सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको संक्रमणदर बढ्नुमा सरकार मुख्य जिम्मेवार रहेको बताएका छन् । निजी निवास बुढानीकण्ठमा शुक्रबार पत्रकार सम्मेलन गरी देउवाले अत्यन्तै कम मात्रामा पिसिआर परीक्षण हुँदा पनि ३७ प्रतिशत संक्रमित हुनु भनेको देशमा संक्रमणको अवस्था डरलाग्दो भएको भन्दै सरकारको चरम लापरबाही, असंवेदनशीलता र अकर्मन्यता मुख्य जिम्मेवार रहेको आरोप लगाए । सरकारले विगतबाट पाठ नसिकेको र अरू पार्टीको सुझाब पनि नसुनेको उनको आरोप थियो । अधुरा कामको उद्घाटन गरी भिडभाड बढाउन मात्र सरकार तत्लीन रहेको उनले बताए । अत्यावश्यक अक्सिजन र भेन्टिलेटर तत्काल उपलब्ध गराउन सरकारसँग माग पनि उनले गरेका छन् । अस्पताल र आइसियू बेडसहित स्वास्थ्य पूर्वाधारको समुचित व्यवस्था गर्न पनि देउवाको माग छ । सीमानाकाहरूमा पिसिआर परीक्षण गरी रिपोर्ट नआउन्जेल होल्डिङ सेन्टरमा राख्ने व्यवस्था मिलाउन देउवाको माग छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई विशेष जोखिम भत्ताको व्यवस्था गर्न प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका देउवाको माग छ । नाकाबाट प्रवेश गर्ने नेपालीका लागि निःशुल्क पिसिआर परीक्षण गर्ने व्यवस्थालाई प्रभावकारी बनाउनका लागि सरकारसँग उनले माग गरेका छन् । कोभिड– १९ को स्वास्थ्य मापदण्ड पालना गर्न सर्वसाधारणलाई देउवाले आग्रह गरे । भौतिक दूरी कायम गर्न, मास्क लगाउन र नियमित साबुनपानीले हात धुन उनको आग्रह छ ।