टोखाका किसानलाई कृषि सामग्री 

शुक्रबार, वैशाख १७, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । टोखा नगरपालिकाले किसानलाई कृषि सामग्री वितरण गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पकेट कार्यक्रमबाट आएको २५ लाख र टोखाको कृषि शाखाबाट विनियोजन गरिएको २५ लाख गरी ५० लाख रुपैयाँ बराबरको कृषि सामग्री वितरण गरेको हो ।  नगरपालिका प्रमुख प्रकाश अधिकारीले उक्त कार्यक्रमअनुसार कृषकलाई दुईवटा तालीमसहित औजार र दाना वितरण गरिएको जानकारी दिए । टोखाले आधुनिक प्रविधि अपनाएर गाईको दूध दुहुने मेशिन, गाईलाई बस्नका लागि ओछ्याउने म्याट, गोठ सफा गर्ने भ्याकुम स्टाइलको मेशिन, चेष्ट फ्रिजर, हिलटेक ट्याङ्की र दाना वितरण गरेको छ ।  यसैगरी वडा नं १ देखि ११ भित्रका पशुपालन गर्ने ४२ कृषक परिवारलाई उनीहरूको आवश्यकतानुसारको मेशिन र अन्य ४२ परिवारलाई दाना र गोठ सफा गर्ने मेशिन दिइएको छ । टोखाले पशुपालन गर्ने कृषकलाई हौसला बढाउँदै व्यावसायिक बनाउन र उनीहरूलाई आधुनिकीकरणमा लैजान प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा कृषि औजार सामग्री वितरण गरिएको जनाएको छ ।  यस्तै नगरपालिकाले मानव सेवा आश्रम सामाखुशीलाई औषधि र स्वास्थ्य उपकरण सहयोग गरेको छ । टोखाले बिहीबार आश्रममा रहेका बालबालिका तथा वृद्धवृद्धाको स्वास्थ्यलाई ध्यानमा राखेर उक्त सामग्री सहयोग गरेको हो । नगर प्रमुख अधिकारीले टोखाको आठौँ नगरसभाबाट भएको निर्णयअनुसार रु पाँच लाख बराबरको औषधि र स्वास्थ्य सामग्री वितरण गरिएको जानकारी दिए ।  टोखाले अक्सिजन कन्सनटेटर, इसिजी मेशिन, स्टेचर, ह्विलचेयरलगायत विभिन्न ३८ प्रकारका औषधि र १७ प्रकारका औजार÷उपकरण वितरण गरेको हो । मानव सेवा आश्रमले देशभरका सडकमा रहेका अनाथ बालबालिका तथा वृद्धवृद्धाको व्यवस्थापन गर्दै आएको छ । मकवानपुरको हेटौँडामा मुख्य कार्यालय रहेको आश्रमले देशभरका विभिन्न जिल्लामा कार्यालय सञ्चालन गरी सडकमा मानवमुक्त अभियान सञ्चालन गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  १९:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार