कञ्चनपुरमा डेङ्गु सङ्क्रमण न्यून       

बिहीबार, कात्तिक २४, २०७९

कञ्चनपुर । कञ्चनपुरमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ह्वात्तै घटेको छ । बढ्दो चिसोसँगै डेङ्गु सार्ने लामखुट्टेको वृद्धि विकासमा कमी आएसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या घटेको हो । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार गत अक्टुबर महिनामा ४० जनामा डेङ्गुको सङ्क्रमण देखापरेकामा नोभोम्बर महिनाको हालसम्म तीन जनामा मात्रै डेङ्गुको सङ्क्रमण देखापरेको छ ।
जनवरीमा दुई, मेमा दुई, जुनमा चार, जुलाइमा तीन, अगष्टमा १४ र सेप्टेम्बरमा सबैभन्दा बढी एक सय २१ जनामा डेङ्गुको सङ्क्रमण देखापरेको छ । “वर्षाको सफा पानीमा डेङ्गु सार्ने लामखुट्टेले लार्भा हुर्काउँछ, वर्षा हुने क्रमम रोकियो”, उनले भने, “मौसम चिसो हुन थालेपछि प्रतिदिन डेङ्गुका बिरामीको सङ्ख्यामा कमी आएको छ ।”
स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टका अनुसार साउन १ गतेदेखि कात्तिक २२ गतेसम्म कञ्चनपुरमा डेङ्गु सङ्क्रमित बिरामीको सङ्ख्या दुई सय ३४ पुगेको छ । दोधरा चाँदनीमा ५५, महाकाली अस्पाताल ६७, शर्मा प्रयोगशाला १९, लाइफ सेभर्स प्रयोगशाला एक, बेदकोट नगरपालिका १२, शुक्लाफाँटा नगरपालिकामा नौ, कृष्णपुर नगरपालिकामा १२ र पुर्नवास नगरपालिकामा ४१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।
बेलौरी नगरपालिकामा १०, लालझाडी गाउँपालिका तीन, बेलडाँडी गाउँपालिकामा तीन, मन्त्र अस्पतालमा एक र जोशी प्रयोगशालमा एक जनमा डेङ्गुको सङ्क्रमण देखिएको औलो निरीक्षक भट्टले जानकारी दिए । सहरी क्षेत्रमा मात्रै बढी देखिने डेङ्गु ग्रामीण क्षेत्रमा समेत देखिन थालेको उनले बताए । भारतबाट काम गरी फर्केकाहरूमा डङ्ेगुको भाइरसको सङ्क्रमण बढी देखिएको छ ।
“डेङ्गुको भाइरस सार्ने लामखुट्टेले सफा पानी रहने टयाङ्की, गाग्रो, दहीको कतारो, बाल्टिन ड्रम, गमला, टायरमा जमेको पानीमा फूल पार्ने र लार्भा हुर्काउने भएकाले त्यस्तो पानी फाल्ने र पानी जम्ने खाल्डाखुल्डी पुर्नेलगायत कार्य गर्नुपर्ने हुन्छ”, उनले भने । 
डेङ्गुको भाइरस सार्ने लामखुट्टेले दिउँसोपख मात्रै टोक्ने भएकाले यसबाट बच्नका लागि पूरै शरीर ढाक्ने गरी कपडा लगाउने, मल्हमको प्रयोग गर्ने, राति र दिउँसो झुलभित्र सुत्ने, पानी जम्ने भाँडाकुँडाको पानी फाल्ने, खाल्डाखुल्डीमा पानी जम्न नदिने र झ्यालढोकामा जालीको प्रयोग गर्नुपर्ने उनको भनाइ छ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गुको भाइरस सर्ने गर्दछ ।
डेङ्गुको कुनै किसिमको विशेष उपचार र खोप छैन । बिरामीमा देखिएका लक्षणका आधारमा उपचार हुने गरेको छ । यसैबीच, कञ्चनपुरमा साउन १ गतेदेखि कात्तिक २२ गतेसम्म एक सय ६६ जनामा स्क्रबटाइफस र ११ जनामा औलोको सङ्क्रमण देखापरेको स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक भट्टले जानकारी दिए ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  ०५:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार