सोसल मिडिया
Contact Us
युनिकोड
बलेवा । जैमिनी नगरपालिका–२ दमेक भातडाँडाका सूर्यबहादुर पुनलाई वैशाख लागेपछि बाजा बजाउन भ्याइनभ्याइ भएको छ । विवाह, व्रतबन्ध, चौरासी पूजाजस्ता धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यमा बाजा बजाउन पुनको समूह दक्षिण बागलुङका प्रायः सबै गाउँ पुगेको छ । कोरोना महामारीकाबीच भइरहेका धार्मिक कार्यमा बाजा बजाउन पुग्ने दमेक नौमति बजा समूहले नौमती बाजाको संरक्षण मात्रै गरेको छैन्, युवाहरूको लागि राम्रो अम्दानीको स्रोत समेत बनेको छ । गाउँमा पञ्चेबाजाको धुन गुन्जिन छाडेको वर्षाैंपछि पहिला सीप सिकेका केही युवा जुरमुराए अनि त्यो समूह बनाएर पञ्चेबाजा बजाउन थालें । अहिले नौमतीको धुनसँगै दक्षिण बागलुङका विभिन्न स्थानमा पुग्न उनीहरूलाई भ्याइनभ्याइ छ । विवाह, व्रतबन्ध मात्र नभएर विभिन्न सामाजिक र सांस्कृतिक कार्यक्रम अनि पर्वमा पनि नौमतीको माग हुन थालेपछि समूहसँगै व्यक्तिगत रूपमा पनि उनीहरूको आय बढेको छ । लोकसंस्कृतिको रक्षा गर्ने उद्देश्यले नै दमेक नौमती बाजा संरक्षण समूहको नाममा उनीहरूले संस्था नै खोलेका छन् । दमेकका मगर समुदाय लोपोन्मुख नौमती बाजा संरक्षण गर्न १० वर्ष पहिलेदेखि सक्रिय छन् । पहिलेको पुस्ताले थालेको नौमती बाजाको संरक्षणलाई नयाँ पुस्ताले पनि निरन्तरता दिएको समूहका संयोजक सुवास कार्कीले बताए । दश जनाको समूहमा अधिकांश मगर समुदायका युवा छन् भने केही क्षेत्री समुदायका युवासमेत जोडिएका छन् । ‘पहिले बुवा हजुरबुवाहरूले बाजा बजाउन थाल्नुभएको हो, यो हाम्रो पुख्र्खौली पेशा भने होइन’, कार्कीले भने, ‘अहिले बाजा बजाउने सीप सिकेर युवा यो अभियानमा जुटेका छन् ।’ परियार समुदायको पुख्र्यौली पेशा नौमतीबाजा बजाउने भएपनि पछिल्लो समय विस्थापित हन थालेपछि कला संस्कृतिको संरक्षण गर्न मगर समुदायका युवाले नौमती बाजा संरक्षणमा जुटेका हुन् । उनीहरूले परियार समुदायका सदस्यबाट धेरै पहिला बाजा बजाउन सिकेका थिए । ‘विवाह, व्रतबन्धजस्ता सांस्कृतिक तथा सामाजिक कार्यमा यो बाजाको माग उच्च छ’, कार्कीले भने, ‘ठाउँ अनुसारको पारिश्रमिक लिन्छौं, विवाहको मौसममा आम्दानी राम्रो हुन्छ ।’ यहाँका मगर समुदायले नौमती बाजा समूहलाई सहयोग गरेपनि अहिले भने १५ जना मात्रै समूहमा आवद्ध छन् । आफ्नै सवारीमा उनीहरू जिल्लाका विभिन्न ठाउँ र छिमेकी जिल्लामासमेत पुग्ने गरेका छन् । नौमती बाजामध्ये सनई, नर्सिङगा र ढलाकी बजाउन अन्यको तुलनामा कठिन हुने गरेको उनीहरूको अनुभव छ । समूहका लागि बाजा भने स्थानीयवासी कृष्ण छन्त्यालले व्यक्तिगत लगानीमा खरिद गरेका छन् । करिब रु एक लाख ५० हजारको लागतमा नौमती बाजा खरिद गरेर छन्यालले सो समूहलाई दिएका छन् । बाजा बजाउँदा आउने पारिश्रमिक समूहका सदस्यले बाँडेर लिने गरेका छन् । ‘हामी स्वस्फूर्त रूपमा लागेका हौं, कसैको साथ सहयोग पाइएको छैन’, पुनले भने, ‘सीप भएपछि आम्दानीको स्रोत हुँदो रहेछ ।’ पहिले पहिले मगर बाजा बजाएको सुन्दा अँध्यारो मुख बनाउनेले अहिले आफूहरूको खोजी गर्ने गरेको अनुभव उनीहरूसँग छ ।