सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । सरकारले अमेरिका र स्वीट्जरल्याण्ड दुईतर्फी हवाई उडान सम्झौता गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । करिब तीन महिना अगाडि अमेरिका र स्वीट्जरल्यान्डबीच दुईपक्षीय सीधा उडान प्रक्रिया सुरु गर्ने प्रारम्भिक सम्झौता भएपछि सरकारले थप प्रक्रिया अघि बढाउन स्वीकृति दिएको हो । यसका लागि अमेरिकाको फेडरल एभिएसन एडमिनिस्ट्रेसनले दुईतर्फी उडान सम्झौताका लागि प्रारम्भिक पत्राचार गरेको बताइएको छ । मन्त्रिपरिषद्बाट स्वीकृति पाएसँगै यी दुई देशसँगको हवाई उडान सम्झौता प्रक्रिया सुरु गर्ने तयारी भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार अमेरिका र स्वीट्जरल्याण्डले दुईतर्फी सीधा उडान गर्न चासो देखाएसँगै पर्यटन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणसँगको समन्वयमा आवश्यक प्रक्रिया थाल्दै मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । यसअघि नेपाल वायुसेवा निगमले बोइङ दोहा ट्रान्जिट हुँदै नेपाल–स्वीट्जरल्याण्ड उडान गरेको थियो । यसैगरी सरकारले इन्डोनेसिया र रुवान्डासँगको प्रक्रिया पनि अगाडि बढाएको बताइएको छ । अफ्रिकी मुलुक रुवान्डाले परराष्ट्र मन्त्रालयमार्फत दुईपक्षीय उडान सम्झौताका लागि प्रस्ताव पेस गरेको प्राधिकरणले जनाएको छ । विश्व उड्डयन सुरक्षा मापदण्डअनुसार ७० प्रतिशतभन्दा बढी कायम भइसकेका कारण यी मुलुकतर्फ दुईतर्फी उडानका लागि कुनै असर नपर्ने प्राधिकरणको दाबी छ । यी मुलुकसँग दुईतर्फी हवाई सम्झौता भएसँगै नेपालका तर्फबाट नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले सीधा उडान गर्नसक्ने जनाइएको छ । हाल नेपालमा टर्किस, कतार एयरवेज, सिङ्गापुर, थाइलगायत विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले विभिन्न ट्रान्जिट हुँदै नेपाल–अमेरिका उडान सेवा दिँदै आएका छन् । नागरिक उड्डयन प्राधिकरणका अनुसार हाल नेपालले कूल ४० वटा मुलुकसँग दुईतर्फी सीधा उडानको सम्झौता गरिसकेको र ४० मध्ये २० वटा गन्तव्यमा नियमित व्यावसायिक उडान हुँदै आएको छ ।
हिमालय एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट क्वालालम्पुर उडान गर्ने
नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गर्ने तयारी गरेको छ । एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा मलेसियाको राजधानी क्वालालम्पुर नियमित चार्टर उडान गर्ने भएको हो । नेपाल र मलेसियाको नागरिक उड्डयन प्राधिकरण र अन्य सान्दर्भिक ओभरफ्लाइङ इजाजतपत्र प्राप्त भएपश्चात् बिहीबारदेखि उडान सञ्चालन हुने अपेक्षा गरिएको एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ । हिमालय एयरलाइन्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेल्फ ग्राउन्ड हैन्डिलिन्ग तथा गौतमबुद्ध विमानस्थलमा कमर्सियल ग्राउन्ड हैन्डिलिन्ग अनुमति दिने नेपाल नागरिक उड्डयन प्राधिकरणले आश्वासन दिएबमोजिम गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय चार्टर उडान सुरु गर्न लागिएको कम्पनीले जनाएको छ । प्रारम्भिक चरणका लागि एयरलाइन्सले भैरहवा–क्वालालम्पुर–भैरहवा सेक्टरमा उडान भर्ने छ भने भविष्यमा गौतमबुद्ध विमानस्थलमा कमर्सियल ग्राउन्ड हैन्डिलिन्ग अनुमति प्राप्त भए पछि अन्य क्षेत्रमा पनि उडान विस्तार गरिने एयरलाइन्सले योजना बनाएको छ । हिमालय एयरलाइन्सको प्रशासनका उपाध्यक्ष, विजय श्रेष्ठले भैरहवाबाट नियमित उडान सञ्चालन गर्न निरन्तररुपमा लागि रहेको जानकारी दिए । उनले भने, “हिमालय एयरलाइन्सको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानले यात्रुको सुविधासँगै अन्तर्राष्ट्रिय गन्तव्यसँग नेपालका विभिन्न क्षेत्रको अझ राम्रो कनेक्टिभिटी हुनेछ, गौतमबुद्ध विमानस्थल देशकोे साझा राष्ट्रिय गौरव हो र यस विमानस्थलले धार्मिक पर्यटनको बढोत्तरीमा विशेष योगदान पु¥याउने सम्भावना भएकाले यस दिशामा हामी सबैले हातेमालो गर्नुपर्दछ ।” उपाध्यक्ष श्रेष्ठले एयरलाइन्सले आफ्नो सञ्जालमा नयाँ थपिएको क्षेत्र भैरहवासँगै गुणस्तरीय नियमित उडान र ग्राउन्ड सर्भिस उपलब्ध गराउन पनि प्रतिबद्ध रहेको बताए ।