अन्तरवडा पर्यटन प्रवद्र्धनमा सेल्फी रोड

बुधबार, कात्तिक १६, २०७९
मयुर प्लाई

टङ्कीसिनवारी । पर्यटन प्रवद्र्धनका लागि एक देशबाट अर्को देश नै जानु पर्छ भन्ने छैन । मुलुकभित्र रहेका अनगिन्ती संरचनादेखि वस्तुसम्मले पर्यटक तान्ने क्षमता राख्दछ ।
नगर अथवा गाउँपालिका क्षेत्रभित्रको कुनै एक वडामा पाइने अथवा निर्माण गरिएका महत्वपूर्ण संरचना र पुरातात्विक महत्त्वका वस्तुले त्यसै क्षेत्रको अन्य वडाका वासिन्दालाई आकर्षित गरेमा मात्र पनि पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने देखिएको छ । 
विराटनगर–३ को षडानन्द मार्ग अहिले सेल्फी रोडको नाउँबाट प्रख्यात छ । यसलाई कतिपयले भाइरल रोड पनि भन्ने गरेका छन् । विराटनगर–३ को वडा कार्यालयदेखि उत्तर पाँच सय मिटरको सडक क्षेत्रको एकापट्टि खाँबो गाडेर त्यसमा रङ्गीचङ्गी बत्ती झुण्ड्याइएको छ । सेल्फी रोडमा साँझ पर्नासाथ बल्ने झिलीमिली बत्तीमा टिकटक बनाउनेदेखि घुम्न आउनेसम्मको भीड लाग्ने गरेको छ । सेल्फी रोडले अन्तरवडा पर्यटन प्रवद्र्धनमा उल्लेखनीय भूमिका खेलेको महसुस गर्न थालिएको छ ।
विराटनगरको १९ वटै वडाबाट सर्वसाधारण सेल्फी रोडमा तस्बिर खिचाउन आउने गरेका छन् । विराटनगर–१० की भवानी खनालले सेल्फी रोड हेरेर आफू मोहित भएको बताए । उनले पर्यटक तान्न ठूलै रकम खर्च गर्नु पर्ने आवश्यकता नरहेको भनेर सेल्फी रोडले देखाएको बताए । 
इनरूवा निवासी हाल विराटनगर–६ बस्ने उत्तम कोइरालाले नेपाल पर्यटकको स्वर्ग रहेको बताए । स–साना कुराले पनि राम्रै ध्यान आकृष्ट गर्ने क्षमता राख्ने उदाहरण यो सेल्फी रोडले देखाएको उनको भनाइ छ ।
विराटनगरवासी बाहेक सेल्फी रोडले मोफसलका बासिन्दाको पनि ध्यान आफूतिर तान्न विस्तारै सफल हुँदैछ । बुढीगंगा–२ टङ्कीसिनवारीका राम सरदारले दिनभरिको कामको थकानलाई सेल्फी रोडको उज्यालोले मेट्ने गरेको बताए । 
कुनै बेला उजाड जस्तो देखिने सेल्फी रोडमा नयाँ–नयाँ होटल र पसल थाप्ने होड नै चलेको छ । साँझपख चटपटेदेखि बेलुन बेच्ने स–साना कारोबारीको पनि धन्दा चल्न थालेको छ । सेल्फी रोडसम्म यात्रु ल्याउन र लैजान विराटनगरका सिटी सफारी र टेम्पो व्यस्त बन्न थालेका छन् । 
सेल्फी रोडमा सर्वसाधारणको आवतजावत बढ्दा यहाँका किराना पसलदेखि होटलसम्मले मनग्य आम्दानी गर्न थालेका छन् । विराटनगर–३ का वडाध्यक्ष बासु बस्नेतले निवर्तमान वडाध्यक्ष विनोद बस्नेतको कार्यकालमा छुट्याइएको पाँच लाख रूपैयाँ खर्च गरेर सो सडकमा २२ वटा खम्बा गाडिएको र झिलीमिली बिजुली बत्ती जडान गरिएको बताए । 
उनले सेल्फी रोडमा अत्यधिक भीड हुने गरेको र कहिलेकाहीँ भीड नियन्त्रणका लागि प्रहरीसमेत परिचालन गर्नुपरेको स्मरण गरे । उनले विराटनगरवासी र मोफसलबाट थुपै्र सर्वसाधारण सेल्फी रोडको अवलोकन गर्न आउने गरेको जानकारी दिए । 
वडाध्यक्ष बस्नेतले सेल्फी रोडको सडक पेटीमा टाली ओछ्याउने, वृक्षरोपण गर्ने, नालामा ढकनी लगाउने, ठाउँ–ठाउँमा बस्ने फलैँचा बनाउने र सार्वजनिक शौचालयसमेत निर्माण गरिने बताए । उनका अनुसार सेल्फी रोडमा रु तीन करोड खर्च गर्ने गरी गुरूयोजना समेत तयार भइसकेको छ । 
प्राध्यापक दिनेशराज सुवेदीले सेल्फी रोडलाई वातावरणीय हिसाबले सुन्दर बनाउँदै लैजानु पर्ने बताए । विराटनगरभित्र घुम्न जाने ठाउँको अभाव हुँदा विराटनगरवासीको न्यास्रो सेल्फी रोडले मेटाउन भूमिका खेल्ने उनको भनाइ छ । सेल्फी रोडलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न महानगरपालिका, वडा र स्थानीयवासी सबैको समान दायित्व भएको उनले बताए । 

हनुमानढोका दरबार क्षेत्रमा बढ्न थाले पर्यटक

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।
चालु आर्थिक वर्षको साउनमा सार्क बाहिरका देशका दुई हजार आठ सय ६४ पर्यटक आएको काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रमले जनाएको छ । सोही महिनामा सार्कका एक हजार तीन सय ९९ पर्यटक दरबार क्षेत्रमा आएका थिए । यो सङ्ख्या भदौ महिनामा बढेर सार्क बाहिरी देशका तीन हजार छ सय १० र सार्क देशका एक हजार आठ सय ९३ पर्यटक आएको कार्यक्रमका कार्यालय प्रमुख रोशन शाक्यले राससलाई जानकारी दिए ।

यो सङ्ख्या असोजमा अझै बढेको छ । असोजमा सार्क बाहिरी देशका दश हजार पाँच सय ९४ र सार्क देशका तीन हजार एक सय ७८ पर्यटकले हनुमानढोका दरबार क्षेत्रको भ्रमण गरेका छन् । कोरोनापछि पहिलोपटक पर्यटकको सङ्ख्या सन्तोषजनक हुन थालेको उहाँले सुनाउनुभयो । कार्यक्रमले सार्क देशका पर्यटकसँग रु एक सय ५० र सार्क बाहिरी देशका पर्यटकसँग रु एक हजार शुल्क लिने गरेको छ । कार्यक्रमअन्तर्गत महानगरपालिका वडा नं १९, २०, २३ र २४ वडाका सम्पदा क्षेत्र पर्छन् । कार्यक्रमले यी वडाका मूर्त एवं अमूर्त सम्पदाको संरक्षणका लागि काम गर्दै आएको छ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  ०५:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार