजोर छ । उनले आकस्मिक हवाई उद्धार सेवालाई संस्थागत गर्न नसक्दा पनि मातृमृत्यु बढेको बताए । “विस्तृत स्थलगत अनुगमन गर्न सकिएको छैन, कतिपय घटना पत्रपत्रिकामा आएपछि मात्रै थाहा भएका छन्”, उनले भने, “तत्काल प्रजनन स्वास्थ्य टोली गठन गरी परिचालन गरेर यस्ता समस्या व्यवस्थापनमा ध्यान दिन्छौँ ।” पालिकाले सही तथ्याङ्कमा साथ दिनुपर्ने र मन्त्रालयसम्म सबैको चासो बढाउनुपर्ने उनले सुझाए । गर्भवती भएदेखि सुत्केरी भएको ४२ दिनसम्मको मृत्युलाई मातृ मृत्युदरमा सूचीकृत गरिएको उहाँले बताए । उनका अनुसार समुदायमा हुने प्रसूतिपछि आउने समस्याले पनि मातृ मृत्युदर बढी देखिन्छ । गत वर्ष मृत्यु भएका २१ आमामध्ये १३ जना समुदायमा सुत्केरी भएका थिए । आठ अस्पतालमा सुत्केरी भएका हुन् । समुदायमा सुत्केरी भएकामध्ये छ जनाले आत्महत्या गरेको देखिएको उनले बताए । “स्वास्थ्यमा समस्या आएमा, घरपरिवारबाट मानसिक समस्या थपिएमा वा अन्य कारणले मृत्युवरण गर्छन्”, उनले भने, “संस्थागत सुत्केरी गराउने, सुत्केरीअघि सुरक्षितरुपमा स्वास्थ्य संस्था नजिकै बस्न पाउने र उचित स्याहार पाउने अवस्था भएमा मृत्युदर घटाउन सकिन्छ ।” असुरक्षित गर्भपतन घटाउन सकेमा आमाको मृत्युदर घट्ने उनले बताए । जथाभावी औषधि सेवनपछि जटिल भएर अस्पतालमा बिरामी आउने पद्धतिले मृत्यु बढाएको हो । गर्भपतनपछि गर्भ निरोधमा ध्यान नदिनु, स्वास्थ्य सेवा प्रदायकको सुपरिवेक्षण बिना मेडिकल एवर्सन गर्न रोक्नु ठूलो चुनौती भएको उनले बताए । आमा सुरक्षाका लागि सबै निजी अस्पतालको तथ्याङ्कसमेत अद्यावधिक गर्नुपर्ने उनले बताए । “निजी अस्पताललाई डाटा रिपोर्टसम्बन्धी तालिम दिएर सही तथ्याङ्क उतार्न पहल गर्दा आमा सुरक्षाको सही तथ्याङ्क आउँछ”, उनले भने, “अन्यत्र उपचारपछि केही नलागेर सरकारी अस्पताल आएर मृत्युवरण गर्ने क्रम पनि घटाउनुपर्ने बाध्यता छ ।” त्यसका लागि जनचेतना विकास गर्ने, स्थानीय तहका स्वास्थ्य शाखा जिम्मेवार बन्ने र एकद्वार प्रणाली बनाउनुपर्ने उनले सुझाए ।–रासस