सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । निर्वाचनका समयमा उम्मेदवारी मनोनयन दर्तादेखि विजयी जुलुससम्ममा भीड हुन्छ । मङ्सिर ४ को निर्वाचनका लागि अहिले उम्मेदवारहरु घददैलो कार्यक्रम र प्रचारप्रसारमा व्यस्त हुँदा जनस्वास्थ्य मापदण्ड लाइ भने बेवास्ता गरेका छन् ।
स्वास्थ्य मापदण्ड पालना नगर्दा कोभिड–१९ सँगै अन्य सङ्क्रमणको जोखिम बढ्ने भन्दै स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकको सुझाव दिएका छन् । त्यस्तै शनिबारसम्म पछिल्लो २४ घण्टामा आठ जना कोभिडका नयाँ सङ्क्रमित भेटिएका छन् । कोरोनाको सङ्क्रमणदर घटे पनि जोखिम कायमै रहेको भन्दै लापर्बाही नगर्न चिकित्सकले सुझाव दिएका छन् ।
“उम्मेदवारहरुले जनस्वास्थ्यको मापदण्ड पालना गरेको देखिँदैन, जति धेरै हुल र हल्लामा हिँड्ने उति शक्ति प्रदर्शन ठान्दै हिँडिरहेको छ, यसले सरुवा रोगको सङ्क्रमणको जोखिम बढाएको छ”, डा सागरराज भण्डारी भने, “अहिले हेलचेक्र्याइँ गरे रुघाखोकी, इन्फल्युएञ्जा र कोभिडको परिवर्तितस्वरुपको जोखिम बढ्न सक्छ ।”
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्वनिर्देशक डा भण्डारीले सभासम्मेलन समारोह बन्द कोठामा आयोजना नगर्न सुझाव दिएका छन् । चिसोका कारण रुघाखोकीका बिरामी पनि बढ्दै गएको चिकित्सक बताउँछन् ।
कोभिड– १९ को सङ्क्रमण शून्यमा झरिनसकेको र मौसमी रुघाखोकी, स्वासप्रश्वाससम्बन्धी सङ्क्रमण निरन्तर बढीरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा शेरबहादुर पुनले जानकारी दिए । उनले सभासम्मेलन र भेलामा सहभागिले खानपानमा समेत विशेष सजग हुनपर्ने बताउछन् ।
उनले भने, “जाडो महिना सुरु हुँदैमा झाडापखाला लाग्दैन भन्ने नसोचौँ । जथाभावी खानपानले वान्ता र झाडापखालाको सङ्क्रमण हुन सक्छ ।” रुघाखोकी ज्वरोको लक्षण देखिएको शङ्कास्पद व्यक्ति भीडमा सहभागी नहुन चिकित्सकहरुको सुझाव छ । साथै सकेसम्म सामाजिक दूरी कायम राख्ने, मास्क प्रयोग गर्न र सरसफाइमा ध्यान दिनुपर्ने उनीहरु बताउँछन् ।
उम्मेदवार, दलसँगै निर्वाचनमा सहभागी हुने कर्मचारीले पनि स्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने चिकित्सकको सुझाव छ । प्रत्येक नागरिकले आफ्नो स्वास्थ्यसँगै अरुको पनि ख्याल गर्नुपर्ने र त्यसका लागि जनस्वास्थ्य मापदण्ड पालना गर्नु नै पहिलो सर्तहुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्वनिर्देशक डा भण्डारीले भण्डारीको राय छ ।
यता निर्वाचन आयोगले भने स्वास्थ्य सतर्कता अपनाउन आफूहरु लागिपरेको बताउँछन् । “हामी स्वास्थ्य मापदण्डमा सचेत छौँ । राजनीतिक दल र उम्मेदवारलाई स्वास्थ्य मापदण्ड पालना गर्न गराउन आचारसंहितामै उल्लेख छ”, आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल भन्छन्, “आयोगले मतदान केन्द्रमा ‘स्यानिटाइजर’ र मास्कको वितरणसमेत गरेको छ । सामाजिक दूरी कायम राख्न हामीले आग्रह गर्दै आएका छौँ ।”