उडान रद्द भएर काठमाडौँमै रोकिएका यात्रुलाई दिल्ली लगियो

सोमबार, कात्तिक १४, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमको काठमाडौँ–दिल्लीतर्फको उडान रद्द गरिदिएसँगै नेपालमै रोकिएका एक सय ५० जना यात्रुलाई नेपाल वायुसेवा निगमले आज अपराह्नको उडानमार्फत दिल्ली लगेको छ । 
नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काका अनुसार आइतबारको उडान रद्द हुँदा रोकिएका आफ्ना यात्रुलाई निगमकै जहाजले आज अपराह्न करिब ३ बजेको उडानमार्फत दिल्ली लगेको हो । उनका अनुसार दुई सय ४७ मध्ये बाँकी रहेका एक सय ५० जना यात्रुलाई निगमले आफ्नै उडान र अरू वायुसेवा कम्पनीसँगको सहकार्यमा दिल्ली लगेको हो । केही यात्रुलाई निगमले आइतबार नै अन्य वायुसेवा कम्पनीको सहयोगमा दिल्ली पठाइसकेको बताइएको छ । 
नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमको काठमाडौँ–दिल्लीतर्फको उडान रद्द गरिदिएसँगै आइतबार यात्रु अलपत्र परेका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आज निगमको काठमाडौँ–दिल्ली दुईवटा उडानको तालिका रहेको थियो । नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन नगरेको भन्दै नेपाल वायुसेवा निगमको दिल्लीतर्फको एउटा उडान रद्द गरेको थियो । 
प्राधिकरणले आफूले दिएको निर्देशन निगमले पालना नगरेको भन्दै आइतबार बिहान दिल्लीतर्फको उडान रद्द गर्दा विमानस्थल पुगेका यात्रु अलपत्र परेका थिए । काठमाडौँ–दिल्ली आइतबारको १ः४५ बजेको उडान रद्द भएको थियो । यसबाट दुई सय ४७ जनामध्ये एक सयजना कोड शेयरिङमार्फत जापान, अमेरिका, जर्मनीलगायत विभिन्न मुलुक जाने यात्रु अलपत्र परेका थिए ।

प्राधिकरणले सोध्यो ‘वायुसेवा निगमलाई २४ घण्टे स्पष्टीकरण’

उडान तालिका स्वीकृत नगराई यात्रुलाई बोर्डिङ पास दिएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)  लाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
प्राधिकरणले आज प्रेस विज्ञप्ति जारी गर्दै उडान स्वीकृत नभई बोर्डिङ पास दिएर विमानस्थलको सुरक्षामा गम्भीर असर परेकोप्रति चासो जनाउँदै निगमलाई स्पष्टीकरण सोधेको हो ।
निगमका प्रवक्ता जगन्नाथ निरौलाले निगमको लापर्बाहीले यात्रुलाई दुःख दिएको घटनाप्रति जवाफ मागेर स्पष्टीकरण सोधिएको बताए । अनुमतिबिना नै यात्रुलाई बोर्डिङ पास दिएर अलपत्र पार्ने निगमलाई २४ घण्टाभित्र के कारणले उडान गर्न खोजिएको हो भन्ने विषयमा जवाफ मागिएको छ । प्रवक्ता निरौलाले प्राधिकरणले कुनै पनि उडानको टिकट बिक्री–वितरण नगर्न÷नगराउन तथा प्राधिकरणबाट उडान अनुमति प्राप्त गरेको उडान मात्र सञ्चालन गर्न÷गराउन वायुसेवा कम्पनीलाई निर्देशन दिएको बताए ।
‘उडान नभएको दिनमा यात्रुलाई विमानस्थलमा बोलाएर गैरकानूनी तरिकाले बोर्डिङ पाससमेत उपलब्ध गराई याुत्रलाई वैकल्पिक व्यवस्था नगरी, किन समयमै खबर गरिएन, गैरसैनिक हवाई उडान ऐन, २०१५ तथा नियमावली, २०७३ बमोजिम विमानस्थलको सुरक्षा व्यवस्थामा गम्भीर असर पारेकाले निगमलाई स्पष्टीकरण सोधिएको हो’, विज्ञप्तिमा भनिएको छ ।
निगमले सिकागो महासन्धि तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)  को उडान सुरक्षा मापदण्ड र नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ तथा नागरिक उड्डयन नियमावली, २०४८ अनुसार नेपालको हवाई क्षेत्रमा उडान अवतरणका लागि प्राधिकरणको अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था विपरीत काम गरेको प्राधिकरणले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  २१:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार