महँगी बढ्यो, तराईमा सबैभन्दा बढी

विद्युतीय भुक्तानीबाट हुने कारोबार बढ्दो
बिहीबार, मंसिर १, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९-८० को पहिलो त्रैमासिक अवधिमा मूल्यवृद्धि आठ दशमलव ५० प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार असोज महिनासम्ममा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि आठ दशमलव ५० प्रतिशत पुगेको हो । राष्ट्र बैंकको विवरणअनुसार तराई क्षेत्रमा मूल्यवृद्धि चर्को छ । काठमाडौँ उपत्यकामा छ दशमलव ९३ प्रतिशत, तराईमा नौ ४२ प्रतिशत, पहाडमा आठ दशमलव ८४ प्रतिशत र हिमालमा सात दशमलव ०७ प्रतिशत महँगी बढेको  बैंकले जनाएको छ ।
यो अवधिसम्ममा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि आठ दशमलव ०५ प्रतिशत र गैरखाद्य तथा सेवा क्षेत्रको मूल्यवृद्धि आठ दशमलव ८५ प्रतिशत रहेको छ । त्यस्तै, रेष्टुराँ तथा होटल क्षेत्रको वार्षिक बिन्दुगत मूल्यवृद्धि १५ दशमलव ९१ प्रतिशत, फलफूलको १२ दशमलव ०६ प्रतिशत, मदिराजन्य पेय पदाथको १० दशमलव २४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको नौ दशमलव ४५ प्रतिशत र सुर्तीजन्य पदार्थको आठ दशमलव ४४ प्रतिशत रहेको छ । सेवा समूहअन्तर्गत यातायात क्षेत्रको मुद्रास्फीति २१ दशमलव १५ प्रतिशत, स्वास्थ्य क्षेत्रको १० दशमलव ५४ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणको नौ दशमलव ४५ प्रतिशत र शिक्षाको आठ दशमलव ११ प्रतिशत रहेको छ ।
प्रतिवेदन अनुसार असोज महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १३ दशमलव ७३ प्रतिशत रहेको छ । 

विद्युतीय भुक्तानीबाट हुने कारोबार बढ्दो
       
प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय विद्युतीय भुक्तानीमा वृद्धि भएको छ ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनासम्मको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्याङ्कानुसार विद्युतीय भुक्तानीमा वृद्धि भएको पाइएको हो । गत आर्थिक वर्षको तुलनामा चालु आवको पहिलो तीन महिनामा विद्युतीय भुक्तानीको प्रयोगमा उल्लेख्य वृद्धि भएको देखिन्छ । यस्तो कारोबारमा एटिएम, विद्युतीय भुक्तानी प्रणाली, कनेक्ट आइपीएस, मोबाइल बैंकिङ, वालेट, प्रिपेड कार्ड, क्युआर कोडलगायतको प्रयोग बढेको छ  ।
सार्वजनिक तथ्याङ्कानुसार गत आवमा क्विक रेस्पोन्स (क्युआर) कोडमा आधारीत भुक्तानीको प्रयोग उच्च दरले बढेको देखिन्छ । गत  आवको पहिलो तीन महिनामा क्युआर कोडको प्रयोग गरी रु छ अर्ब नौ करोड ७० लाखको कारोबार भएकामा चालु आवको समिक्षा अवधिमा यसको प्रयोग गरी रु १७ अर्ब ३३ करोड ७० लाखको कारोबार भएको छ ।
त्यस्तै चालु आवको असोज मसान्तसम्म प्रिपेड कार्डको मध्यमबाट रु ४३ करोड ६० लाखको कारोबार भएको छ । यस्तो कार्डको प्रयोगबाट अघिल्लो आवको सोही अवधिमा रु १५ करोड ३० लाखको कारोबार भएको थियो ।
केन्द्रीय बैंकका अनुसार कारोबारमा मोबाइल बैंकिङको प्रयोग गत आवको तुलनामा बढेको छ । गत आवको असोज मसान्तसम्म मोबाइल बैंकिङको प्रयोग गरी रु ८७ अर्ब ७३ करोड २० लाख बराबरको कारोबार भएकामा चालु आवको सोही अवधिमा रु एक खर्ब ६२ अर्ब १३ करोड ७० लाख पुगेको छ ।
त्यस्तै चालु आवको पहिलो तीन महिनामा एटिएमको प्रयोग गरी रु ८८ अर्ब ८९ करोड ६० लाखको कारोबार भएको छ । यसको प्रयोगगरी गत आवको सोही अवधिमा रु ७६ अर्ब ५३ करोड ७० लाखको कारोबार भएको छ । 
त्यस्तै समीक्षा अवधिमा कनेक्ट आइपिएसको प्रयोगबाट हुने कारोबार २८ दशमलव ४८ प्रतिशतले बढेको छ । अघिल्लो आवको पहिलो तीन महिनामा रु दुई खर्ब ३९ अर्ब १४ करोड ८० लाखको कारोबार भएकोमा चालु आवको समीक्षा रु तीन खर्ब सात अर्ब २७ करोड ५० लाखको कारोबार भएको छ ।
राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो तीन महिनामा वालेटमार्फत रु १६ अर्ब ५६ करोड ८० लाखको कारोबार भएको छ । यसको प्रयोग गरी गत आवको सोही अवधिमा रु १५ अर्ब १८ करोड ७० लाखको कारोबार भएको थियो । विवरणानुसार अघिल्लो आवका आधारमा चालु आवको असोज मसान्तसम्म इन्टरनेट बैंकिङका माध्यमबाट हुने भुक्तानीमा भने कमी आएको देखिएको छ ।
गत आवको पहिलो तीन महिनामा इन्टरनेट बैंकिङको प्रयोग गरी रु १३ अर्ब ३४ करोड ४० लाख बराबरको कारोबार भएकामा चालु आवको समीक्षा अवधिमा रु ११ अर्ब ९५ करोड ९० लाख बराबरको कारोबार भएको छ ।
विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरीएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण मुलुकमा विद्युतीय भुक्तानी कारोबार उल्लेख्य बढेको केन्द्रीय बैंकले जनाएको छ  ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  ०४:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार