सरकार गठन गर्ने संख्या कांग्रेससँग छैन : देउवा

शुक्रबार, वैशाख १७, २०७८

काठमाडौं । प्रमुख प्रतिपक्ष कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारको विकल्प दिनका लागि आफूहरूसँग संख्या नपुगेको बताएका छन् । कोभिड–१९ सम्बन्धि पार्टीको धारणा र सरकारको ध्यानाकर्षण गराउन शुक्रबार निजी निवास बुढानिलकण्ठमा आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न आफूहरूसँग संख्या नपुग्ने बताएका हुन् । देउवाले भने, ‘अबको निकासका लागि हामीसँग संख्या पुग्दैन ।’ जनता समाजवादी पार्टीका कारण वैकल्पिक सरकार गठन गर्न नसकिएको सभापति देउवाको धारणा थियो । देउवाले जसपासँग पनि आफ्नो कुरा भइरहेको र सबै कुरा भन्न नसकिने पनि बताए ।  उनले कांग्रेस र माओवादी मिल्दा मात्रै वैकल्पिक सरकार गठनका लागि संख्या नपुग्ने उनको धारणा छ ।  कांग्रेस केन्द्रीय समितिले कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार बनाउने निर्णय गरेको उल्लेख गर्दै देउवाले भने, ‘संख्या पुग्नुपर्छ यहाँ त । संख्या नपुगिकन प्रधानमन्त्री हुन्छु भन्ने चाहेर हुन्छ त ?’ अविश्वास प्रस्ताव पास गर्नका लागि दर्ता गर्ने र फेल गर्नका लागि नगर्ने उनको भनाइ थियो ।
अविश्वास प्रस्ताव ल्याएर फेल भएमा अर्काे एक वर्षसम्म अर्काे अविश्वास प्रस्ताव ल्याउन नपाइने भएकाले संख्या पुगेपछि कदम चाल्ने उनको भनाइ थियो ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  १६:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार