राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पाँच दलले भाग लिने 

बिहीबार, वैशाख १६, २०७८

काठमाडौं । वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पाँच राजनीतिक दलले भाग लिने भएका छन् उपनिर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आयोगमा दल दर्ता गराएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई सूर्य चिह्न र क्रम १, नेपाली काँग्रेसलाई रुख चिह्न  र क्रम २, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई गोलाकार भित्र हँसिया हथौडा चिह्न र क्रम ३, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हलो चिह्न र क्रम ४ तथा नेपाल मजदुर किसान पार्टीलाई मादल चिह्न र क्रम ५ को क्रममा मतपत्रमा समावेश गरिने भएको छ ।
आगामी जेठ ६ गते बिहीबार हुने वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ को उपदफा (३) बमोजिम नेपाल राजपत्रमा प्रकाशन गर्ने र दल दर्ता गर्ने राजनीतिक दललाई निर्वाचन चिह्न निर्धारण गरी प्रदान गर्ने आयोगले निर्णय गरेको छ ।

३४८ मतदाता कायम
उपनिर्वाचनका लागि प्रदेशसभा सदस्य ११० जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८  गरी ३४८ मतदाता कामय भएको छ । आयोगका अनुसार, स्वीकृत भएको मतदाता नामावली यही वैशाख २१ गते बिहान ११ बजे निर्वाचन अधिकृतको कार्यालय, हेटौँडामा प्रकाशन गर्ने र प्रकाशित मतदाता नामावलीमा सोही दिनको बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म नाम समावेश हुन छुटेका व्यक्तिले आफ्नो नाम समावेश गर्नका लागि दरखास्त दिने व्यवस्था गरिएको छ । मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिले आफ्नो नाम, थर, उमेर, पद आदि विवरण सच्याउन दरखास्त दिने, मतदाता नामावलीमा उल्लिखित मतदाताको विरोधमा उजूरी दिनसकिने छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  २२:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार